काठमाडौं । दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पनुर्स्थापित गरेपछि आज पहिलो प्रतिनिधिसभा बैठक बस्दैछ ।
सर्वोच्च अदालतको आदेशानुसार मन्त्रिपरिषदको सिफारिसले राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसदका दुबै सदनको अधिवेशन अपराह्न ४ बजेका लागि आह्वान गरेकी हुन् ।
पुनःस्थापित यस प्रतिनिधिसभाले नयाँ प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मतसमेत लिनु पर्ने भएकाले धेरैको ध्यान अब संसदतिरै छ ।
असार २९ मा प्रधानमन्त्री देउवाले साउन २९ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिन सके यही सरकारले बाँकी १७ महिनाको संसदको कार्यकाल पूरा गरेर चुनाव गराउनेछ भने विश्वासको मत प्राप्त गर्न नसकेको मुलुक अग्रिम चुनावमा जानेछ ।
।
यस्तो छ आजको सम्भावित कार्यसूची
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ ।
यस्तै, सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।
शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद् सचिवालयले जनाएको छ । आज दलका नेताहरुले पनि मन्तव्य व्यक्त गर्ने सम्भावना छ । अधिवेशनको प्रारम्भमा दलका नेताहरुले मन्तव्य व्यक्त गर्ने परम्परा छ ।
प्रतिक्रिया