बुटवल । बुटवल हस्पिटल प्रा. लि. ले दशैँको बिदा अवधिभर पनि आफ्नो सम्पूर्ण स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन गर्ने भएको छ । असोज १३ गते फूलपातीदेखि सरकारले सार्वजनिक बिदा दिए पनि हस्पिटलले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गरी सबै सेवा निरन्तर दिने जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण प्रसाद खनालका अनुसार इमर्जेन्सी, ओपीडी, आईसीयू, एनआईसीयू, अपरेशन लगायतका सम्पूर्ण सेवा यथावत सञ्चालनमा रहनेछन् ।
सरकारबाट १०० शैयाको अनुमति प्राप्त बुटवल हस्पिटल वर्षभरि ३६५ दिन खुला रहने जनाएको छ । अध्यक्ष चुन्न प्रसाद पौडेलका अनुसार चाडपर्वका बेला अन्य स्वास्थ्य संस्था बन्द हुँदा बिरामीले समस्या भोग्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै हस्पिटल निरन्तर सेवा दिन प्रतिबद्ध रहेको छ ।
वरिष्ठ फिजिसियन डा. नन्दु प्रसाद पाठकका अनुसार प्रत्येक वर्षजस्तै यसपालि पनि चाडपर्वमा बिरामीको उपचारलाई प्राथमिकता दिइनेछ । “बिरामीको उपचार गरेर ज्यान बचाउनु नै चिकित्सकको सबैभन्दा ठूलो सन्तुष्टि हो,” उनले भने ।


















प्रतिक्रिया