२८ असार २०८३, आइतबार | July 12, 2026

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी



काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’ जलमार्ग बन्द गर्ने घोषणा गरेको दाबी गरिएको छ । यससँगै अमेरिकाले इरानविरुद्ध थप सैन्य कारबाही सुरु गरेको जनाएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार बन्दर अब्बास, सिरिक, चाबहार, बन्दर-ए देइर र असालुयेहलगायतका बन्दरगाह क्षेत्रमा विस्फोट भएका छन् । इरानको सरकारी प्रसारण संस्था आईआरआईबीले बन्दर अब्बास र सिरिकमा तीन-तीन तथा चाबहारमा दुईवटा विस्फोट भएको जनाएको छ ।

त्यसैगरी बुशेहर प्रान्तको बन्दर-ए देइरमा पाँचवटा तथा असालुयेहमा चारवटा विस्फोटको आवाज सुनिएको दाबी गरिएको छ । यद्यपि, विस्फोटको कारण, क्षतिको अवस्था तथा मानवीय क्षतिबारे कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल एक्समार्फत इरानले गलत निर्णय गरेको टिप्पणी गरेका छन् । उनले इरानले आफ्नो कदमको मूल्य चुकाइरहेको समेत उल्लेख गरेका छन् ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले गरेको आक्रमणको जवाफस्वरूप थप सैन्य कारबाही गरिएको जनाएको छ ।

इरानले भने उक्त जहाजले स्वीकृत समुद्री मार्ग परिवर्तन गरेको तथा ट्र्याकिङ प्रणाली बन्द गरेको आरोप लगाएको छ । चिनियाँ र इरानी सञ्चारमाध्यमका अनुसार निर्धारित समुद्री मार्ग उल्लंघन गरेपछि जहाजमाथि कारबाही गरिएको दाबी गरिएको छ ।

सेन्टकमका अनुसार मिसाइल आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ भने चालक दलका एक सदस्य अझै बेपत्ता छन् ।

यस घटनासँगै खाडी क्षेत्रमा तनाव थप चुलिएको छ । यसअघि पनि ओमानको जलक्षेत्र हुँदै सञ्चालन गरिएका व्यापारिक तेल ट्यांकरमाथि आक्रमण भएको दाबी गरिएको थियो । इरानले भने आफ्नो जलक्षेत्र हुँदै जाने समुद्री मार्ग सुरक्षित रहेको बताउँदै आएको छ ।

इरानी अधिकारीहरूका अनुसार पछिल्ला अमेरिकी आक्रमणमा १७ जनाको मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन् । जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी मुलुकका सैन्य संरचनामाथि आक्रमण गरेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो घटनालाई युद्धविरामको अन्त्यका रूपमा व्याख्या गरेका छन् । उता, इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकामाथि सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् ।

यद्यपि, दुवै पक्षले मध्यस्थकर्तामार्फत संवाद जारी रहेको संकेत दिएका छन् । अमेरिकी अधिकारीहरूले इरानलाई होर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाजका लागि खुला राख्न तथा व्यापारिक जहाजमाथिका आक्रमण रोक्ने सार्वजनिक प्रतिबद्धता जनाउन आग्रह गरेका छन् ।

यसबीच इरानका नयाँ सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनेईले पदभार ग्रहण गरेपछि दिएको पहिलो सार्वजनिक सन्देशमा अमेरिका र इजरायलविरुद्ध कडा चेतावनी दिएका छन् । उनले आफ्नो देशमाथि भएको आक्रमणको जवाफ दिइने बताएका छन् ।

पछिल्ला घटनाक्रमसँगै मध्यपूर्व क्षेत्रमा सुरक्षा चुनौती र भू-राजनीतिक तनाव थप गहिरिने चिन्ता व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ८ : २४ बजे

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,

मनसुन सक्रिय : केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन