विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन् । सुनसरी क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकमार्फत उपप्रमुख अईन्द्रविक्रम बेघालाई राजीनामा पत्र बुझाएका हुन् ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले स्थानीय तहको नेतृत्व सम्हालेदेखि नै श्रम, पारदर्शिता र आत्मनिर्भरतामा जोड दिँदै आएका थिए । उनले आगामी प्रतिनिधिसभा निर्वाचनमार्फत राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यसहित मेयर पदबाट राजीनामा दिएको बताइएको छ ।
यसैबीच, आइतबार नै धरान उपमहानगरपालिका-१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि पदबाट राजीनामा दिएका छन् । नेकपा (एमाले) ले उनलाई सुनसरी क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेपछि उनले वडाध्यक्ष पद त्यागेका हुन् ।
स्थानीय तहका प्रमुख र वडाध्यक्ष दुवैले एकै दिन राजीनामा दिएपछि धरानको राजनीतिक वातावरण थप चासोको विषय बनेको छ । आगामी निर्वाचनमा उनीहरूको भूमिकाले सुनसरी-१ को राजनीतिक प्रतिस्पर्धा थप रोचक हुने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया