काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै छन् ।
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए । उनले महासभालाई सम्बोधन गर्दै नेपालका प्राथमिकता, जलवायु संकट तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा नेपालको धारणा प्रस्तुत गरेका थिए ।
महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी-त्रिशूली बाढीलाई जलवायु परिवर्तनका कारण बढ्दो संकटको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण जोखिम बढ्दै गएको उल्लेख गर्दै उनले जलवायु संकटमा नेपालको योगदान न्यून भए पनि त्यसको ठूलो असर नेपालले व्यहोर्नुपरेको बताएका थिए ।
प्रधानमन्त्री शाहले ‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै हिमनदी पग्लिने, पहिरो तथा बाढीजस्ता जोखिम नेपालसँगै चीन र भारतसम्म फैलिन सक्ने बताएका थिए । उनले हिमाली क्षेत्रको जलवायु संकटलाई सम्बोधन गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
उनले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित गर्न नहुने धारणा राख्दै जलवायु संकटको लागत कसले व्यहोर्ने र निर्णय प्रक्रियामा कसको आवाज सुनिने भन्ने विषय महत्वपूर्ण रहेको बताएका थिए ।
प्रधानमन्त्री शाहले हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्व दिनुपर्ने बताएका थिए ।
महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गरेका थिए । ती भेटमा द्विपक्षीय सम्बन्ध, जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा आपसी सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।
















प्रतिक्रिया