१० माघ २०८२, शनिबार | January 24, 2026

असिनाले बाली नष्ट : किसान चिन्तित



गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् ।

म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको चिनाखेत, डाँडाखानीलगायत जिल्लाका उच्च लेकाली क्षेत्रमा वर्षासँगै परेको असिनाले खेतीबालीमा क्षति पु¥याएको किसानले बताएका छन् । हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको भकिम्लीका किसान भीमबहादुर थापाले बताए ।

शनिबार हिउँजस्तै जम्नेगरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उनको भनाइ छ । खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौ, उवालगायत भित्र्याउने समय भएका हिउँदेबालीमा असिनाले क्षति गरेको छ । भर्खरै उम्रदै गरेको मकै, सिमी, आलु, काँक्रो, घिरौँला लगायतका तरकारी र बालीका बिरुवामासमेत क्षति पुगेको चिनाखेतका किसान श्याम पुनले बताए ।

त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पु¥याएको छ । असिनाले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौँ, फापर लगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए । अलिअलि भएको बालीसमेत असिनाले नष्ट गरिदिँदा किसान मारमा परेको उनले बताए ।

जिल्लामा सिँचाइ सुविधा पुगेको झन्डै पाँच हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका किसान भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ । वर्षा भएपछि चैते धान रोप्न र खेतबारीमा मकै बाली लगाउन पाउँदा असिना नपरेका ठाउँका किसान खुसी भएका छन् । “फागुन पहिलो साता रोप्नुपर्ने मकै अहिलेसम्म रोप्न सकिएको थिएन, पानीपरेसँगै खेतबारीमा मकै छर्ने चटारो छ”, ज्यामरुककोटका किसान नारायण सापकोटाले बताए ।

बारीमा मकै लगाउन, लहरेबालीलगायत विभिन्न तरकारी र बर्खे आलु लगाउन भने सहज भएको अन्य किसानको भनाइ थियो । शनिबार र आइतबार जिल्लाको धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण र बेनी नगरपालिका गरी छवटै पालिकामा वर्षा भएको थियो । वर्षासँगै बेकामे बनेका किसान खेतबारीमा व्यस्त हुने भएका छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ३५ देखि ४५ प्रतिशतसम्म कमी आएको छ । सबैभन्दा बढी तेलहन बालीमा असर परेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारीबालीमा समेत असर परेको छ ।

विगतका वर्षमा तीन/चार पटक हिमपात भइसक्ने म्याग्दीका उच्च लेकाली क्षेत्रमा यो वर्षभने चैत लागिसक्दा पनि हिमपात हुनसकेको छैन ।

जिल्लाका गुर्जा, मुदी, टोड्के, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका उच्च लेकाली क्षेत्रमा हिमपात नहुँदा पशुपालक किसानलाई समस्या भएको छ । बुकी र खर्कमा हिमपात नभएपछि घाँस पलाउन नसक्दा पशुपालक किसानलाई समस्या भएको हो । समयमा नै हिमपात नहुँदा लेकाली क्षेत्रमा लगाइएको आलुलगायत हिउँदेबालीको उत्पादनमा ह्रास आएको छ भने पशुलाई चरनको समस्या हुने देखिएको किसानले बताएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १२ : ५९ बजे

महिला टि-२० विश्वकप छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी

प्रचण्डको दाबी – चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावका

अध्ययन–अनुसन्धानमा बैंक तथा वित्तीय संस्था कमजोर : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा

वाणिज्य बैङ्कको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको

माथिको आदेश भन्दै एयरपोर्टमा ममाथि अपमान गरियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई