७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

गर्भवती महिलाको गर्भमा भएको बच्चामा सर्दैन संक्रमण



काठमाडौँं । गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण)मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी अपनाउनुपर्ने हुन्छ ।

परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.कृतिपाल सुवेदीका अनुसार, सामान्य अवस्थामा भन्दा पनि गर्भवती हुँदा कोरोना जोखिम बढी हुन्छ । तर, गर्भवती महिलामा सङ्क्रमण भइहाले पनि पेटको नानीमा सङ्क्रमण हुन्छ नै भन्ने हुँदैन । गर्भवती अवस्थामा रोग प्रतिरोधात्मक क्षमता कम हुने (रोगसँग लड्ने क्षमता) हुँदा सरसफाइलगायत स्वास्थ्य सुरक्षाका सन्दर्भमा बढी सतर्कता अपनाउनुपर्छ । गर्भवती अवस्थामा यसै पनि विभिन्न स्वास्थ्य समस्या आउने भएकाले स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने उनी बताउछन ।

गर्भवती अवस्थामा महिलामा ‘हार्मोन’ परिवर्तन हुने भएकाले यस्तो अवस्थामा कोरोना सङ्क्रमित हुनु भनेको आमा र शिशु दुवैलाई खतरा हुन्छ । यस्तो बेला सामान्य लक्षणमात्र देखिएमा घरमा एकान्तवास बस्नुपर्छ तर अक्सिजनको मात्रा कम भएमा, श्वासप्रश्वास छिटो-छिटो भएमा, एक सयभन्दा बढी तापक्रम भएमा वा लगातार खोकी आएमा चिकित्सकसँग परामर्श लिने वा अस्पतालको सम्पर्कमा जानुपर्ने सुझाव डा. सुवेदीको छ ।

उनका अनुसार, कोरोना सङ्क्रमित गर्भवतीको सहज प्रसूति गराउन सकिन्छ तर केही गरी निमोनिया छ वा अन्य समस्या आएमा शल्यक्रिया गरी प्रसूति गराउनुपर्ने हुन्छ । यसरी प्रसूति गराउनचाहिँ सामान्य स्वास्थ्यचौकीभन्दा सुविधासम्पन्न अस्पतालमा जानुपर्ने हुन्छ । किनभने सङ्क्रमित आमा वा शिशुलाई सघन कक्षदेखि भेन्टिलेटरको पनि आवश्यकता पर्न सक्छ ।

प्रसूति गृहमा दैनिक दुई/तीनजना कोरोना सङ्क्रमित गर्भवती पुग्ने गरेका छन् । प्रसूतिका लागि चिकित्सकले दिएको समय कटेको अवस्था वा टाउको दुख्नेलगायत कुनै पनि असजिलो वा स्वास्थ्य समस्या भएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्ने सुझाव डा.सुवेदीको छ ।

गर्भवतीको सुरक्षा

गर्भावस्था जोखिमको अवस्था पनि हो । त्यसैले गर्भवती महिलाले खानपान, हिँडडुल र स्वास्थ्य सजगतामा बढी ध्यान दिनुपर्ने हुन्छ । घरभित्रै हिँडडुल गर्दा कोरोना जोखिम कम हुन्छ । खासगरी श्वासप्रश्वास समस्या भएका महिलालाई अत्यधिक प्राथमिकतासाथ उपचार गर्नुपर्ने डा। सुवेदी बताउछन ।

गर्भवतीले शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन पोषणयुक्त खानपानमा ध्यान दिनुपर्छ । उनी भन्छन, “भिटामिनयुक्त खानपान, दूध र दूधजन्य पदार्थ, फलफूल, हरियो सागपात, गेडागुडी, माछामासु सन्तुलित रूपमा खानुपर्छ ।” त्यस्तै, पानी प्रशस्त पिउनुपर्छ । घाममा बस्दा ‘भिटामिन डी’ पाइने भएकाले गर्भवतीलाई विशेषगरी बिहानीपखको घाममा बस्नुपर्छ । गर्भवती भएको अवस्थामा रासायनिक परिवर्तन हुने भएकाले त्यसको सन्तुलनका लागि खानपान तथा सन्तुलित व्यायाम आवश्यक हुने डा.सुवेदीको सुझाव छ ।

गर्भवती महिलाले सुत्ने आसनमा पनि सचेत हुनुपर्छ । गर्भवती महिलाले बेलुका बेलैमा सुत्ने र आठ घण्टा मस्त निदाउनुपर्ने हुन्छ । मनोचिकित्सक तृष्णा घोषले गर्भावस्था तनाव निकै बढी हुने हुनाले आफूलाई प्रिय लाग्ने सङ्गीतको धुन सुन्नुपर्ने बताउछन । सकारात्मक समाचार सामग्री हेर्ने, सुन्ने तथा पढ्नाले शारीरिक तथा मानसिक रूपमा ऊर्जा मिल्ने उनी बताउछन ।

स्तनपान गराउनुपर्छ

आमा कोरोना सङ्क्रमित भए पनि प्रसूतिपछि शिशुलाई स्तनपान गराउनुपर्छ । यद्यपि, सङ्क्रमित आमा र शिशुलाई दिनभरि सँगै राख्नुहुँदैन । धुलिखेल अस्पतालका बालरोग विशेषज्ञ अनिष श्रेष्ठका अनुसार, स्तनपानबाट शिशुमा रोगसँग लड्न सक्ने क्षमता विकास हुन्छ । त्यसैले दुई घण्टा फरकमा स्तनपान गराउँदा राम्रो हुन्छ । आजको गोरखापत्र दैनिकमा यलु जोशीले यो समाचार लेखेकी छिन ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ७ : ३९ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने