२१ माघ २०८२, बुधबार | February 4, 2026

साउने रमझममा हरियो चुराको बजार



महोत्तरी । बर्खाकालको साउन महिना मिथिलानी (मिथिलाका नारी)का लागि विशेष हुन्छ । मैथिल हिन्दू परम्परामा साउन भगवान् शिवको प्रिय महिना मानिने विश्वासले मिथिलानीका लागि विशेष बन्दै आएको हो । साउनमै पनि सोमबारको त अझ विशिष्ट महत्व छ ।

साउने सोमबारका दिन भगवान् शिवलाई पुकारा गरी पूजाआराधना गरेर व्रत बसे इच्छित कामना पूरा हुने हिन्दू मैथिल जनविश्वास छ । साउनमा सोमबार परेको दिन मिथिलानी विभिन्न वस्त्र परिधानमा सजिएर शिवभक्तिका गीत गाउँदै शिवालयमा देखिन्छन् । मिथिलानीको यो परिधानभित्र हरियो चुराको विशिष्ट महत्वले गर्दा अहिले महोत्तरीसहितका मिथिला क्षेत्रमा जताततै बस्ती/बस्तीमा हरियो चुराको बजार जमेको देखिन्छ ।

हरियो चुरा अटल सौभाग्यको सौन्दर्य प्रसाधन मानिने हुँदा साउने सोमबारी व्रतमा महिलाले यो रोज्ने गरेका हुन् । हरियो चुरासहितको प्रसाधनमा सजिएर भगवान् शिवको गरिने आराधना र व्रतले अटल सौभाग्य प्राप्त हुने विश्वास रहेको हातभरि हरियो चुराले नाडी छोपेकी बर्दिवास नगरपालिका-९ की शैल महतो बताउँछन् ।

“साउन महिना प्रकृति पूजाका लागि विशिष्ट मानिन्छ, हरियो रङलाई प्रकृतिको प्रतीक मानिन्छ”, महोत्तरीकै भङ्गाहा नगरपालिका-५ सिद्धपुरकी रुवी झा भन्छिन्, “हाम्रा तीर्थ व्रत र चाडबाड धेरैजसो प्रकृतिसम्बद्ध छन्, त्यसैले साउनमा हरियो चुराले महत्व पाएको हो ।”

विवाहित मिथिलानी अटल सौभाग्य र अविवाहित युवती सुन्दर वर (दुलाहा)को कामनाले साउने सोमबारी व्रत बस्छन् । नवविवाहिता मिथिलानी त साउनमै पतिपत्नीबीच पिरती गाढा हुने विश्वास गर्छन् । भगवान् शिवको आराधना होस् कि अन्य धार्मिक अवसर, सौभाग्य प्रसाधनको चयनमा हरियो चुरा मिथिलानीको प्राथमिकतामै पर्छ । साउने यो पर्वका अवसरमा हरियो चुरामात्र नभएर हरियो पोते, हरियो सारी र अन्य शृङ्गार प्रसाधनका पसल साउन लागिकन जताततै सजिएका छन् ।

कोभिड-१९ महाव्याधिको सन्त्रास हटिसकेको नहुँदा जिल्ला प्रशासनले मेला, उत्सव र शिवालयमा बाक्लो जमघटमा रोक लगाएको छ तर लामो समय निषेधाज्ञाले जकडिएका सर्वसाधारण महाव्याधि अलि कम भएको बेला अहिले शिवालयमा पुगेको देखिन्छन् । मिथिलानी त अहिले लामो कारागार बसाइबाट छुटेजस्तै भएका छन् । सधैँ घरगृहस्थीमा रुमलिने मिथिलानी साउन लागेपछि सहेलीहरुको झुण्डमा मन फुकाएर हाँस्दै शिवालयमा देखिन्छन् । यस्तो जमघटमा आफ्ना वस्त्र परिधान विशिष्ट देखिउन् भन्ने अन्तरनिहित चाहना हुने गरेको भङ्गाहा-४ रामनगरकी रसिया थारु बताउँछिन् ।

साउन महिनाले खेतबारी र कान्लापाखामात्र नभएर परिवेश नै हरियो बनाएको देखिन्छ । हाट बजारमा यतिखेर जताततै हरिया शृङ्गार साधनका पसल सजिएका छन् । यस्ता शृङ्गार प्रसाधनका पसलमा युवा उमेरका मिथिलानीको उपस्थिति सघन देखिन्छ । महाव्याधि सन्त्रासबीच कारोबार सबै बन्द भएर जिङ्राएका व्यापारी साउन लागिकन परिस्थिति सहज बन्दै गएको आकलन गरेर पर्व केन्द्रित व्यापारमा लागेका छन् । महाव्याधि सन्त्रास घटेको हुँदा धेरथोर व्यापार चल्न थालेको व्यापारीहरुको भनाइ छ ।

अहिले महिलाले हरियो रङका जरी भरेको चुरा तथा हरिया बुट्टेचुरा बढी खोज्ने गरेको भङ्गाहा-५ सीतापुर बजारका शृङ्गार भण्डारका सञ्चालक रामभगत साह बताउँछन् । चुरासँगै अहिले मेहन्दीको व्यापार पनि फस्टाएको छ । साउनमा हरियो चुराजस्तै हत्केला, नाडी र नङमा मेहन्दी लगाउने मिथिलानीको चलन छ । साउनमा हत्केला, नङ, औँला र नाडीसम्म कलात्मक ढङ्गले लगाइने मेहन्दीले पतिपत्नीबीच प्रेममा प्रगाढता हुने र सर्पको भय नहुने विश्वास गरिन्छ ।

हरियो रङलाई समृद्धिको प्रतीक पनि मानिन्छ । साउने सोमबारी पर्वका बर्तालु विवाहित मिथिलानीले पतिको समृद्धिको कामना गर्दै हरियो चुरा, पोते, हरियो लुगा र हत्केलामा मेहन्दी लगाउने प्रचलन छ । त्यसैगरी अविवाहित नवयौवना मिथिलानी सुन्दर वर ९दुलहा०को कामना गर्दै साउने व्रत बस्छन् । साउनमा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडी एकले अर्कालाई उपहार दिने चलन पनि बाक्लै भएको हुँदा यो महिनामा यस्ता सामानको बजार निकै जम्ने गरेका छन् । रासस

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ११ : १५ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु