१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

राष्ट्रपतिद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन (तस्विरसहित)



काठमाडौं । २०७२ बैंशाख १२ को भूकम्पले ध्वस्त बनाएपछि पुनर्निर्माण गरिएको रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी छन् ।

उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदाहरु पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले २०७२ माघ २ गते पुनर्निर्माण शिलान्यास गरेकी थिइन ।

रानीपोखरी र बालगोपालेश्वर मन्दिरलाई पुरातात्विक महत्वका आधारमा पुनर्निर्माण गरिएको छ । मन्दिर मल्लकालीन ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

चीन सरकारको सहयोगमा दरबार हाइस्कुलको पुनर्निर्माण गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन समारोहमा व्यक्त गरेको सम्बोधन

रानीपोखरी परिसर, काठमाडौँ
२०७७ कार्तिक ५
सम्माननीय प्रधानमन्त्री,
माननीय मन्त्रीहरू,
राष्ट्रसेवकहरू,
सञ्चारकर्मीहरू,
दाजुभाइ तथा दिदी बहिनीहरू,

विक्रम सम्बत् २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूका कारण व्यहोर्नुपरेको ठूलो मानवीय, आर्थिक एवं भौतिक क्षति र पीडा हाम्रो मानसपटलमा अझसम्म ताजै छ । उक्त भूकम्पमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

आजको यस क्षणमा २०७२ साल माघ २ गतेको दिन स्मरण गर्न चाहन्छु, जुन दिन हामीले यहीँ उभिएर रानीपोखरी पुनर्निर्माणको थालनी गर्दै मुलुकभर पुनर्निर्माण महाअभियान सुरु भएको घोषणा गरेका थियौँ । त्यसबेला हाम्रो अठोट थियो– हाम्रा प्रिय दिवंगत दाजुभाइ तथा दिदी बहिनीहरूलाई फिर्ता ल्याउन नसक्ने भएपनि भूकम्पबाट क्षति पुगेका हाम्रा सबै प्रकारका संरचनाहरूको हिजोभन्दा बलियो र राम्रो गरी पुनर्निर्माण गर्न सक्छौँ र गर्नेछौँ । भूकम्पबाट घरबारबिहीन सबैलाई घरबासको व्यवस्थासहित पुनस्र्थापना गर्नेछौँ, भूकम्पबाट क्षतविक्षत भएका हाम्रा साँस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनर्निर्माण गर्नेछौँ । आज यही रानीपोखरीको किनारमा उभिएर हामीले गरेको उक्त अठोट र प्रण पूरा हुन लागेको सुन्न र सुनाउन पाउँदा मलाई खुसी लागेको छ । भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाहरूको पुनर्निर्माण पनि योजनावद्ध रूपमा छिट्टै सम्पन्न हुनेछ।

आजभन्दा करीब तीनसय बर्षअघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको यस रानीपोखरीको आफ्नै ऐतिहासिक, साँस्कृतिक र पर्यावरणीय महत्व छ । आफ्ना दिदी बहिनी नहुने दाजुभाइहरूले भाइटीका लगाउने महत्वपूर्ण तीर्थस्थलका रूपमा यहाँ रहेको बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रतापमल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरले हाम्रा पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको छ । प्राकृतिक एवं साँस्कृतिक सम्पदाले समृद्ध र प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाण्डौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडीखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी वृहत्तर गुरुयोजना तयार पारेको जानकारी पाउँदा खुसी लागेको छ । सम्बद्ध सबै सरोकारवाला पक्षसँग समन्वय गरी उक्त गुरुयोजनालाई कार्यान्वयनमा लैजानका निम्ति म शुभकामना दिन चाहन्छु । पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध गराउनेछ । यसबाट साँस्कृतिक चाडपर्व मनाउन, खेल मैदानका रुपमा प्रयोग गर्न तथा स्वदेशी एवं विदेशी पर्यटकहरूका आकर्षणको केन्द्र बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।

आजैका दिन रानीपोखरीसँगै अवस्थित ऐतिहासिक दरबार हाइस्कूलको पुनर्निर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम हुनु सराहनीय छ । यस विद्यालयले योग्य नागरिक तयार गरी मुलुकको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पु-याएको छ । विनाशकारी भूकम्पबाट क्षतिग्रस्त यस भवनलाई पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पु-याउने मित्र राष्ट्र चीन सरकार र चिनियाँ जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु । मलाई आशा छ, सम्पूर्ण भौतिक एवं शैक्षिक पूर्वाधारले सुसज्जित यस विद्यालयले नेपालको सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको मानक कायम राख्न सफल हुनेछ । यसका लागि म काठमाडौँ महानगरपालिका, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक शिक्षिका तथा विद्यार्थी भाइ बहिनीमा शुभकामना व्यक्त गर्दछु ।

पुनर्निर्माण गरिएको यस ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको उद्घाटन गर्ने यो कार्यक्रम राखेकोमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गर्दछु । भूकम्प पश्चातको पुनर्निर्माणमा नेपाल सरकारले लिएको नीति, योजना र कार्यान्वयन ढाँचा भावी पुस्ता र बाह्य जगतको निम्ति प्रेरक बन्न सक्ने विश्वास लिएको छु । यी ऐतिहासिक संरचनाहरूको पुनर्निर्माणमा खटिनु भएका र सहयोग पु-याउनु हुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

अन्तमा, वडा दशैँ, तिहार र छठ पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै सबैमा उत्तरोत्तर प्रगतिका कामना गर्दछु ।

२०७७ साल कार्तिक ५ गते बुधबार ।
धन्यवाद !

रानीपोखरी उद्घाटनका थप फोटोहरु

 

 

 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १ : १५ बजे

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख