काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन वा परिवर्तन नगर्ने स्पष्ट पारेको छ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुई दिने सार्वजनिक बिदा हटाउने सम्बन्धमा कुनै गृहकार्य नभएको जानकारी दिएकी हुन्।
मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र मुलुकको आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको बताइन्। उनका अनुसार कर्मचारीको कार्य–जीवन सन्तुलन, ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययिता र आन्तरिक पर्यटन प्रवर्द्धनका दृष्टिले यो व्यवस्था प्रभावकारी देखिएको छ।
तत्कालीन समयमा इन्धन आपूर्तिमा देखिएको असहजताका कारण इन्धन खपत घटाउने र सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउने उद्देश्यले २०८२ चैत २३ गतेदेखि दुई दिने सार्वजनिक बिदाको व्यवस्था लागू गरिएको उनले स्मरण गराइन्।
मन्त्री गौतमका अनुसार बिहान ९ बजेदेखि नै सरकारी कार्यालय सञ्चालन हुने व्यवस्थाले सेवाग्राहीलाई समेत सहजता भएको छ। यसले कर्मचारीको मनोबल र कार्यक्षमतामा सकारात्मक प्रभाव पारेको तथा दुई दिने बिदाका कारण आन्तरिक पर्यटकको संख्या बढ्दा स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको उनले दाबी गरिन ।


















प्रतिक्रिया