सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा धेरै प्रचण्डहरु बन्न खोज्दा चुनाव हारेको टिप्पणी गरेका छन् ।
शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले पार्टीले १७५ पालिका जित्ने आंकलन गरेपनि गुटबन्दी भएकै कारण हार्न पुगेको बताएका हुन् ।
प्रचण्डले पार्टीभित्र धेरै प्रचण्डहरु जन्मिन खोज्दा गुटबन्दी बढेको र त्यसको प्रभाव चुनावमा देखिएको जिकिर गरे । उनले भने, ‘यही कारण स्थानीय तहको निर्वाचनमा पार्टीको अपेक्षाअनुसार परिणाम आउन सकेन । आन्तरिक अन्तरविरोध व्यवस्थापन गर्न नसक्दा १७५ स्थानीय तह अपेक्षा गरेकोमा १२२ मा सीमित भयौं । ५० भन्दा बढी जितेको पनि गुमायौं ।’
प्रचण्डले नेताहरुमा प्रचण्ड भन्दा ठूलो नेता मै हुँ भन्नेहरु समेत रहेको बताए । बोलीमा प्रचण्डलाई नेता मानेपनि व्यवहारमा प्रचण्ड भन्दा ठूलो नेता मै हुँ भन्दै हिँड्नेहरु भएको उनले जिकिर गरे । नेताहरुको बीचमा बोलचाल समेत नहुँदा त्यसको प्रभाव कार्यकर्तामा परेको उनले बताए । ‘प्रचण्डको नेतृत्वमा मा़ओवादी एउटै छ तर भित्रभित्र स्वार्थी गुट छ । म त कर्णालीमा पनि गुटैगुट देख्छु । भन्ने बेलामा पार्टीको मुख्य नेता प्रचण्ड भन्ने तर व्यवहारमा ‘मै हुँ प्रचण्ड’ भन्ने स्थितिका कारण निवार्चनमा हारियो’, उनले भने ।
प्रचण्डले गुटबन्दी, स्वार्थ समूह, व्यक्तिवादलाई रोक्नु चुनौती रहेको बताउँदै कर्णालीका नेता कार्यकर्तालाई पनि गुटबन्दी रोक्न आग्रह पनि गरे ।



















प्रतिक्रिया