१० माघ २०८२, शनिबार | January 24, 2026

गलेश्वरमा गत वर्ष रु ५८ लाख भेटी सङ्कलन



म्याग्दी । बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षको अवधिमा रु ५८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले रु ५८ लाख ४० हजार पाँच सय १० भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मेलापर्वमा रु १९ लाख ७८ हजार आठ सय १८ र मण्डपमा रु ३८ लाख ६१ हजार छ सय ९२ भेटी सङ्कलन भएको जानकारी दिए ।

“गत आर्थिक वर्षसम्म कोषको आम्दानी भेटी, दान र बैङ्कको ब्याजसहित रु चार करोड ४१ लाख २५ हजार दुई सय २२ पुगेको छ,” उनले भने, “मन्दिरको आम्दानी कर्मचारीको तलब, कार्यालय, मन्दिरका पुुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको छ ।”

भेटीसहित गत आर्थिक वर्षमा रु. एक करोड ७६ लाख ४० हजार आठ सय ८४ आम्दानी गरेको कोषले विभिन्न शीर्षकमा रु ८० लाख ३५ हजार नौ सय ११ खर्च र रु ९६ लाख चार हजार नौ सय ७२ बचत गरेको कार्यालय सचिव रामबहादुर बानियाँले बताए ।

भेटीबाहेक यज्ञ दर्ता शुल्क रु चार लाख १३ हजार छ सय ६७, यात्री निवास शुल्क रु पाँच लाख ७७ हजार छ सय ६५, ब्याज रु ८९ लाख ६९ हजार पाँच सय ६६, दान दातव्य रु ५५ लाख २२ हजार एक सय ४३ र भक्तजनहरुले चढाएको जिन्सी सामान बिक्रीबाट रु. छ लाख २८ हजार आठ सय २५ सङ्कलन भएको छ । यसैगरी, पार्किङ शुल्क रु ११ हजार सात सय ५० र स्टल भाडा रु छ लाख ७६ हजार ६ सय ८५ आम्दानी भएको छ ।

यस वर्षको साउन महिनाको तेस्रो सोमबारसम्म रु १० लाख ७४ हजार सात सय ४७ भेटी सङ्कलन भएको छ । पहिलो सोमबार रु तीन लाख ७२ हजार तीन सय ७१, दोस्रो सोमबार रु तीन लाख ३६ हजार एक सय ८५ र तेस्रो सोमबार रु तीन लाख ६६ हजार दुई सय भेटी सङ्कलन भएको कोषका सदस्यसचिव बलबहादुर खत्रीले बताए । गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए ।

धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापना लगायत भौतिक संरचना निर्माण भएका हुन् । गलेश्वर मन्दिरको आम्दानीबाट गत आर्थिक वर्षमा ज्येष्ठ नागरिक सभाहल बनाउन रु १५ लाख, जडभरत शालग्राम संस्कृत माविलाई रु पाँच लाख र गलेश्वर बजारमा सिसी टिभी जडान गर्न रु एक लाख ४३ हजार सहयोग गरेको कोषले जनाएको छ ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । हिन्दूधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रि पर्वमा बिशेष मेला लाग्ने छ । दैनिक नित्य पूजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा हुुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ३ : ५१ बजे

महिला टि-२० विश्वकप छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी

प्रचण्डको दाबी – चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावका

अध्ययन–अनुसन्धानमा बैंक तथा वित्तीय संस्था कमजोर : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा

वाणिज्य बैङ्कको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको

माथिको आदेश भन्दै एयरपोर्टमा ममाथि अपमान गरियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई