१६ आश्विन २०७९, आइतबार | October 2, 2022

४५ वर्ष पछिको हतियारबिहीन भीषण सैन्य मुठभेड, दुवैपक्ष नसम्हालिए विस्फोटक बन्नसक्छ स्थिति



नेपालका दुई विशाल छिमेकी मुलुक भारत र चीन सैन्य दृष्टिकोणले संसारकै बलियो सैन्य शक्ति भएका मुलुक हुन् । चीन विश्वमा तेस्रो शक्तिशाली सेना भएको मुलुक हो भने भारतसँग विश्वकै चौंथो शक्तिशाली सेना छ । दुवै मुलुक आणविक शक्ति सम्पन्न राष्ट्र हुन् ।

भारत र चीनबीच सन् १९६२ मा छोटो समयको भीषण लडाईं भएको थियो । त्यस लडाईंमा भारत पराजित भएको थियो । भारतका लागि नेपाली नागरिकले समेत गोर्खा फौजको नाममा रगत बगाए । कुनै पनि मित्र राष्ट्रको विरुद्धमा अर्को मित्रराष्ट्रको पक्षबाट नेपाली नागरिक लड्नु नेपालका लागि गर्वको विषय कहिल्यै बन्नसक्दैन । देशभित्र रोजगारीको अवसर नभएपछि विदेशी सेनामा भाडाका सिपाही भएर काम गर्नुपर्ने बाध्यता नेपालकै शासकहरुले २ सयवर्षअघि देखि बनाउँदै आए । आजपर्यन्त यो अपमानको श्रृंखला जारी नै छ भलै ती गोर्खा सेनाबाट नेपालका लागि धेरथोर रेमिट्यान्स नै किन नआओस ।

यो एक पाटोलाई छोड्दा, फेरि एकपटक नेपाल समेत प्रभावित बन्ने गरी हाम्रा दुई विशाल छिमेकीबीच अभूतपूर्व तनाब सिर्जना भएको छ । सामान्यतया धक्कामुक्कीमा सीमित रहने भारत र चीनका सेनाबीच भीषण मुठभेड भएको छ । जहाँ भारतका २० सेनाको ज्यान गएको छ भने चिनियाँ सेनाको पनि हताहती भएको अनुमान गरिएको छ ।

युद्ध क्षेत्रको वास्तविक अवस्थाको स्वतन्त्र पुष्टि कहिल्यै हुँदैन । युद्धमा संलग्न दुबै पक्षले आफ्नो राष्ट्रिय स्वार्थ र सामरिक क्षमता अनुसार प्रपोगाण्डा युद्ध चलाउने गर्छन् । यतिबेला भारत र चीनबीच यस्तै भएको छ । युद्धको अवस्थामा रहेका यी दुई मुलुकबीच वास्तविक युद्ध त भएको छैन । तर, पनि युद्धमा जस्तै कमाण्डर र सिपाहीको ज्यान गएको छ । रगत बगेको छ । यसरी, दुई मुलुकका सेना एकआपसमा भिडेर ज्यानै जाने गरी भएको घटना ४५ वर्षको बीचमा पहिलो पटक भएको हो । सन् १९६२ को युद्धपछि १९७५ सम्म छिटफुट घटना भएको थियो । त्यसपछि धक्कामुक्की भएपनि एकअर्काको ज्यानै लिने घटना भने भएको थिएन ।

विवाद
आणविक शक्ति सम्पन्न मुलुक भारत र चीनबीच विगत एकमहिना यता सीमाक्षेत्रमा तनाब उत्पन्न भएको छ । भारत र चीनबीच ३,४८८ किलोमिटर बढी लामो सीमा रहेको छ (यद्यपी, चीनले यो २ हजार किलोमिटर मात्रै भएको मान्छ) । नेपालको पूर्वी सीमा सिक्किमदेखि अरुणाञ्चल प्रदेशहुँदै भारत–चीन–म्यानमारसम्मको पूर्वी सीमा (बीचमा रहेको भुटानको उत्तरी सीमासम्मै भारतीय सेनाको नियन्त्रण छ) र नेपालको पश्चिमी सीमा लिम्पियाधुरा (यद्यपी, भारतले लिम्पियाधुरादेखि कालापानीसम्मको नेपाली भूभाग अतिक्रमण गरेको छ )देखि पाकिस्तानसम्मको भारत–चीन–पाकिस्तान त्रिदेशीय सिमासम्मको ३,४८८ किलोमिटर लामो भारत–चीन सीमा विश्वकै संवेदनशील सीमा क्षेत्रमा मानिन्छ ।


सन् १९६२ मा भारत र चीनबीच भएको भीषण युद्ध पछि दुबै मुलुकले एक अर्काको भूभाग कब्जा गरेको आरोप लाग्दै आएको छ । चीनले आफुले दक्षिण तिब्बत भन्ने अरुणाञ्चल क्षेत्र भारतले कब्जा गरेको आरोप लगाउँछ भने भारतले लद्दाख क्षेत्रको अक्साई चीन र पाकिस्तानले चीनलाई हस्तान्तरण गरेको जम्मु काश्मिरको एक भाग चीनले कब्जा गरेको दाबी गर्छ । दुबै भूभागप्रति दुबै मुुलुकको दाबी छ ।

अहिलेसम्म नटुंगिएको दुबै मुलुकको सीमा क्षेत्रलाई वास्तविक नियन्त्रण रेखा (Line of Actual Congrol, LAC)ले छुट्याउँछ । भारत र चीनबीच सहमतिमा चलिरहेको एलएसीको व्याख्या भने दुबै मुलुकको आ–आफ्नै रहेकोछ । यतिबेलाको रक्तपातपूर्ण सैन्य मुठभेड यही एलएसीको व्याख्या र नियन्त्रण र यथास्थितिको परिवर्तनमा केन्द्रित रहेको छ ।

एक महिना अघि पूर्वी सेक्टरको सिक्किमस्थित ना–कुला (ना–कुला पास नजिक) क्षेत्रमा धक्कामुक्की चल्यो । दुवै तर्फका १२जना भन्दा बढी सेना घाइते भए । तीन वर्ष अघि यसै समयमा चीनको दोक्लाममा भारतीय सेना अनधिकृत रुपमा प्रवेश गरेपछि ७२ दिनसम्म दुई मुलुकबीच तनाब उत्पन्न भयो । स्वतन्त्र र सार्वभौम भनिएको राष्ट्र भुटानको सीमा पार गरेर भारतीय सेना चीनको दोक्लाममा प्रवेश गरेपछि चिनियाँ जनमुक्ति सेनाले गम्भीर आपत्ति प्रकट गर्यो । आफ्नो भौगोलिक अखण्डताका लागि चीन युद्ध गर्नसम्म तयार रहेको चेतावनी जनमुक्ति सेनाको मुख्यालय भारतीय सेनालाई दियो । भारतले आफ्नो सिलगुढी चिकन नेकको भूरणनीतिक अवस्थितिलाई चिनियाँ सेनाले परिवर्तन गर्न खोजेको निस्कर्ष निकाल्दै भुटानको समेत सीमा रक्षा गर्न डोक्लाम पुगेको प्रतिक्रिया दियो । सैन्य मुठभेडको अवस्थालाई दुबै मुलुकका कुटनीतिज्ञले सुझबुझपूर्ण ढंगले समाधान गरे । ७२ दिनको तनातनीपछि डोक्लाम विवाद समाधान भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिङफिङबीच चीनको उहानमा हार्दिकतापूर्वक गला मिलाउने काम भयो ।

डोक्लाम प्रकरणबाट झस्किएको चीनले तिब्बतस्थित आफ्नो पश्चिम थिएटर कमाण्डलाई थप मजबुद बनाउन थालेको थियो । उच्च भूभाग –High Altitude)को मौसममा टिक्न सक्ने अत्याधुनिक हतियार जम्मा गर्दै गयो । तिब्बतको मानसरोबर पश्चिमको डेम्चोक क्षेत्रमा जनमुक्ति सेना युद्धक विमानसहित हवाई फौज समेत तैनाथ भयो । त्यसो त चीनको विकासको रफ्तारले तिब्बतको भू-अवस्थिति नै परिवर्तन भैसकेको छ । तिब्बतका ५ हजार भन्दा माथिको उचाईमा तिब्र गतिको बहान चल्ने सुविधासम्पन्न सडक बनिसकेको छ । चीनले अहिले ३/४ घण्टाको समयमै आफ्ना हजारौं सेना तिब्बत बोर्डरमा भेला गर्न सक्ने पूर्वाधार तयार पारिसकेको छ ।

उता, भारतले पनि आफ्नो उत्तरी सीमालाई मजबुत बनाउन सडक विस्तारलाई तिब्र गतिमा अघि बढाइरहेको छ । अरुणाञ्चल प्रदेशमा लडाकु विमानका लागि एयरपोर्ट बनाइसकेको भारतले लद्दाख क्षेत्रको चीन भारत सीमा नजिकै पर्ने रणनीतिक महत्वको गलवान घाँटीमा आफ्नो उपस्थिति बलियो बनाउन चाहेको । र यतिबेला भारत– चीन बीचको मुठभेडको कारण पनि यही गलवान घाँटी बनेको छ ।

दुई मुलुकका लागि सामरिक महत्व राख्ने गलवान घाँटीको पूर्वस्थितिको परिवर्तन (Status Quo change) नियत नै यतिबेला भारत र चीन सीमा तनाबका लागि उत्प्रेरक बनेको छ ।

जनमुक्ति सेनाको पश्चिम थिएटर कमाण्डका प्रवक्ता चाङ सुईलीले मंगलबार दिउँसो वक्तव्य जारी गर्दै भारलते एलएसीमा पूर्व सहमति उल्लंघन गर्दैं चिनियाँ भूमिभित्रै प्रवेश गरेर उक्साहटपूर्ण कार्य गरेको र आफ्ना सेनामाथि पहिलो आक्रमण गरेको आरोप लगाएका छन् । उनले भारतले आफ्ना सेनालाई एलएसी पार गर्नबाट रोक्न र विवाद समाधान गर्न सम्वाद्को बाटो अपनाउन आग्रह गरेका छन् ।

भारतीय विदेश मन्त्रालयले पनि मंगलबार विज्ञप्ति प्रकाशित गरी केही दिन अघि दुई मुलुकका लेफ्टिनेन्ट जनरलबीच भएको सहमतिको चीनले उल्लंघन गरेको आरोप लगाएको छ । ‘माथिल्लो तहमा भएको सहमतिलाई चिनियाँ पक्षले इमानदारीपूर्वक पालना गरिदिएको भए दुवै पक्षमा हताहत हुने गरी भएको झडप रोक्न सकिन्थ्यो,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अब, गलवान क्षेत्र एक ढंगले युद्धग्रस्त क्षेत्र जस्तै बनेको छ । दुबैतिरका दशौं हजार फौज सीमा क्षेत्रमा तम्तयार अवस्थामा रहेका छन् ।

हतियार हैन धक्कामुक्की प्रयोग
तर, यति ठूलो तनाब र तनातनीका बीच पनि भारत र चीनका सेनाले हतियार उठाएका छैनन् । गोलाबारी भएको छैन । अत्याधुनिक हतियार सीमा क्षेत्रमा जम्मा पारिए पनि दुबै पक्षबाट हतियार प्रयोग भएको छैन । र, पनि भारतका कर्णेलसहित २० सेनाको ज्यान गएको छ । झडपमा कर्णेलसहित तीन जनाको तत्कालै र गम्भीर घाइते १७ सैनिकको पछि मृत्यु भएको भारतीय सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ । शून्यभन्दा कम तापक्रम र हाई अल्टिच्युडका कारण घाइतेहरूको मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।

चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सका अनुसार चिनियाँ सेनामा पनि हताहती भएको छ । तर, संख्या एकिन छैन । ग्लोबल टाइम्सका सम्पादक हु सिजेन भन्छन्, ‘चीन सेनाको हताहतीको संख्या देखाएर त्यसको सेन्टिमेन्टको आधारमा देशभित्र छिमेक विरुद्ध तथाकथित राष्ट्रवादलाई बढावा दिन चाहँदैन । चीन शान्तिपूर्ण ढंगबाट सीमा समस्या समाधान होस भन्ने चाहन्छ । र, यसका लागि भारत पूर्ववत अवस्थामा फर्कियोस भन्ने चाहन्छ ।’

सोमबार राति जति ठूलो रक्तपात भयो, त्यो रक्तपात इतिहासमा हुने मल्ल युद्ध जस्तै भयो । धक्कामुक्कीकै बीच यति ठूलो हताहती संवेदनशील हो । र, ४५ वर्ष पछि भारत र चीनका सेनाबीचको मुठभेड र मानवीय क्षति गम्भीर हो ।

किन हुँदैन हतियार प्रयोग
अचम्म यो छ कि दुई मुलुकबीच सीमा क्षेत्रमा जति नै तनाब भएपनि गोलावारी हुँदैन । ४५ वर्षको बीचमा यो घटना नै पहिलो घटना हो जहाँ सैन्य मुठभेड मानवीय क्षति हुनेगरी भएको छ ।

भारत र चीनबीच लद्दाखमा जारी विवाद सोमबार राती हिंस्रक झडपमा परिवर्तन भयो । यो झडपमा हालसम्म २० जनाको मृत्यु भएको बीबीसीले पुष्टि गरेको छ । यहि विवादबीच चीन र भारतबीचको झडपमा गोलीबारी किन हुँदैन भन्नेबारे जानकारी लिऔं ।

यो एक सम्झौताका कारण हो, जुन सन् १९९१ मा तत्कालीन चिनियाँ प्रधानमन्त्री लि फेङ र भारतीय समकक्षी पीवी नरसिम्हा रावबीच भएको छलफल पछि एलएसीमा शान्ति र स्थिरता बहाल राख्न फ्रन्टलाईनमा बस्ने सेनालाई हतियारबिहीन बनाउने विषयमा छलफल भएको थियो । पछि भारतीय प्रधानमन्त्री राव सन् १९९३ मा चीन भ्रमणमा गएको बेलामा ९ बुँदे सम्झौता भएको थियो । सम्भौतामा दुई मुलुकबीच कुनै समस्या उत्पन्न भएमा सीमा क्षेत्रका दुवैतिरका सैनिक कमाण्ड पोष्टमा हटलाईन सम्पर्क बनाउने र त्यहीँबाट समस्या समाधान गर्ने विषय उल्लेख गरिएको थियो । दुई देशका सेना एलएसी पार नगर्ने सहमति भएको थियो । दुवै पक्षले एलएसी इलाकामा सैन्य अभ्यास नगर्ने, दुबै पक्षको सैन्य बल बढाउने विषय आपसी सहमतिमा गरिने, नियन्त्रण रेखा नजिकैको क्षेत्रमा हुने सैन्य अभ्यासबारे पूर्व जानकारी दिने, हवाई घुसपैठ हुन नदिने, जस्ता विषय सम्झौतामा समेटिएको थियो ।

तर, अहिले एकले अर्कोलाई दोषारोपण गरिरहेका छन् । भारतले एलएसी नै पार गरेर गलवान घाँटीमा निर्माण कार्य बढाउन थालेपछि चिनियाँ फौजले आपत्ति जनाउँदै केही दिन पहिला भारतीय सेनालाई एलएसीको पूर्वसहमति उल्लंघन नगर्न चेतावनी दिएको थियो । भारतीय फौजले चीनले आफ्नो भूभागको सामारिक विकास गरिसकेका कारण आफुले पनि आफ्नो क्षेत्रमा सडक बनाउनुपर्ने अडान राख्दै चीनले नै एलएसी पार गरेको आरोप लगाएको थियो । आरोप प्रत्यारोप बढ्दै जाँदा र सैन्य शक्ति थपिँदै जाँदा १५ जुनमा रक्तपातपूर्ण मुढभेड भयो ।

दुबै मुलुकले संयमतापूर्वक सीमा समस्या हल गर्न गम्भीर कुटनीतिक पहल गरेनन् भने यसको बाछिटा नेपाल पर्ने निश्चित छ । भारतले गोर्खा फौजका नेपाली जवानहरुलाई फ्रन्टलाईन पठाउने गर्छ । भारत पाकिस्तान सीमा क्षेत्र एलओसीमा नेपाली दाजुभाइको रगत धेरै बगिसकेको छ मित्रराष्ट्र पाकिस्तानको विरुद्धमा । अब छिमेकी चीनको विरुद्धमा नेपाली दाजुभाइको रगत बग्न सक्छ । अर्को संटक त भारतले नेपाली भूमि अक्रिमण गरेर सैन्य मजबुती बनाइरहेको लिम्पियाधुरा–कालापानी क्षेत्रकै हुनेछ । चीनसँगको सामरिक शक्ति सन्तुलन बनाउनकै लागि नेपाली भूमि अतिक्रमण गरेर सैनिक क्याम्प राखेको भारतले अहिले बनाएको सडकमार्ग हुँदै भारतीय युद्धक टयांकहरु लिपुलेकमा तैनाथ हुने निश्चित छ । यो भन्दा पनि ठूलो संकट नेपालका दुई मुलुकको भूराजनीतिक चेपुवामा झन बढी पर्नेछ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १० : १० बजे

आयोगले तोक्यो निर्वाचनका लागि खर्चको सीमा

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि

सुदीप गौतम – मर्दी हिमाललाई विश्वमाझ चिनाए, ३५ वर्षकै उमेरमा मर्दीमै बिलाए

गण्डकी । पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा

भोजपुरे खुकुरीको माग बढदै, कालिगड अभाव

भोजपुर । भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन, ‘यहाँ त भोजपुरे

लिङ्गे पिङ सम्झँदै गुलेली पिङमा मच्चिँदै हुईंकिने

कुश्मा । “कस्तो आङ्नै जिरिङ् भो । दसैंमा एकपटक भूँइ