बुटवल । रुपन्देही क्षेत्र नम्बर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी अभियानलाई बल पुग्ने अपेक्षासहित नागरिक उन्मुक्ति पार्टीका पूर्व उम्मेदवार धनीराम चौधरी राप्रपामा प्रवेश गरेका छन् ।
गत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट ‘ढकिया’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका चौधरीले १३ हजार ९९२ सदर मत प्राप्त गरेका थिए । उनको उक्त मतपरिणामले यस क्षेत्रमा उल्लेखनीय प्रभाव पारेको थियो ।
चौधरीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रुपन्देहीमा आयोजित चुनावी कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन् । चुनावी अभियानका क्रममा रुपन्देही आएका अध्यक्ष लिङ्देनले चौधरीको प्रवेशले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
राप्रपाले चौधरीको प्रवेशपछि रुपन्देही-१ मा आफ्नो चुनावी सम्भावना अझ सुदृढ भएको दाबी गरेको छ । यस क्षेत्रमा राप्रपाबाट प्रज्वल बोहोरा उम्मेदवार रहेका छन् । उनी राप्रपाका दिवंगत नेता दिपक बोहोराका सुपुत्र हुन् ।
हाल राप्रपाले रुपन्देही-१ केन्द्रित विशेष चुनावी भेला आयोजना गरेको छ । उक्त भेलालाई अध्यक्ष लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टीका अनुसार स्थानीय तहमा संगठन विस्तार र मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै चुनावी अभियानलाई तीव्र बनाइएको छ ।
रुपन्देही-१ मा विभिन्न दलबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा चौधरीको राप्रपामा प्रवेशले चुनावी समीकरणमा थप प्रभाव पार्ने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया