काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालत मा आज पनि निरन्तर सुनुवाइ हुने भएको छ । आइतबारदेखि ‘हेर्दाहेर्दै’मा राखिएको उक्त रिटमा सोमबार (चैत २) सुनुवाइ भए पनि नसकिएपछि मंगलबार पनि निरन्तर सुनुवाइ हुन लागेको हो ।
लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध दर्ता भएको रिटमाथि न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेल को संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ अवस्थामा राखिएको हो ।
महान्यायाधिवक्ता सविता भण्डारी बराल ले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता लिन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएपछि कानुनी विवाद उत्पन्न भएको हो ।
उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले रिट दायर गरेका थिए ।
यसअघि गत पुस ३० गते महान्यायाधिवक्ता बरालले लामिछानेमाथि सहकारी ठगीसम्बन्धी मुद्दामा मात्र कारबाही अगाडि बढाउन सम्बद्ध जिल्ला सरकारी वकिलको कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन् । उक्त निर्देशनमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनमार्फत फिर्ता लिन भनिएको थियो ।


















प्रतिक्रिया