काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सविरुद्ध १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएको हो ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३४ रन बनाए । उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे । निरोशन डिकवेलाले २७, दिलीप नाथले २५, ओपनर आसिफ शेखले २१, रुबेन ट्रम्पेलम्यानले १५ र समिम हुसेनले १३ रन बनाए ।
जनकपुरका विशाल सुस्लिङ र राहुल यादवले समान दुई विकेट लिए । ललित राजवंशी, कप्तान हर्मित सिंह र अभिषेक तिवारीले एक–एक विकेट लिए ।
ललित राजवंशीले जारी सिजनमा पहिलो बलमै विकेट लिने अर्थात् ‘गोल्डेन डक’ गराउने पहिलो बलर बने । उनले लुम्बिनीका डार्सी सर्टलाई पहिलो ओभरको पहिलो बलमा राहुल यादवबाट क्याच गराउँदै पवेलियन फर्काएका थिए । डार्सीले ललितको बलमा चौका प्रहार गर्ने प्रयास गर्दा राहुलको हातमा क्याच दिएका थिए ।
तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी जित निकाल्दै अंकको दूरी बढाउने लक्ष्यमा छ । पाँच अंक जोडेको लुम्बिनीले तीन खेल खेल्दा दुई जित निकालेको छ । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
यता, जनकपुर पनि जित निकाल्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा छ । चार अंकसहित तालिकाको चौथो स्थानमा रहेको जनकपुरले चार खेलमा दुई जित र दुई हार बेहोरेको छ ।
















प्रतिक्रिया