१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नेपालमै रेम्डिसिभिर उत्पादनसँगै कोरोना उपचार सहज



काठमाडौं । कोरोना सङ्क्रमणले सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्ने, अभाव उस्तै र महँगो पनि थियो, तर यो एकरडेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो ।

केही दिनयता नेपालमै बनेको रेम्डिसिभिर उपयोगमा आएपछि औषधि विज्ञानको क्षेत्रमा नेपालले आँटे गर्न सक्ने क्षमता पनि देखिएको छ ।

कोरोनाविरुद्धको लडाइँमा अब रेम्डिसिभिर सर्वसुलभ भएको छ । केही समय अघिसम्म यो औषधि सहजै पाउन मुस्किल थियो । धेरै सङ्क्रमित रेम्डिसिभिर नपाएर अस्पतालमा छटपटाइरहेका हुन्थे । रेम्डेसिभिर पाउन ठूलै पहुँच हुनुपथ्र्यो ।

सरकार र निजी क्षेत्रको प्रयासले अब त्यो अवस्था अन्त्य भइ औषधि देशभित्रै सर्वसुलभ हुन थालेको छ । यसअघि सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकले तत्काल रेम्डिसिभिरको व्यवस्था गर्न भन्ने तर औषधि नपाएपछि बिरामीको मृत्यु हुने गरेको थियो ।

काठमाडौंको कोटेश्वर बस्ने भगवान पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अवस्था गम्भीर हुँदै गयो । उनलाई काठमाडौंको मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यकर्मीहरूले तत्काल रेम्डिसिभिर व्यवस्था गर्न भनेपछि उनका छोरा ईश्वर पौडेलले रेम्डेसिभिरका लागि धेरै ठाउँ चहारे, नेताहरूलाई भनसुन गरे । जति मूल्यमा पनि खरिद गर्न तयार भए तर बजारमा रेम्डिसिभिर अभावका कारण पाउन सकेनन् । त्यसको केही दिनपछि बुवाको निधन भयो ।

चिकित्सकले भनेको बेला रेम्डेसिभिर पाउन सकेको भए बुवालाई बचाउन सकिन्थ्यो कि भन्ने उनलाई अहिले पनि लागिरहन्छ । चिकित्सकले खोजेको औषधि नपाउँदा धेरै सङ्क्रमितले ज्यान गुमाए । रेम्डिसिभिरको चरम अभावको बेला औषधि व्यवस्था विभागको स्वीकृतिमा आयान हेल्थ केयरले बङ्गलादेशबाट ठूलो परिमाणमा रेम्डेसिभिर ल्याएको थियो । कोरोनाको चर्को महामारीमा रेम्डिसिभिर पाउनु भनेको ठूलो युद्ध जितेजस्तो हुन्थ्यो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य-सचिव डा. प्रदीप ज्ञवालीले रेम्डेसिभिरको ‘क्लिनिकल ट्रायल’ हुन नसकेको बताए । उनले नेपालमा कोरोनाविरुद्धको खोप उत्पादन हुन सक्ने भन्दै त्यो विषयमा छलफल भइरहेको जानकारी दिए ।

अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसंँग छलफल भइरहेको जानकारी दिँदै उनले नीति परिवर्तन गरेर खोप उत्पादन गर्न सकिने बताए । जनशक्ति टेक्नोलोजी ट्रान्सफर भएको अवस्थामा नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन हुने दाबी डा. ज्ञवालीले गरे ।

आयान हेल्थ केयरका प्रमुख डा. अबुल अन्सारीले कोरोना सङ्क्रमण तीव्र भएको अवस्थामा रेम्डिसिभिरको चरम अभाव रहेको जानकारी दिए । त्यो बेला रेम्डेसिभिर पुर्याउन धेरै ठूलो सकस परेको जानकारी दिँदै उनले अहिले त्यो अवस्था नरहेको बताए । आयान हेल्थ केयरले मात्र ४० हजार भायल रेम्डिसिभिर बङ्गलादेशबाट ल्याएको जानकारी दिँदै उनले तीमध्ये अहिले पनि तीन हजार मात्रा बाँकी रहेको बताए ।

डा. अन्सारीले नेपाली बजारमा जति पनि आएका रेम्डिसिभिरको गुणस्तर परीक्षण गर्नुपर्ने बताए । सङ्क्रमितको सङ्ख्या घटेको र रेम्डिसिभिरको आपूर्ति बढी भएर अवस्था सहज भएको उनले जानकारी दिए । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले अब नेपालमा रेम्डिसिभिरको अभाव नहुने बताए ।

केही समय अघिसम्म चरम अभाव रहे पनि हाल मागभन्दा आपूर्ति बढी भएको जानकारी दिँदै उनले रेम्डेसिभिर नेपालमा उत्पादन हुन थालेको र विभागले बजारमा ल्याउन स्वीकृति दिइसकेको जानकारी दिए । नेपालमा रेम्डिसिभिर उत्पादन भइसकेको छ । वीरगञ्जस्थित नेसनल हेल्थ केयर प्रालिले रेम्डिसिभिर उत्पादन गरेको हो ।

नेसनल हेल्थ केयरका कार्यकारी निर्देशक जगदीश रुङ्गटाले हाललाई १५ हजार मात्रा रेम्डिसिभिर उत्पादन गरेको जानकारी दिए । उनले आइतबार औषधि व्यवस्था विभागबाट बजारमा ल्याउनका लागि स्वीकृति दिइएको बताए । एक साताअघि यो रेम्डेसिभिर नेपाली बजारमा आएको हो । आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ६ : ४७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग