काठमाडौं । धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका मेयर हर्क सम्पाङ सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन् । उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका थिए ।
आज रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेको भए पनि उनी खानेपानी मन्त्रालयभित्र गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनलाई गाग्रीविनै गेटबाट सुरक्षाकर्मीले प्रवेश गराएका हुन् ।
उनले यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए । उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ । धराने जनतालाई स्थायी रूपमा खानेपानीको व्यवस्था गर्न कोशीको पानी ल्याउनुको विकल्प नरहेको र त्यसका लागि केन्द्रीय सरकारले बजेट छुट्याउनैपर्ने उनको जिकिर छ । सुरुङमार्फत तमोर नदीकाे ल्याउने योजना दिवा सपना मात्रै भएको उनले बताए ।
तमोरको पानी ल्याउँदा ड्याम्प बनाउनुपर्ने र त्यसले हजारौं स्थानीयलाई विस्थापित गर्ने र जलाधार क्षेत्र समेत नाश हुने उनको तर्क छ । उनले आफ्नो कार्यकालभरि त धराने जनतालाई जसरी पनि पानी खुवाउने तर आगामी ५०-१०० वर्षपछिकाे लागि व्यवस्था गर्न कोशीकै पानी ल्याउनुपर्ने जिकिर छ ।
प्रतिक्रिया