७ चैत्र २०८२, शनिबार | March 21, 2026

ठाडै सुकेका रुखका कारण वन नै उजाडियो



झापा । झापाको कनकाई सामुदायिक वनमा अधिकांश सिसौका रुख ठाडै सुकेका छन् ।

सुकेका रुखले सामुदायिक वन नै उजाड देखिन थालेको छ । कनकाई नगरपालिका-२, ३ र ४ मा २७७ दशमलव ६ हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमा सिसौ र खयरका अधिकांश ठूला रुख वर्षौँदेखि ठाडै सुकेका छन् ।

कनकाई नदीको पूर्वी किनार र चुरेको फेदसँग जोडिएको यो प्राकृतिक वनमा सिसौ र खयरका प्रजाति छन् । एक दशकदेखि नै रुख सुक्ने क्रम शुरु भएको थियो ।

सुकेका रुख हटाउने र नयाँ बिरुवा लगाउने अभियान शुरु नगरिँदा एकातिर मूल्यवान रुखहरु ठाडै पोचिएर खेर गइरहेको छ भने अर्कातिर जङ्गल मासिएर मरुभूमीकरण हुने सम्भावना बढेको छ ।

कटानको अनुमति नहुँदा वनभित्र रु १६ करोड मूल्यका सुकेका ठाडा रुख वर्षौँदेखि पोचिएर खेर गइरहेको छ । सामुदायिक वनले गरेको अध्ययनले सुकेका ठाडा रुख कटान गर्दा करीब ८० हजार क्युफिट काठ सङ्कलन हुनसक्ने देखाएको छ ।

कनकाई वनमा दशकअघि सिसौका ठूला रुख सुक्ने रोग देखापरेको स्थानीयवासी बताउँछन् । सिसौमा लागेको अज्ञात रोगले रुख ठाडै सुक्ने क्रम बढ्यो । सुकेका रुख निकालेर काठ खेर जान नदिनेतर्फ अहिलेसम्म सरकारी निकायको ध्यान जान सकेको छैन ।

कनकाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ख्याम ओलीले सरकारी निकायले नै सुकेका रुख कटानको अनुमति नदिएको बताए । उनका अनुसार विसं २०७४ मा वन मन्त्रालयको सामुदायिक वन महाशाखामा सुकेका रुख कटानको अनुमति माग्दै निवेदन दिइएको थियो । हालसम्म मन्त्रालयले कटानको स्वीकृति दिएको छैन ।

वन मन्त्रालयले जैविक विविधतामा ह्रास आउने कारण देखाउँदै सुकेका ठाडा रुखहरु कटानका लागि स्वीकृति नदिएको ओलीले बताए। सुकेका रुख निकाल्दा जैविक विविधतामा के-कस्तो असर पर्छ भन्नेतर्फ मन्त्रालयले स्थानीय सामुदायिक वनलाई तथ्यपूर्ण जानकारीसमेत दिएको छैन ।

कनकाई नदीमा पानीको वहाब गहिरिएसँगै सो वन क्षेत्र चिस्यानको अभावले समेत सिसौका रुखहरु सुकेको हुनसक्ने स्थानीय वन पदाधिकारी बताउँछन् । नदीमा जथाभावी ढुङ्गा, बालुवा निकाल्ने क्रम बढेपछि कनकाईको बहाब गहिरिएको छ । खोला गहिरिएपछि किनारमा रहेको रुखहरु सुक्खा लागेर सुक्न थालेको समेत अनुमान छ । वर्षेनी हुने डढेलोले पनि वन पैदावार सुकाउँदै आएको छ ।

सो सामुदायिक वनले वार्षिक तीन हजार क्युफिट ढलापडा रुख मात्र कटान गर्न पाउने नियम छ । “वार्षिक कटान क्षमता तोकिएको हुन्छ”, अध्यक्ष ओलीले भने, “ढलेका रुख नै काफी छन् ठाडा काट्नै पर्दैन ।” अनुमति नपाएपछि सुकेका ठाडा रुख नकाटिएको उनको भनाइ छ । उनले वार्षिक सिसौका काठ दुई हजार ४०० क्युफिट र खयर ६०० क्युफिट गरी तीन हजार क्युफिट ढलापडा काठ घाटगद्दी गर्दै आएको बताए ।

डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले सामुदायिक वनको हैसियतअनुसार मात्र ढलापडा रुख कटान गर्न पाउने कानूनी प्रावधान रहेको बताए । उनले झापाका अन्य सामुदायिक वनको तुलनामा कनकाईमा सुकेका रुख अत्यधिक रहेको जानकारी पाएको तर यसको विस्तृत अध्ययन नभएको बताए । रासस

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ९ : २३ बजे

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा