२३ चैत्र २०८२, सोमबार | April 6, 2026

यथार्थ धरातलमा टेकेर प्रदेशले बजेट ल्याउछ : मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट यथार्थ धरातलमा टेकेर ल्याइने बताएका छन् ।

सरकारमा सहभागी राजनीतिक दलका प्रदेश प्रमुखहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यथार्थ धरातलमा आधारित भएर तयार पार्ने बताएका हुन् ।

सरकारले घाटा बजेट पनि नबनाउने र प्रदेशको वास्तविक अवस्था अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउने स्पष्ट पारे । ‘सरकारले सन्देश दिनेगरी, आशा जगाउनेगरी नीति तथा कार्यक्रम र बजेटको तयारी गर्दैछ । यसमा तपाईंहरूको सुझावलाई आधार मानेर समावेश गर्नेछौं,’ उनले भने, ‘प्रदेशको आम्दानी अनुसार हाम्रो बजेटको आकार ३१ देखि ३२ अर्ब वरिपरि आउनेछ । यही आधारमा थोरै लगानीमा पनि प्रतिफल आउने खालका कार्यक्रम के–के हुन सक्छन् भन्नेमा सुझाव आवश्यक छ ।’

सरकारले नीति तथा कार्यक्रमलाई आधार मानेर वार्षिक बजेट बनाउने भएकाले आगामी वर्षको बजेट नीति तथा कार्यक्रमभन्दा बाहिरको नहुने पनि उनले प्रस्ट पारे ।

नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अनुसन्धानको आधारमा नीति तथा कार्यक्रम र बजेट बनाउन सुझाव दिए । सरकारमा सहभागी दलहरूको प्रतिबद्धता केलाएर जनतालाई गरिएको वाचा अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन उनले आग्रह गरे । ‘थोरै बजेटले धेरै काम हुनेगरी बजेट ल्याउन जरुरी छ । सम्पन्न हुने योजनाको सूची बनाएर बजेटको प्राथमिकतामा राख्नुपर्नेछ,’ उनले भने, ‘बलियो सरकार छ । यसले राजस्व बढाउनेगरी कार्यक्रम ल्याउन सक्नुपर्छ ।’ नीति तथा कार्यक्रममा गर्न सकिने कार्यक्रम मात्रै समावेश गर्नुपर्ने र बजेटले आशा जगाउनेगरी कार्यक्रमहरूको प्राथमिकता निर्धारण गर्नुपर्ने उनले सुझाव दिए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष अमरसिंह पुनले प्रदेशप्रति आकर्षण बढाउनेगरी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए । उनले प्रदेश सरकारले आफ्नो अधिकार प्राप्ति र कार्यान्वयनमा खुट्टा कमाउनु नहुने भन्दै संविधानले दिएका अधिकारहरू कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्नेमा जोड दिए ।’सुशासनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउन जरुरी छ,’ उनले भने, ‘देशको विकासमा लुम्बिनीलाई जोडेर पर्यटनलाई आधार बनाउन सकिन्छ ।’

नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले नीति तथा कार्यक्रमले आधारभूत क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए । ‘जनतालाई तुलनात्मक रूपमा सन्तुष्टि हुनेगरी नीति तथा कार्यक्रम ल्याउन जरुरी छ । भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्नुस्,’ उनले भने, ‘उत्पादनशील क्षेत्रमा प्राथमिकता राखेर बजेट ल्याउन जरुरी छ ।’ सबैको अपनत्व रहनेगरी नीति तथा कार्यक्रम बनाउनुपर्ने, भौतिक निर्माण, बाटो–घाटोलाई मात्रै बजेट नराखी कृषि, शिक्षा, स्वास्थ्य, उद्यम विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

नेकपा एमालेका संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, प्रमुख सचेतक तुलसी चौधरी, एमाले लुम्बिनी प्रदेशका सचिव लक्ष्मण आचार्य लगायतले सहमति अनुकूल दृष्टिकोण उन्मुख बजेट ल्याउनुपर्ने, प्राप्त स्रोतलाई सही परिचालन गर्नेगरी नीति तथा कार्यक्रम बनाउन सुझाव दिएका थिए ।

बैठकमा मन्त्री तथा राजनीतिक संयन्त्रमा सहभागी दलका प्रतिनिधिहरू, प्रदेश योजना आयोगका पदाधिकारी तथा सचिवको सहभागिता थियो । बैठकबाट प्राप्त सुझावलाई आधार मानेर नीति तथा कार्यक्रम र बजेट निर्माणमा जोड दिइने भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ६ : ३४ बजे

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट