३ श्रावण २०८३, आइतबार | July 19, 2026

१०९५ दिनको अविचलित यात्रा … … …



काठमाडौं । आज जेठ १५ । संघीय गणतन्त्र स्थापना भएको दिन अर्थात लोकतान्त्रिक आन्दोलनको उत्कर्षको दिन । लाखौं जनताको सहभागिता र हजारौं जनताको वलिदानी संघर्षबाट नेपालमा गणतन्त्र स्थापना भएको थियो । र, यही ऐतिहासिक उथलपुथलकारी दिनको अवसर पारेरै हामी पत्रकारितामा डिजिटल विधाको रुपमा स्थापित अनलाइन मिडियामा प्रवेश गरेका थियौं । सबैभन्दा पहिला हामी गणतन्त्र दिवसको अवसरमा हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तकहरुप्रति शुभकामना व्यक्त गर्दछौं ।

श्रमजीवि सञ्चारकर्मीहरुको पहलमा संघीय राजधानी काठमाडौं र लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट एकैदिन कार्यालय सञ्चालन गरी संज्ञान मिडिया प्रालीको व्यानरमा हामीले खबरकुरा डटकम सञ्चालनमा ल्याएका थियौं तीनवर्ष पहिले । आज हामी चौंथो वर्षमा प्रवेश गरेका छौं । चुनौतीका चाङको बीचमा तीन वर्ष पुरा गर्न पाएको खुशी हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तक र आलोचकहरुसँग समेत साट्न पाउँदा हामी आफुलाई फेरि पनि गौरवान्वित सम्झिएका छौं ।

हामीलाई साथ सहयोग र माया गर्ने देश विदेशमा रहनुभएका आम पाठकप्रति नमन व्यक्त गर्न चाहन्छौं । यहाँहरुले हामीप्रति दर्शाउनु भएको विश्वास, माया, सद्भावले नै हामीलाई निरन्तर अघि बढ्ने हौसला प्रदान गरेको छ । तेस्रो वार्षिकोत्सवको यो विशेष अवसरमा व्यावसायिक पत्रकारितामा प्रतिवद्धता जनाउँदै आदरणीय पाठकहरुप्रति अझ जिम्मेवार बन्ने वाचा गर्दछौं ।

तीन वर्षको यात्रामा हामीले समाजमा रहेका विकृति विसंगतीका विरुद्ध कलम चलाउन कहिँकतै डगमगाएनौं । भ्रष्टाचार र कुशासनका विरुद्ध कलम चलाउन डराएनौ र हामी समाज, समुदाय र मुलुक परिवर्तनका लागि भएका सकारात्मक पहलकदमीको प्रशंसा गर्न पनि कहिँकतै चुकेनौं । निर्भिक र तटस्थ समाचार लेख्न नडग्मगाउने हाम्रो हिम्मतकै कारण हामी नत कहिल्यै कसैको पक्षमा उभियौं नत विपक्षमै । जो कोहीले गरेका गलत क्रियाकलापको विरुद्ध उभिँदा गलत गर्नेहरुले आफ्नो विपक्षमा गएको महसुस गरेपनि आम जनसमुदायका नजरमा हामी पटक पटकको परीक्षा पार गर्दै अघि बढिरहेका छौं ।

हामीले अनलाइन सुरु गर्ने समयमा कोरोना महामारीले भर्खरै उग्र रुप लिँदै थियो । देशमा लकडाउन भएकै अवस्थामा चुनौतीको यात्रा सुरु भएको थियो । लामो समयसम्म कोरोना महामारी र पछिसम्म त्यसको प्रभाव, विश्वव्यापी रुपमा देखिएका उथलपुथलकारी भूराजनीतिक गतिविधि र रुस युक्रेन युद्धको मारमा विश्व अर्थव्यवस्था नै प्रभावित हुँदा त्यसको बाछिटा नेपालमा नपर्ने कुरै भएन । देशको अर्थतन्त्रलाई बाह्य गतिविधिले जति प्रभाव पार्यो आन्तरिक राजनीतिक खिचातानी र भ्रष्ट गतिविधिले झन बढी तन्नम बनायो । आर्थिक सूचकहरु सबैतिर ऋणात्मक बन्दा त्यसको प्रत्यक्ष मारमा हामी समेत परेका छौं । यद्यपी हामीलाई बचाइराख्न आदरणीय विज्ञापनदाताले संकटपूर्ण अवस्थामा पनि निरन्तर सहयोग गरिरहनुभएको छ । हामी ती सबै विज्ञापनदाताहरुलाई पुनः एकपटक नमन गर्न चाहन्छौं ।

मिडियाको भिडबाट पाठकलाई अझ उत्कृष्ट, निष्पक्ष र रोचक सामग्री दिलाउनु नै हाम्रो मूल लक्ष्य हो । न्यूज रुममा कृतिम कथा बुनेर पाठकलाई त्यसको भारी बोकाउने हामी चाहँदैनौं । संचारकर्मीले जहिले पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छ भन्ने सिद्धान्तमा हामी अडिग छौं ।

यो विशेष अवसरमा हामी व्यावसायिक पत्रकारिताको अभ्यास गर्दै आदरणीय पाठकहरुप्रति अझ जिम्मेवार बन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं । हाम्रो उद्देश्यमा विगतमा जस्तै यहाँहरुबाट आलोचनात्मक चेतका साथ रचनात्मक सहयोगको अपेक्षा गर्दछौं । हाम्रो लेखाइ र प्रस्तुतीमा हामी सधैं सजग बन्नेछौं । सन्तुलित खबरको विश्वसनीय संयोजन हाम्रो भिजन हो । खबरकुरा डट कमलाई हाम्रा पाठकको माया मिल्नेछ । पाठकको सुझाव र आलोचना नै हाम्रो मार्गदर्शन बनिरहनेछ । ‘तपाईं हुनुहुन्छ जहाँ, देश दुनियाँको खबर पुग्छ त्यहाँ’ भन्ने सन्देशसहित हाम्रो यात्रा सुरु भएको थियो । चौंथो वर्षमा पनि यो यात्रा अविचल रहनेछ । बदलिएको परिस्थितिमा चुनौतीका बीच पनि पाठकलाई निरन्तर सुसूचित गराइहनेछौं ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ७ : ०८ बजे

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा