१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

राष्ट्रपतिद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन (तस्विरसहित)



काठमाडौं । २०७२ बैंशाख १२ को भूकम्पले ध्वस्त बनाएपछि पुनर्निर्माण गरिएको रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी छन् ।

उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदाहरु पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले २०७२ माघ २ गते पुनर्निर्माण शिलान्यास गरेकी थिइन ।

रानीपोखरी र बालगोपालेश्वर मन्दिरलाई पुरातात्विक महत्वका आधारमा पुनर्निर्माण गरिएको छ । मन्दिर मल्लकालीन ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

चीन सरकारको सहयोगमा दरबार हाइस्कुलको पुनर्निर्माण गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन समारोहमा व्यक्त गरेको सम्बोधन

रानीपोखरी परिसर, काठमाडौँ
२०७७ कार्तिक ५
सम्माननीय प्रधानमन्त्री,
माननीय मन्त्रीहरू,
राष्ट्रसेवकहरू,
सञ्चारकर्मीहरू,
दाजुभाइ तथा दिदी बहिनीहरू,

विक्रम सम्बत् २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूका कारण व्यहोर्नुपरेको ठूलो मानवीय, आर्थिक एवं भौतिक क्षति र पीडा हाम्रो मानसपटलमा अझसम्म ताजै छ । उक्त भूकम्पमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

आजको यस क्षणमा २०७२ साल माघ २ गतेको दिन स्मरण गर्न चाहन्छु, जुन दिन हामीले यहीँ उभिएर रानीपोखरी पुनर्निर्माणको थालनी गर्दै मुलुकभर पुनर्निर्माण महाअभियान सुरु भएको घोषणा गरेका थियौँ । त्यसबेला हाम्रो अठोट थियो– हाम्रा प्रिय दिवंगत दाजुभाइ तथा दिदी बहिनीहरूलाई फिर्ता ल्याउन नसक्ने भएपनि भूकम्पबाट क्षति पुगेका हाम्रा सबै प्रकारका संरचनाहरूको हिजोभन्दा बलियो र राम्रो गरी पुनर्निर्माण गर्न सक्छौँ र गर्नेछौँ । भूकम्पबाट घरबारबिहीन सबैलाई घरबासको व्यवस्थासहित पुनस्र्थापना गर्नेछौँ, भूकम्पबाट क्षतविक्षत भएका हाम्रा साँस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनर्निर्माण गर्नेछौँ । आज यही रानीपोखरीको किनारमा उभिएर हामीले गरेको उक्त अठोट र प्रण पूरा हुन लागेको सुन्न र सुनाउन पाउँदा मलाई खुसी लागेको छ । भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाहरूको पुनर्निर्माण पनि योजनावद्ध रूपमा छिट्टै सम्पन्न हुनेछ।

आजभन्दा करीब तीनसय बर्षअघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको यस रानीपोखरीको आफ्नै ऐतिहासिक, साँस्कृतिक र पर्यावरणीय महत्व छ । आफ्ना दिदी बहिनी नहुने दाजुभाइहरूले भाइटीका लगाउने महत्वपूर्ण तीर्थस्थलका रूपमा यहाँ रहेको बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रतापमल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरले हाम्रा पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको छ । प्राकृतिक एवं साँस्कृतिक सम्पदाले समृद्ध र प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाण्डौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडीखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी वृहत्तर गुरुयोजना तयार पारेको जानकारी पाउँदा खुसी लागेको छ । सम्बद्ध सबै सरोकारवाला पक्षसँग समन्वय गरी उक्त गुरुयोजनालाई कार्यान्वयनमा लैजानका निम्ति म शुभकामना दिन चाहन्छु । पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध गराउनेछ । यसबाट साँस्कृतिक चाडपर्व मनाउन, खेल मैदानका रुपमा प्रयोग गर्न तथा स्वदेशी एवं विदेशी पर्यटकहरूका आकर्षणको केन्द्र बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।

आजैका दिन रानीपोखरीसँगै अवस्थित ऐतिहासिक दरबार हाइस्कूलको पुनर्निर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम हुनु सराहनीय छ । यस विद्यालयले योग्य नागरिक तयार गरी मुलुकको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पु-याएको छ । विनाशकारी भूकम्पबाट क्षतिग्रस्त यस भवनलाई पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पु-याउने मित्र राष्ट्र चीन सरकार र चिनियाँ जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु । मलाई आशा छ, सम्पूर्ण भौतिक एवं शैक्षिक पूर्वाधारले सुसज्जित यस विद्यालयले नेपालको सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको मानक कायम राख्न सफल हुनेछ । यसका लागि म काठमाडौँ महानगरपालिका, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक शिक्षिका तथा विद्यार्थी भाइ बहिनीमा शुभकामना व्यक्त गर्दछु ।

पुनर्निर्माण गरिएको यस ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको उद्घाटन गर्ने यो कार्यक्रम राखेकोमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गर्दछु । भूकम्प पश्चातको पुनर्निर्माणमा नेपाल सरकारले लिएको नीति, योजना र कार्यान्वयन ढाँचा भावी पुस्ता र बाह्य जगतको निम्ति प्रेरक बन्न सक्ने विश्वास लिएको छु । यी ऐतिहासिक संरचनाहरूको पुनर्निर्माणमा खटिनु भएका र सहयोग पु-याउनु हुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

अन्तमा, वडा दशैँ, तिहार र छठ पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै सबैमा उत्तरोत्तर प्रगतिका कामना गर्दछु ।

२०७७ साल कार्तिक ५ गते बुधबार ।
धन्यवाद !

रानीपोखरी उद्घाटनका थप फोटोहरु

 

 

 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १ : १५ बजे

दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप : एमेच्योर सदभाव बने च्याम्पियन, प्रो भुवन सात स्ट्रोकले पराजित

काठमाडौं । प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल

बिहीबार वर्षाले अवरुद्ध नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को सिरिज आजदेखि

काठमाडौं । बिहीबारदेखि हुने भनेको नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली