२६ आश्विन २०८३, सोमबार | October 12, 2026

भूगर्भविद्को टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु



म्याग्दी । भूगर्भविद्हरूको टोलीले शनिबारदेखि म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन थालेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडासहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो ।

टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।

‘नगरपालिकाको सिफारिस र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार शुक्रबार बेनीमा आउनुभएका भूगर्भविद् र प्राविधिकको टोलीले आजदेखि नै अध्ययन सुरु गर्नुभएको छ’, उनले भने, ‘बेनी बजारसहित नगरपालिका र जिल्लाका सबै जोखिमयुक्त क्षेत्रको प्राविधिक अध्ययन गर्ने योजना रहेको छ ।’

टोलीले दिने सिफारिसको आधारमा पहिरो प्रभावित क्षेत्रमा अल्पकालीन र दीर्घकालीन रोकथामका काम गरिने नगरप्रमुख केसीले बताए ।

पहिरोको अवस्था र माटोको बनोटको अवस्था आँकलन गर्न ड्रोनबाट तस्बिर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुङ्गा तथा माटोका नमूना सङ्कलन गरी वैज्ञानिक अध्ययन अघि बढाइने भूगर्भविद् एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक चम्पकबाबु सिलवालले बताए ।

‘विभिन्न विधि र उपकरणको प्रयोगका साथै स्थलगत निरीक्षण गरेर पहिरो गएका क्षेत्रहरूको अध्ययन थालेका छौँ’, उनले भने, ‘काठमाडौंबाट आएका चार, स्थानीय तहका प्राविधिक र भूगर्भविज्ञान अध्ययन गरेका स्थानीय जनशक्तिको तीन वटा समूह बनाएर पहिरोको अध्ययन थालेका छौँ ।’

भूगर्भविद्को टोलीले स्थलगत अध्ययन तथा सङ्कलित नमुनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ ।

गत हप्ताको वर्षापछिको पहिरो र बाढीका कारण म्याग्दीमा सात जनाको मृत्य, दुई जना बेपत्ता, २०० भन्दा बढी घरगोठमा पूर्ण क्षति र दर्जनौँ गाउँका बासिन्दा विस्थापित भएका छन् ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले शुक्रबारसम्म १११ घरमा पूर्ण क्षति, ९३ घरमा आंशिक क्षति र ३४२ घर जोखिममा परेका जानकारी दिनुभयो । यो विवरण अझै थपिन सक्ने उनले बताए ।

असोज ८ देखि ११ गतेसम्मको झरिपछिको बाढी पहिरोका कारण म्याग्दीका मुख्य सडक, विद्युत् र सञ्चार सुविधा अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ५ : ३३ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई