काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनमा घाइते भएपछि थप उपचारका लागि सोमबार राति सिंगापुर प्रस्थान गरेका छन् । उनी पत्नी तथा सांसद डा. आरजु राणा देउवासहित सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ गएका हुन् ।
भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित देउवा निवासमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा देउवा दम्पती घाइते भएका थिए । सुरक्षाकर्मीले उद्धार गरी उनीहरूलाई तत्कालै नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा पुर्याइएको थियो ।
कांग्रेस नेताहरूका अनुसार, घटनामा देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो । त्यसयता उनी सार्वजनिक रूपमा सक्रिय देखिएका छैनन् । असोज २८ गते उनी केन्द्रीय कार्यालयमा छोटो उपस्थित भएपछि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
निकट स्रोतका अनुसार, देउवा दम्पती सिंगापुरमा केही समय बस्दै स्वास्थ्य परीक्षण र आवश्यक उपचार गराउने योजना राखेका छन् । यसअघि पनि उनीहरू उपचारका सिलसिलामा सिंगापुर गइरहेका थिए ।


















प्रतिक्रिया