१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

हिउँदे वर्षा नहुँदा किसान चिन्तित



महोत्तरी । माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदै वर्षा नहुँदा किसान चिन्तित भएका छन् । चिसोले खेतबारीमा लगाइएका बालीका बिरुवा कक्रँदै गएको छ ।

“हुस्सु र चिसो स्याँठले अझै छाडेको छैन”, महोत्तरीको बलवा-१० धमौराका हासिम राइनले भने, “एकपटक पानी परे हुस्सु फाटेर चिसो हावा चल्न छाड्ने थियो । तर खै पानी पर्ने त छाँट नै छैन ।” पानी नपर्दा लगातारको शीतलहरले तरकारी बालीलाई क्षति पुर्याएको उनको गुनासो छ ।

“बाक्लो तुसारोले आलु बोटमै सुक्यो, गोलभेँडा सड्दै बोटबाट झर्दै छन्, कोभीका फूल बढ्न नसकेर कक्रेका छन्”, उनले भने, “एकपटक अहिले पानी परे मौसम सफा भएर घाम तात्न थाल्थे, बालीनालीलाई राहत मिल्थ्यो ।”

विगतमा माघ लागेपछि हुस्सु फाट्दै गएर पारिलो घाम लाग्ने किसान बताउँछन् । “तिलासक्रायत माघेसंक्रान्ति पर्व मनाएपछि त घाम तात्थ्यो, तर यसपालि त माघ आधा हुनलाग्दासम्म हुस्सुले छाडेको छैन”, भंगाहा-४ रामनगरका ८५ वर्षीय किसान मोती महतोले भने, “यो मौसमको कुलक्षण नै हो, आउने दिन खुसीका हुने छैनन् ।”

हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कन नसकेका र खानेपानीका स्रोत मुहान सुक्दै जान सक्नेमा उनले चिन्ता व्यक्त गरे ।

हिउँदे वर्षा कुहासा (हुस्सु) फटाउने, चिसो पश्चिमी हावा चल्न छाड्ने र क्रमशः घाम तताउँदै लानेमात्र नभई बालीनालीका लागि अत्यन्त पोषिलो हुने जनाइएको छ । बर्दिबास–१२ डाँडाटोल बिजलपुराका ७५ वर्षीय किसान रामसुन्दर ठाकुरले भर्खरै हुर्कँदै गरेका वैशाखी लहरे तरकारी, उखु, अन्नबालीमा गहुँ र आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने बताए ।

हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोत इनार, चापाकल पनि गर्मी चढेसँगै चाँडै सुक्ने गरेका छन् । भंगाहा-४ रामनगरकै ९० वर्षीय हाजीबिहारी अन्सारीले यसपालि माघ दोस्रो साता बित्दै गर्दासम्म पानी नपरेको हुँदा नै हुस्सु र चिसो हावा नफाटेको बताए ।

फलफूललखेती (आँप, लिच्ची, सपाटो र रुखकटहरसहितका फल) सघन हुने बर्दिबास नगरपालिकाका बिजलपुरा, पशुपतिनगर, खयरमारा, चेरु, गणन्ता, ढुङ्ग्रे, टुटेश्वर, पाटु, वरडाँडा र माईस्थानका किसान यसपालि हिउँदे वर्षा नभएपछि फलका रुखमा मज्जर (मञ्जरी) कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवारोगको समस्या बढ्ने चिन्तामा छन् ।

यसैगरी जिल्लाकै फलफूलखेतीको पकेटक्षेत्र मानिने गौशाला नगर क्षेत्रका भरतपुर, लक्ष्मीनियाँ र बेलगाछीका किसान पनि हिउँदे वर्षा नहुँदा अपेक्षित उत्पादन लिन नसकिने जनाइएको छ ।

हिउँदे वर्षाले बालीनालीका लागि माटो भिजाउनेमात्र नभई रोग लाग्न नदिने र बाली हलक्क बढाउने गर्छ । “हिउँदे वर्षा सिँचाइका लागिमात्र होइन, बालीको पोषण र रोग प्रतिरोधका लागि पनि सहयोग हुन्छ”, बर्दिबास-९ पशुपतिनगरको झ्याकुलेटोलका ६५ वर्षीय किसान महेन्द्र महतोले भने, “हिउँदे वर्षा नहुँदा प्रकृतिका सन्तुलन खलबलिन्छन्, जताततै यसको असर बढ्नेछ ।”

हिउँदे वर्षाको मानव र यावत जीवजन्तुको स्वास्थ्य र अन्य आहारव्यहारमा पनि सकारात्मक प्रभाव हुने ८५ वर्षीय नथुनी महतोको अनुभव छ ।

महोत्तरीको कुल ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये अधिकांशमा आकाशे पानीको भरमा खेती गरिन्छ । यहाँ १० प्रतिशतमात्र खेतीयोग्य जग्गामा स्थायी सिँचाइ (कुलो, नहर लाग्ने) पुगेको छ । हिउँदे वर्षा नहुँदा पानीका मुहान चाँडै सुक्ने र विभिन्न रोगव्याधका समस्या पनि बढ्ने गर्छ । रासस

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ८ : ५१ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary