काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत एकदिवसीय सिरिजमा घरेलु टिम स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ । फोर्थहिल ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २४ रन बनायो ।
उसका लागि कप्तान रिची बेरिङ्टनले शतकीय पारी खेले । उनले ११४ बलमा ६ चौका र ४ छक्कासहित १०२ रनको पारी खेलेका हुन् । यस्तै, माइकल लिस्कले अविजित ९६, चार्ली टियरले ६८, मार्क वाटले २१ र फिनले म्याकक्रियाथले १७ रन जोडे । नेपालका लागि करण केसी र दीपेन्द्र सिंह ऐरीले दुई/दुई तथा ललित राजवंशीले एक विकेट लिए ।
सिरिजमा नेपाल तेस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध एक विकेटले रोमाञ्चक जित निकालेको थियो । यस्तै, दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पाखा लगायो ।
नेपाल आजको खेलमा पनि जित निकाल्नै लय कायम राख्ने योजनामा छ । सिरिजअन्तर्गत नेपालले मंगलबार नेदरल्याण्ड्ससँग अन्तिम खेल खेल्नेछ ।
जारी लिग-२ मा ८ टोली सहभागी छन्, जहाँ स्कटल्याण्ड १८ खेलमा २२ अंकसहित चौथो स्थानमा छ । नेपाल १४ खेलमा १० अंकसहित सातौं स्थानमा छ ।
सन् २०२७ सम्म चल्ने यस लिगको शीर्ष चार टोलीले विश्वकप ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् ।


















प्रतिक्रिया