“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।” : नेपोलियन बोनापार्ट
इरानविरुद्ध अमेरिका र इजरायलले युद्ध सुरु गर्नुको उद्देश्य मध्यपूर्व (पश्चिम एशिया)लाई बदल्नु थियो – एक ‘खलनायक’ शासनलाई कमजोर पार्दै यसको आणविक महत्वाकांक्षालाई रोक्नु। यसको सबैभन्दा कट्टर समर्थकहरूको दृष्टिमा, यो युद्धले विश्व राजनीति पनि बदल्ने थियो। उनीहरूका अनुसार, यसले तेलको प्रवाहमाथि अमेरिकाको नियन्त्रणले चीनलाई कति कमजोर बनाउन सक्छ भन्ने देखाउने थियो। साथै, यसले अमेरिकाको सैन्य श्रेष्ठता देखाउँदै चीनले आफ्ना मित्रहरूलाई जोगाउन नचाहेको वा नसकेको स्पष्ट पार्ने थियो।
तर युद्ध सुरु भएको एक महिना बितिसक्दा यो तर्क अझै पनि गलत र अहंकारी देखिन्छ। कम्तीमा पनि बेइजिङबाट हेर्दा यस्तै देखिन्छ। द इकोनोमिस्ट ले चीनका कूटनीतिज्ञ, सल्लाहकार, विद्वान, विज्ञ तथा वर्तमान र पूर्व अधिकारीहरूसँग कुरा गरेको छ। तीमध्ये प्रायः सबैले यो युद्धलाई अमेरिकाको गम्भीर गल्तीका रूपमा हेर्छन्।
चीन किन चुपचाप बसेको छ भन्नेबारे उनीहरू भन्छन्- चिनियाँ नेताहरूले नेपोलियन बोनापार्टसँग जोडिने भनाइ बुझेका छन् : “जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।” भनिन्छ, उनले यो भनाइ अस्टरलिट्जको युद्धका बेला आफ्ना शत्रुहरूले उच्च भूभाग छोड्दै गर्दा भनेका थिए।
धेरै चिनियाँ विश्लेषकहरूका अनुसार यो युद्धले अमेरिकाको पतनलाई अझ तीव्र बनाउनेछ। उनीहरू अमेरिकी आक्रामकतालाई राष्ट्रपति शी जिनपिङले आर्थिक वृद्धिभन्दा सुरक्षामा दिएको प्राथमिकताको पुष्टि ठान्छन्। र जब शान्ति आउनेछ, त्यसले चीनका लागि नयाँ अवसरहरू सिर्जना गर्ने उनीहरूको अपेक्षा छ। यद्यपि पृष्ठभूमिमा केही चिन्ता पनि छ र सम्भावित चिनियाँ गलत मूल्यांकनको संकेत पनि।
अमेरिकाको शक्ति घट्दै गएको चिनियाँ धारणा
पहिलो कुरा, बेइजिङमा धेरैको धारणा छ कि अमेरिका आफ्नो शक्ति घट्दै गएको महसुस गर्दै इरानमाथि आक्रामक भइरहेको छ। १९औँ शताब्दीको ब्रिटेनजस्तै, अमेरिकाको विशाल सैन्य शक्ति प्रदर्शन यसको उद्देश्य र संयमको अभावसँग विरोधाभासपूर्ण देखिन्छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषज्ञहरूको सल्लाह अस्वीकार गरेका छन्। उनले कठोर धम्की दिएका छन् र यो लेख प्रकाशित हुँदै गर्दा राष्ट्रलाई सम्बोधन गर्ने तयारीमा थिए, जहाँ युद्धबाट बाहिरिने सम्भावनाको चर्चा चलिरहेको थियो। स्पष्ट रणनीतिको अभावले अमेरिकालाई असफलताको जोखिममा राखेको छ।
चिनियाँ विश्लेषकहरू आशा गर्छन् कि यो युद्धले अमेरिकाको पतनबारेको बहसलाई अझ बढाउनेछ। ट्रम्पले जमिनमा सेना पठाउने सम्भावनाबारे गरेका टिप्पणीहरूले देखाउँछन् कि कसरी एउटा गलत निर्णयले अर्को निर्णय जन्माउन सक्छ। यदि इरान अराजकतामा फस्यो वा शासन टिकिरह्यो भने, अमेरिका वर्षौंसम्म मध्यपूर्वमा संकट व्यवस्थापनमै अल्झिन सक्छ। र यदि इरानले आणविक हतियार विकास गर्न खोज्यो भने अमेरिका फेरि युद्धमा जान सक्छ।
यी सबै घटनाले अमेरिकालाई पूर्वी एसियाबाट ध्यान हटाउनेछ-जहाँ चीनको दृष्टिमा २१औँ शताब्दीको शक्ति सन्तुलन निर्धारण हुनेछ। यो युद्धले अमेरिकामाथि निर्भर देशहरूलाई पनि चिन्तित बनाउनेछ। उनीहरूका लागि अमेरिका कम भरोसायोग्य बन्न सक्छ, र महँगो ऊर्जा तथा कच्चा पदार्थका कारण उनीहरूले अमेरिकाको उतावली निर्णयको मूल्य चुकाइरहेका छन्। यसले एसियाली देशहरूलाई चीनसँग टकरावबाट जोगिन अझ सतर्क बनाउन सक्छ।
आत्मनिर्भरता रणनीतिमा चीनको विश्वास
दोस्रो, चिनियाँ अधिकारीहरूका अनुसार यो युद्धले सी जिनपिङको आत्मनिर्भरता रणनीति सही भएको प्रमाणित गरेको छ। उनले प्रविधि र कच्चा पदार्थमा आत्मनिर्भरता बढाउने नीति अपनाएका छन्, यद्यपि यसले आर्थिक वृद्धिलाई केही हदसम्म कम गरेको छ।
चीनले सम्भावित अवरोधबाट जोगिन ठूलो रणनीतिक तेल भण्डार तयार गरेको छ—करिब १.३ अर्ब ब्यारेल कच्चा तेल, जुन केही महिनाका लागि पर्याप्त मानिन्छ। साथै, उसले ऊर्जा स्रोतहरू विविधीकरण गर्दै परमाणु, सौर्य र पवन ऊर्जामा लगानी गरेको छ, जबकि घरेलु कोइला उत्पादनलाई पनि कायम राखेको छ। चीनले व्यवहारिक नीति अपनाउँदै इरानको तेल व्यापारलाई सहज बनाइरहेको छ।
यसैसँगै, सी जिनपिङले अमेरिकामाथि दबाब सिर्जना गर्न आफ्नै ‘चोकप्वाइन्ट’हरू निर्माण गरेका छन्। गत वर्ष ट्रम्पले भन्सार शुल्क बढाएपछि चीनले दुर्लभ धातु ९चबचभ भबचतजक० आपूर्ति सीमित गर्ने धम्की दिएको थियो, जुन इलेक्ट्रोनिक्स र हरित प्रविधिका लागि अत्यावश्यक हुन्छ। यद्यपि अमेरिका वैकल्पिक स्रोत खोज्दै जाँदा यो प्रभाव घट्न सक्छ। त्यसैले चीनले नयाँ दबाबका क्षेत्रहरू खोजिरहेको छ—जस्तै औषधि निर्माणका महत्त्वपूर्ण अणुहरू, केही प्रकारका चिपहरू र रसद प्रणाली।
सी जिनपिङ चीनलाई क्वान्टम कम्प्युटिङ र रोबोटिक्सजस्ता नयाँ प्रविधिमा अग्रणी बनाउन चाहन्छन्।
युद्धले सिर्जना गर्ने आर्थिक अवसर
तेस्रो, यो युद्धले नयाँ आर्थिक अवसरहरू पनि सिर्जना गर्न सक्छ। खाडी देशहरू र इरानले पुनर्निर्माणका लागि ठूलो ठेक्का दिने सम्भावना छ।
साथै, हर्मुज जलडमरूमा भविष्यमा सम्भावित अवरोधको डरले धेरै देशहरूले चिनियाँ हरित प्रविधि किन्न चाहनेछन्। चीनका सौर्य प्यानल, पवन ऊर्जा उपकरण र ब्याट्री उद्योगमा अहिले अत्यधिक उत्पादन क्षमता छ। अमेरिका कहिले न्यानो त कहिले चिसो हुने नीतिमा चलिरहेको बेला चीनको स्वार्थकेन्द्रित तर स्थिर नीति कम्तीमा विश्वसनीय देखिन सक्छ।
चीनले अमेरिकाको कमजोर अवस्थाबाट कूटनीतिक लाभ पनि लिन सक्छ। इरान युद्धले कमजोर बनेका ट्रम्प वार्तामा झुक्न सक्ने सम्भावना छ। मे महिनामा बेइजिङमा हुने सम्भावित शिखर सम्मेलनमा चीनले भन्सार शुल्क र निर्यात नियन्त्रण घटाउने सहमति खोज्न सक्छ। साथै, अमेरिकामा चिनियाँ लगानीका लागि नयाँ ढाँचा बनाउन पनि प्रयास हुन सक्छ।
आदर्श अवस्थामा, चीन चाहन्छ कि ट्रम्पले अमेरिका ताइवानको स्वतन्त्रताको विपक्षमा रहेको र शान्तिपूर्ण पुनःएकीकरणलाई समर्थन गर्ने घोषणा गरून् – जुन हेनरी किसिन्जरको पुरानो ‘रणनीतिक अस्पष्टता’ नीतिभन्दा फरक हुनेछ।
चिनियाँ आशावादसँगै लुकेको चिन्ता
यद्यपि चीनको आशावादसँगै केही चिन्ताहरू पनि छन्। चिनियाँ विज्ञहरू अमेरिकी सेनाले कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर सञ्चालनहरू समन्वय गरिरहेको देखेर चकित छन्। यही कारणले केही विश्लेषकहरूले सी जिनपिङ ताइवानमाथि आक्रमण गर्न हतारिएका छैनन् भन्ने तर्क गर्छन्। इरानको अनुभवले देखाएको छ—युद्ध अत्यन्त अनिश्चित हुन्छ।
आर्थिक चिन्ता पनि छ। यदि युद्ध लामो समयसम्म चल्यो भने चीनको निर्यात र अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव पर्न सक्छ, यद्यपि अन्य देशहरूले अझ बढी क्षति व्यहोर्न सक्छन्।
चीनको रणनीतिक कमजोरी
चीनको यथार्थवादी विश्लेषणका बाबजुद एउटा रणनीतिक अन्धोपन देखिन्छ। धेरै चिनियाँ चिन्तकहरू यस्तो सम्भावनाबारे सोच्न हिच्किचाउँछन्- यदि अमेरिका नै विश्व व्यवस्था भत्काउने ‘अव्यवस्थित शक्ति’ बनेमा के हुन्छ ?
यद्यपि चीनले पश्चिमी मूल्यहरूको आलोचना गर्छ, उसले अमेरिकाले निर्माण गरेको विश्वव्यापी नियम र व्यवस्थाबाट धेरै फाइदा उठाएको छ। अस्थिर विश्व चीनका लागि पनि सहज हुनेछैन। विश्वव्यापी अव्यवस्थाले चीनको निर्यात–आधारित आर्थिक वृद्धि कमजोर बनाउन सक्छ। समृद्धि, कठोर नियन्त्रण र चिनियाँ विशेषताको आधारमा टिकेको सत्तारूढ कम्युनिस्ट पार्टीका लागि यो ठूलो चुनौती बन्न सक्छ।
भविष्य कसको ?
अमेरिकाको पतनसँगै यस्तो अवस्था आउन सक्छ – तर त्यो अनिवार्य छैन। प्रविधि र राजनीतिक परिवर्तनका बीच अमेरिकाले इतिहासमा बारम्बार आफूलाई पुनःआविष्कार गर्ने क्षमता देखाएको छ।
त्यसको विपरीत, चीन धेरै सतर्क, वृद्ध जनसंख्या भएको र पार्टी विचारधाराले बाँधिएको देखिन्छ। अहिले सम्म, जब अमेरिकाले विश्व सुरक्षामा भूमिका कम गरेको छ, चीन त्यसको ठाउँ लिन उत्सुक देखिएको छैन।
चीनले अमेरिकाको असफलतामाथि धेरै भरोसा राखेको छ। तर भविष्य यस्तो पनि हुन सक्छ – जहाँ अमेरिका परिवर्तनलाई अँगाल्छ र चीन आफैँलाई सीमित बनाउँछ। त्यस्तो भविष्य अन्ततः अमेरिकाकै पक्षमा जान सक्छ।
– दी इकोनोमिस्टबाट

















प्रतिक्रिया