२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

नेपाल पक्षीय बैठक ‘सम्मानजनक पार्टी एकता’



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ‘सम्मानजनक पार्टी एकता हुनुपर्ने’ निर्णय गरेको छ । राजधानीमा शुक्रबार सम्पन्न दुई दिने बैठकपश्चात् पार्टी निर्णय सार्वजनिक गर्दै नेता रघुजी पन्तले गत २७ असारमा सम्पन्न १०बुँदे सहमति एकताको आधार मान्दै निष्कर्ष निकालिएको जानकारी दिँदै ४बुँदे निर्णयसहित बैठक सकिएको बताएका छन् ।

‘हाम्रो अडान सम्मानजनक पार्टी एकता हो,’ १० बुँदे सहमति आधार मानेर एकता प्रक्रिया अगाडि बढाउने निर्णय भएको बताउँदै पन्तले थपे, ‘यसका लागि प्रयास जारी राख्ने सहमति भएको छ ।’ त्यस्तै, बैठकले १०बुँदे सहमतिको भावनाविपरीत वरिष्ठ नेता नेपालमाथि अनेकौं टिप्पणी गरिएकोमा आपत्ति जनाएको छ । पार्टी एकताका लागि वार्ता चलिरहेको समय अध्यक्ष केपी शर्मा ओली पक्षबाट हुने अधिवेशन र सदस्यता नवीकरण रोक्न मागसमेत बैठकले गरेको छ ।

बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यले पार्टी विधानअनुसार ७० वर्ष पुगिसेकेका अध्यक्ष ओलीले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने आवाज उठेको छ । केन्द्रीय सदस्य दिनेश राईले ७० वर्ष पुगिसकेका अध्यक्ष ओलीसहितका नेताले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्नेमा जोड दिए ।

‘पार्टी विधान कार्यान्वयन गर्दै अध्यक्ष कमरेड केपी ओलीले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्छ,’ राईले भने, ‘विगतमा धेरै नेताले विधान कार्यान्वयन गर्दै सक्रिय राजनीतिबाट विश्राम लिएका छन्, ७० वर्ष पुगिसकेका ओली कमरेडले पनि विधान कार्यान्वयन गर्न आवश्यक छ ।’ एमाले विधान धारा ६५ को उपधारा ३ मा उमेर हदसम्बन्धी व्यवस्था छ ।

विधान-२०४९ले (नवौं महाधिवेशनबाट संशोधन २०७१) ले ७० वर्ष पुगेका व्यक्ति कार्यकारी पदमा निर्वाचित वा मनोनीत हुन रोक लगाएको छ । २०७१ बाट लागू बाध्यकारी प्रावधानकै कारण भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले सक्रिय राजनीतिबाट बिदा लिएका थिए ।

६० वर्ष लामो राजनीतिक जीवनबाट अधिकारीले विधान पालना गर्दै महाधिवेशन हलबाट बिदाइ लिएका थिए । ११ फागुन २०७७ मै अध्यक्ष ओलीले ७०औं जन्मदिन मनाइसकेका छन् । सोही कारण ७० वर्ष पुगिसकेका ओलीले पनि विधान कार्यान्वयन गर्दै बिदा लिनुपर्ने आवाज बैठकमा उठेको हो ।

ओलीले आत्मालोचना गर्नुपर्ने अडान

बैठकमा ओलीले संविधान र लोकतन्त्रविरोधी कार्य गरेकाले सार्वजनिक रूपमा आत्मालोचना नगरे पार्टी एकता नगर्ने सुझावसमेत आएको छ । संविधान र लोकतन्त्रविरुद्ध ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि सार्वजनिक आत्मालोचना गर्नुपर्ने राईको जोड छ ।

पार्टी एकता गर्दा सम्मानजनक अवस्थामा मात्रै एकता गर्नुपर्ने दबाब नेपाललाई छ । बैठकमा आफ्नो धारणा राख्दै अधिकांश केन्द्रीय सदस्यले सम्मानजनक अवस्थामा मात्रै एकता गर्नुपर्ने सुझाव दिएका छन् । बिहीबार २३ र शुक्रबार ३२ केन्द्रीय सदस्यले आफ् ना धारणा राखेका छन् । आगामी २४ साउनमा एमाले अध्यक्ष ओली पक्षको केन्द्रीय कमिटी बैठक बस्दै छ ।

सो बैठकले गर्ने निर्णयका आधारमा अगामी रणनीति तय गर्ने नेपाल पक्षका नेताले जनाएका छन् । केन्द्रीय कमिटी बैठकमा सबै सदस्य आफ्ना धारणा राख्न नपाउँदै बीचमै बैठक स्थगित गरिएको हो । नेपाल पक्षको स्थायी कमिटी बैठक बसेर थप अगामी रणनीति तय गर्ने छ ।

सम्मानजनक एकता

केन्द्रीय सदस्य दिलु पन्तले बैठकमा अधिकांश नेताले सम्माजनक एकताको पक्षमा आवाज उठाएको बताइन् । ओलीसँग ‘कुनै पनि हालतमा आत्मसमर्पण गर्न नहुने’ उनीहरूको धारणा छ ।

पटकपटक जनविरोधी तथा पार्टी विधानविपरित कार्य गरेकाले ओलीले ‘आत्मालोचना’ गर्नुपर्ने आवाज बैठकमा उठेको उनले सुनाइन् । ‘पार्टी एकताको पक्षमै हामी छौं तर आत्मसमपर्ण गर्न नहुने आवाज बैठकमा उठेको छ ।

पटकपटक जनता विरोधी तथा पार्टी विधानविपरित कार्य गर्नेले सार्वजनिक रूपमा आत्मालोचना गर्नुपर्ने हुन्छ,’ पन्तले भनिन्, ‘१०बुँदे पार्टी एकताको प्रस्तावको जगमा त्यसमा परिमार्जन गर्दै सम्मानजनक एकता हुनुपर्ने आवाज उठेको छ ।’ याे समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ७ : ०४ बजे

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव