काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । अब मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु गर्ने तयारी गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
२९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ८०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन् । सहमतिको प्रयाससमेत भइरहेकाले तत्काल मतदान प्रक्रिया अघि नबढाउने निर्णय भएको हो ।
यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । तर मतपत्र छपाइलगायतका प्राविधिक तथा तयारीसम्बन्धी काम पूरा नभएपछि मतदानको समय पटक–पटक सारिएको थियो । सुरुमा बिहान ७ बजेका लागि तोकिएको समय १० बजे, त्यसपछि दिउँसो १ बजे हुँदै २ बजेसम्म सारिएको थियो ।
मतदानका लागि लाइनमा बसेका महाधिवेशन प्रतिनिधिहरूलाई समेत बिहीबार मतदान नहुनेबारे निर्वाचन समितिले जानकारी गराइसकेको छ ।
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि देशभरबाट आएका ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । उनीहरूले सभापतिसहित विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्नेछन् ।
निर्वाचन समितिका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने गरी आवश्यक तयारी भइरहेको छ ।
















प्रतिक्रिया