४ आश्विन २०८३, आइतबार | September 20, 2026

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत वितरणको कामलाई थप तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ।

आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रभावित परिवारले राहतको अनुभूति गर्ने गरी राज्यको उपस्थिति प्रभावकारी बनाउन आग्रह गरेको हो।

बैठकपछि प्रवक्ता जगदीश खरेलले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणको काम भइरहेको तथा अब पुनर्स्थापना र पुनर्निर्माणको चरण सुरु हुन लागेको जानकारी सरकारमा सहभागी मन्त्री तथा पार्टी पदाधिकारीबाट बैठकमा प्राप्त भएको बताए।

रास्वपाले प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतका क्रममा कुनै पनि किसिमको कमीकमजोरी हुन नदिन सरकारलाई आग्रह गरेको छ। विशेषगरी बेपत्ताको खोजी तथा पहिचानलाई प्राथमिकतामा राख्न र पहिचान हुन नसकेका शवको डीएनए परीक्षणको प्रक्रिया शीघ्र अघि बढाउन माग गरिएको छ।

पार्टीका अनुसार अझै पाँच हजारभन्दा बढी व्यक्ति ‘मिसिङ’ अवस्थामा रहेको र कैयौँ परिवार आफन्तको अवस्थाबारे अनिश्चिततामा छन्। मृत्यु भएको वा नभएको विषयमा यथाशीघ्र कानुनी टुंगो लगाउनुपर्ने र कानुनी अड्चन भए आवश्यक कानुन संशोधन गरेर भए पनि मृत्यु प्रमाणपत्र उपलब्ध गराउनुपर्ने रास्वपाको धारणा छ।

पीडित परिवारको सहमतिमा राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यक्रम अघि बढाउन सरकारले सहजीकरणको भूमिका प्रभावकारी बनाउनुपर्ने पनि बैठकले जनाएको छ।

पार्टी-संसद्-सरकारबीच सम्बन्ध बलियो बनाउन लामिछानेको निर्देशन

बैठकमा पार्टी सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्धलाई थप सुदृढ बनाएर अघि बढ्न निर्देशन दिएका छन्।

प्रवक्ता खरेलका अनुसार सभापति लामिछानेले पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले तीनवटै पक्षबीच समन्वय र सम्बन्ध बलियो बनाउनुपर्ने बताएका थिए।

‘पार्टी सभापतिज्यूले बैठकमा पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध भएकाले यी तीनवटैबीचको सम्बन्ध बलियो बनाएर जानुपर्छ भन्ने निर्देशन दिनुभएको छ,’ खरेलले भने।

लामिछानेले पार्टीका नेता, सांसद, सरकारमा रहेका मन्त्री तथा समर्थकहरूको आचरण र अनुशासनमा समेत विशेष ध्यान दिन निर्देशन दिएको खरेलले जानकारी दिए।

मधेस अधिवेशनबारे अडिट रिपोर्ट

सचिवालय बैठकमा मधेस प्रदेशको अधिवेशनका क्रममा देखिएका आन्तरिक समस्याबारे पनि छलफल भएको छ।

सहमहामन्त्री हरि ढकाल संयोजक रहेको समितिले यस विषयमा अडिट रिपोर्ट बैठकमा प्रस्तुत गरेको र विस्तृत रिपोर्ट आगामी साता बुझाइने प्रवक्ता खरेलले जानकारी दिए।

बैठकले पार्टीको अनुशासन आयोग तथा केही विभागमा नयाँ सदस्यसमेत मनोनयन गरेको छ।

स्वर्णिम वाग्लेको भारत भ्रमणको समीक्षा

बैठकमा पार्टी उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा भएका गतिविधि तथा उपलब्धिबारे पनि समीक्षा गरिएको छ।

यसैगरी, भोटेकोशी बाढीको विपद्का कारण स्थगित भएका पार्टीका औपचारिक तथा नियमित गतिविधिलाई पुनः सञ्चालन गर्ने निर्णय सचिवालय बैठकले गरेको छ।

रास्वपाले विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारको समन्वयात्मक भूमिका आवश्यक रहेको बताउँदै प्रभावित परिवारलाई तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ४ : १३ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल