१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

स्थानीयवासीले चाबी खोसेपछि सडक कालोपत्रको काम ठप्प



खोटाङ । ठेकेदारले काम गरेबापतको पारिश्रमिक तथा होटल र पसलको रकम भुक्तानी नदिएको भन्दै महुरे-राजापानी सडकखण्ड कालोपत्रको काममा खटिएका कामदार तथा स्थानीय व्यवसायीले निर्माण कम्पनीको चाबी नियन्त्रणमा लिएर काम ठप्प बनाएका छन ।

भारत कन्ट्रक्सन/सिद्धि शाही जेभीका ठेकेदारले काम गरेबापतको पारिश्रमिक तथा होटल, हार्डवेयर, खाद्य सामग्रीलगायतको भुक्तानी नदिएको भन्दै कामदार तथा स्थानीय व्यवसायीले यहि साउन २ गते निर्माण कम्पनीका ट्रक, टिपर र ट्र्याक्टरको चाबी नियन्त्रणमा लिएर काम ठप्प बनाएका हुन ।

विसं २०७६ मा ठेकेदार कम्पनीसँग गरिएको सम्झौताअनुसार निर्माण कम्पनीका ठेकेदारले आफूहरुलाई दिनुपर्ने रकम भुक्तानी नदिएपछि चाबी नियन्त्रणमा लिएर सडक निर्माणको काम रोक्नुपरेको बुइपाका व्यवसायी मोहन श्रेष्ठले बताए । ‘ठेकेदारले यसअघि गरेका सम्झौताअनुसार हामीलाई भुक्तानी दिएको छैन,’ उनले भने, ‘ठेकेदारलाई फोन गर्दा फोन उठाउँदैन, हामीलाई ढाँटेको ढाँट्यै गरेपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक र ठेकेदारलाई भनेरै निर्माण कम्पनीमा सञ्चालित सबै सवारी साधनको चाबी मागेर राखेका छौँ ।’

कामदार तथा स्थानीय व्यवसायीले ठेकेदारबाट रकम भुक्तानी नपाएपछि यसअघि २०७६ पुस २० गतेदेखि एक महिना र फागुन ८ गतेदेखि दुई दिन सडक निर्माणको सम्पूर्ण काम ठप्प बनाएका थिए । यसअघि गरिएको सम्झौताअनुसार ठेकेदार कम्पनीबाट माग पूरा नभएपछि कामदार तथा स्थानीय व्यवसायीले पुनः सोही माग राखेर सडक कालोपत्रको काममा अवरोध गरेका हुन ।

स्थानीय कामदार तथा व्यवसायीको अवरोधका कारण यही साउन २ गतेदेखि नै सडक निर्माणको सम्पूर्ण काम ठप्प बनेको गाईघाट-दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने कामदार तथा व्यवसायीले निर्माण कम्पनीको सवारी साधनको चाबी नियन्त्रणमा राखेको विषयमा दुवै पक्षबाट जानकारी नआएको बताए ।

सडक कालोपत्रको काममा स्थानीय व्यवसायी तथा कामदारले गरेको अवरोध फुकाउने विषयमा हालसम्म कसैको ध्यान पुगेको छैन । कामदार तथा स्थानीय व्यवसायीले निर्माण कम्पनीबाट रु २८ लाख पाउन बाँकी रहेको बताएका छन । महुरेमा रात दिन गिट्टी कुटेका दर्जनौँ महिला कामदारले समेत पारिश्रमिक पाएका छैनन । गिट्टी कुटेबापत ठेकेदार कम्पनीबाट प्रतिव्यक्ति कम्तीमा रु ३० हजार रकम भुक्तानी नपाएको स्थानीय एक महिला कामदारले गुनासो गरे ।

निर्माण कम्पनी भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीका सुपरभाइजर गणेशप्रसाद तिम्सिनाले गाईघाट-दिक्तेल सडक कार्यालयले दुई वर्षयता बिल भुक्तानी नदिएकाले कामदार तथा व्यवसायीको बक्यौता रकम भुक्तानी दिन नसकिएको बताए ।

पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडक झण्डै दुई वर्षयता कालोपत्रको काम सन्तोषजनक देखिएको छैन । कामदार तथा स्थानीय व्यवसायीले अवरुद्ध बनाएको काम पुनः शुरु गर्ने र बीचैमा रोक्ने क्रम पटक-पटक चल्दा सडक कालोपत्रको प्रगति नदेखिएको हो ।

सडक कालोपत्रको काममा ढिलासुस्ती गरेकामा भारत कन्ट्रक्सन÷सिद्धी शाहीबाट करिब रु साढे छ करोड बैंक ग्यारेन्टी तानिसकिएको गाईघाट-दिक्तेल सडक कार्यालयले जनाएको छ । उक्त कम्पनीले २०७७ असार २९ गते सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते रु ४१ करोड ५० लाख लागतमा महुरे-राजापानी ९२२ किलोमिटर० सडक कालोपत्र गर्ने गरी योजनाको सम्झौता गरेको थियो ।

सम्झौता गरेको तीन वर्ष बितिसक्दा पनि महुरे-राजापानी सडकखण्डको भौतिक प्रगति ३५ प्रतिशतमात्र देखिएको स्थानीय बासिन्दा मिलन राईले बताए। ‘सडक कालोपत्रको काममा चरम ढिलासुस्ती भएको छ,’ उनले भने, ‘भएका काम पनि गुणस्तरहीन भएको र त्यहाँ कार्यरत कामदारले लामो समयसम्म भुक्तानी पाएका छैनन्, यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’

यस्तै, देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले कालोपत्र गर्ने जिम्मा लिएको सिम्पानी भञ्ज्याङ-फोक्सिङटार (२७ किलोमिटर) सडकको हालसम्म करिब ५९ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ । रु ५५ करोड ८७ लाख लागतमा २०७७ साउन १० गतेभित्र कालोपत्रको सम्पूर्ण काम पूरा गर्ने शर्तमा २०७३ साउन ११ गते सो सडकको सम्झौता भएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १० : ४२ बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु