३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन



काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयले आज उक्त दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार आठ यात्रुको घटनास्थलमा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका १६ जना यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य, तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृतक सबैको सनाखत

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरस्थित बुच्चाकोटमा शुक्रबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रोशी गाउँपालिका-६ का ७३ वर्षीय मेघबहादुर तामाङ, सोही स्थानका ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङ, रोशी-७ की ३४ वर्षीया फूलमाया तामाङ, सोही स्थानकी ६० वर्षीया माया तामाङ, रोशी-८ की ६० वर्षीया प्यारीमाया तामाङ, दैलेख घर भई त्रिनेत्र दल गण भकुण्डेवेँशीमा कार्यरत नेपाली सेनाका ३० वर्षीय अमलदार बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङ्लेक गाउँपालिका-४ निवासी २२ वर्षीय सुमी तामाङको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बस नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटस्थित सेल्फीडाँडाबाट तल खसेको थियो । दुर्घटनास्थलबाट आठै जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । उनका अनुसार दुर्घटनाबारे अनुसन्धान तथा मृतकका आफन्तलाई सम्पर्क गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार  ४ : ३९ बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका