चितवन । अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडकखण्डमा आज रातिको समयमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार जारी गरेको सूचनाअनुसार बिहीबार बेलुका ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिएको हो।
जल तथा मौसम विज्ञान विभागले चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा आगामी केही दिनसम्म अति भारी वर्षा हुनसक्ने पूर्वानुमानसहित सूचना जारी गरेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले यस्तो निर्णय गरेको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामा सम्भावित विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। साथै जोखिमयुक्त स्थानमा नजान तथा सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण रूपमा पालना गर्न अनुरोध गरिएको छ।
चितवन र आसपासका क्षेत्रमा पछिल्लो समय निरन्तर वर्षा भइरहेको र भारी वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो तथा सडक अवरुद्ध हुने जोखिम रहने भएकाले प्रशासनले यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।
















प्रतिक्रिया