विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रसँग जोडिएको इरानको साउथ पार्समा इसराइलले आक्रमण गरेपछि इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा जवाफी हमला गरेको छ। यस आक्रमणबाट कतारलाई उल्लेख्य क्षति पुगेको बताइएको छ।
कतारको सरकारी पेट्रोलियम कम्पनीले जारी गरेको वक्तव्यअनुसार बुधबार भएको मिसाइल आक्रमणका कारण मुख्य ग्यास प्लान्टमा आगलागी भएको थियो, जसबाट ठूलो क्षति पुगेको छ। घटनापछि कतारले इरानका दुई कुटनीतिज्ञलाई निष्कासन गरेको छ।
साउथ पार्समा भएको आक्रमणपछि इरानले खाडी क्षेत्रका अन्य ऊर्जा संरचनामाथि थप विनाशकारी हमला हुन सक्ने चेतावनी दिएको छ। ईरानी सञ्चारमाध्यममा प्रकाशित बयानमा रिभोलुसनरी गार्ड्सले भनेका छन्, “इस्लामी गणराज्यको ऊर्जा संरचनामाथि आक्रमण गरेर तपाईंहरूले ठूलो गल्ती गर्नुभएको छ। यदि यस्तो कार्य दोहोरियो भने तपाईं र तपाईंका सहयोगीहरूको ऊर्जा संरचनामाथि हमला तबसम्म जारी रहनेछ, जबसम्म ती पूर्ण रूपमा नष्ट हुँदैनन्।”
इरानले कतार, साउदी अरब र यूएईमा रहेका ग्याँस प्लान्टमा आक्रमण गरेको हो । इजरायलले इरानको पार्समा गरेको आक्रमण र त्यसको बदलामा इरानले छिमेकी मुलुकमा रहेका अमेरिकी लगानीका ग्याँस एवं पेट्रोलियम प्लान्टमा प्रत्याक्रमण गरेपछि विश्वभर तनाब बढेको छ । ग्याँस र पेट्रोलियम पदार्थको संकट बढ्ने आशंकामा उल्लेख मूल्यवृद्धि भएको छ ।
रोयटर्सका अनुसार साउथ पार्समा भएको आक्रमणबारे इसराइली सेनाले कुनै टिप्पणी गरेको छैन। अमेरिकी अधिकारीहरूले भने वाशिङ्टनलाई यसबारे जानकारी रहेको तर आक्रमणमा आफूहरू संलग्न नभएको बताएका छन्।
यसैबीच साउदी अरबले आफ्नो पूर्वी क्षेत्रमा ऊर्जा संरचनालाई लक्षित गरी पठाइएका ड्रोनलाई खसालिएको जनाएको छ। त्यस्तै एक ब्यालिस्टिक मिसाइलको अवशेष रियादको दक्षिणतर्फ रहेको एक रिफाइनरी नजिक खसेको बताइएको छ।
होर्मुज जलडमरूबाट जहाज आवागमन लगभग ठप्प हुने स्थिति बनेपछि तेलको मूल्य पनि पुनः उकालो लागेको छ। अमेरिकी कच्चा तेलको प्रमुख सूचकांकमा बिहीबार तीन प्रतिशतभन्दा बढी वृद्धि भएको छ।

कतारको ऊर्जा संरचनामा ठूलो क्षति
रास लाफानस्थित कतारको सबैभन्दा ठूलो ऊर्जा प्लान्टमा मिसाइल आक्रमण भएपछि उक्त क्षेत्र खाली गराइएको छ। कतारको सरकारी कम्पनीले जारी गरेको वक्तव्यमा भनिएको छ, “आगो नियन्त्रणका लागि आपतकालीन टोली तुरुन्तै घटनास्थलमा परिचालन गरिएको छ। यस आक्रमणबाट ठूलो क्षति पुगेको छ।”
केही घण्टापछि कतारको गृह मन्त्रालयले आगो पूर्ण रूपमा नियन्त्रणमा आएको र कसैको घाइते भएको सूचना नआएको जनाएको छ।
कतार सरकारले रास लाफान औद्योगिक शहरमाथि भएको मिसाइल आक्रमणलाई राष्ट्रिय सुरक्षामाथिको प्रत्यक्ष खतरा भएको बताएको छ। कतारको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ईरानको उक्साहटपूर्ण नीति क्षेत्रीय स्थिरताका लागि खतरनाक भएको जनाएको छ।
बयानमा कतारले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र नागरिकहरूको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित रहेको पनि उल्लेख गरेको छ। विदेश मन्त्रालयले छिमेकी देशहरूमाथि आक्रमण गरेर ईरानले “सबै सीमा पार गरेको” आरोप लगाएको छ।

ईरानको साउथ पार्स ग्यास फिल्डमा हमला
यसअघि बुधबार इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग सम्बन्धित समाचार एजेन्सी ‘तस्नीम’ले ईरानको साउथ पार्स ग्यास फिल्डस्थित पेट्रोकेमिकल कम्प्लेक्समा हवाई आक्रमण भएको जानकारी दिएको थियो।
पार्स क्षेत्र विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास फिल्ड हो, जसलाई ईरान र कतारले संयुक्त रूपमा प्रयोग गर्दै आएका छन्। फार्स समाचार एजेन्सीका अनुसार तेस्रो, चौथो, पाँचौं र छैटौं चरणका केही ग्यास भण्डार तथा संरचनालाई निशाना बनाइएको थियो।
बीबीसी फारसीका अनुसार असालुयेहका गभर्नर इस्कन्दर पासालारले शत्रुको आक्रमणबाट साउथ पार्सका केही भाग प्रभावित भएको बताएका छन्।
ईरानका राष्ट्रपति मोसुद पेजेस्कियानले ऊर्जा क्षेत्रमा भएको आक्रमणको निन्दा गर्दै यसबाट अमेरिका र इसराइललाई कुनै उपलब्धि नहुने बताएका छन्। उनले यस्तो कदमले “नियन्त्रणबाहिर जाने परिणाम” निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
ऊर्जा संरचनामाथि हमला रोक्न म्याक्रोनको अपिल
फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन ले ईरान र कतारका ग्यास उत्पादन संरचनामाथि भएका आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा कतारका अमिरसँग कुराकानी गरेको बताएका छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “ऊर्जा तथा पानी आपूर्तिजस्ता नागरिक संरचनामाथि हुने आक्रमण तुरुन्त रोक्नु हाम्रो साझा हितमा छ। नागरिक जनताको आधारभूत आवश्यकतासँग जोडिएको ऊर्जा आपूर्ति सैन्य तनावबाट जोगाइनु अत्यन्त आवश्यक छ।”
खाडी क्षेत्रमा सम्बन्धमा दरार
कतारको रास लाफानलाई देशको ग्यास संरचनाको ‘क्राउन ज्वेल’ मानिन्छ, त्यसैले यस आक्रमणप्रति कतार सरकार अत्यन्त असन्तुष्ट भएको बताइएको छ।
केही दिनअघि मात्र सुरु भएको यस युद्धअघि कतार र ईरानबीच सम्बन्ध सामान्यतया राम्रो रहेको थियो। दुवै देशले साउथ पार्स ग्यास फिल्ड संयुक्त रूपमा प्रयोग गर्दै आएका थिए, जसले कतारलाई ठूलो आर्थिक समृद्धिमा पुर्याएको छ।
कतारका मन्त्रीहरू तेहरान भ्रमणमा गएका थिए र कतारले युद्धको विरोध गर्ने देशहरूमध्ये एकका रूपमा भूमिका खेलेको थियो। तर अहिले ईरानले ब्यालिस्टिक मिसाइल र विस्फोटक ड्रोनमार्फत हमला गरेपछि अरब खाडी देशहरू र इस्लामी गणराज्यबीचको विश्वास निकै कमजोर भएको विश्लेषण गरिएको छ। -बीबीसी


















प्रतिक्रिया