२ मंसिर २०८३, बुधबार | November 18, 2026

ओलीको आक्रोश : म, देउवा र प्रचण्डलाई आईजीपीले थुनिदिने रे ? के हामी मजाकका पात्र हौं ?



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीको अभिव्यक्तिप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। आफू, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुनिदिने भन्ने अभिव्यक्ति दिएको भन्दै ओलीले प्रहरी प्रमुखको बोली र व्यवहारमाथि प्रश्न उठाएका हुन्।

बुधबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आईजीपी नियुक्त भएलगत्तै आफूहरूलाई पक्राउ गरेर थुन्ने अभिव्यक्ति दिएको सुनेको भन्दै यस्तो अभिव्यक्ति होसमा बोलेको हो कि बेहोसमा भनेर प्रश्न गरे।

‘आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा बोलेको सुन्छु म। आईजीपीको बोली यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु। केपी ओली, शेरबहादुर, प्रचण्ड मजाकका पात्र हुन् यिनका ?’ ओलीले भने।

उनले आफूहरू राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको स्मरण गराउँदै प्रहरी प्रशासनले आफूहरूलाई मजाकको पात्र ठान्न नसक्ने बताए।

‘हामी राणा शासनका विरुद्ध लडेर आएका हौँ, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौँ, निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएका हौँ। अनि ६ महिने जागिर खाने एउटा सिपाहीले भन्छ, फलानालाई थुन्दिन्छु। ठट्टा मजाक गरेको हो ?’ उनले प्रश्न गरे।

प्रमाण भेटिए आफूहरूलाई पक्राउ गरेर थुन्न चुनौती दिँदै ओलीले कानुनअनुसार कारबाही गर्न कसैले रोक्न नसक्ने आशय व्यक्त गरे। ‘थुने हुन्छ नि समातेर। जो आउँछ थुन्दिन्छु, क्या हो यो ? हामी मजाकका पात्र हौँ ? प्रमाण भेटे अरे, प्रमाण भेटे उनी पनि थुनिन्छन् होला नि, अरू पनि थुनिन्छन् होला नि,’ उनले भने।

यसक्रममा ओलीले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिमाथि पनि प्रश्न उठाए। गृहमन्त्रीले फाइल खुल्दै गरेको र सबै थुनिने बताएको प्रसंग उल्लेख गर्दै उनले कसलाई लक्षित गरेर यस्तो अभिव्यक्ति दिइएको हो भन्ने प्रश्न गरे।

‘गृहमन्त्रीले फाइल खोल्दै छु, पर्खनुस्, सबै थुनिन्छ, एकसे एक थुनिन्छ भनेका छन्। कसलाई भनेको हो ? सबै थुनिन्छन् भने उनी र को को बाँच्छन् त नेपालमा ?’ ओलीले भने। उनले यस्ता गैरजिम्मेवार अभिव्यक्तिले समाजमा आतंक र भयको वातावरण सिर्जना गर्ने टिप्पणी गरे।

सरकारमाथि अधिनायकवादी शासनको आरोप

राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले वर्तमान सरकारको राजनीतिक कार्यशैली र समग्र अवस्थामाथि पनि कडा आलोचना गरे। गत वर्ष भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिलाई संवैधानिक प्रक्रियामार्फत वैधता दिन फागुन २१ गते निर्वाचनको मञ्चन गरिएको उनको आरोप थियो।

उनले गत वर्षका घटनालाई अनधिकृत, हिंसात्मक, आतंककारी र अलोकतान्त्रिक गतिविधिको संज्ञा दिँदै त्यस्ता घटनाबाट लोकतन्त्र र संविधानमाथि प्रहार भएको दाबी गरे।

‘गत वर्षजस्तो अनधिकृत, हिंसात्मक, आतंककारी, अलोकतान्त्रिक तरिकाबाट सत्ता उलटफेर गर्ने, आगजनी, लुटपाट, तोडफोडबाट लोकतन्त्र मास्ने, संविधान मास्ने र त्यसपछि ती क्रियाकलापहरूलाई मान्यता दिने खालका क्रियाकलाप नेपालको इतिहासमै भएका थिएनन्। त्यसलाई मान्यता दिनका लागि एउटा संवैधानिक बाटो निर्वाचनको मञ्चन पनि गरियो,’ उनले भने।

ओलीले अहिले मुलुक राजनीतिक रूपमा आतंकको छायामुनि रहेको टिप्पणी गर्दै सरकार स्वेच्छाचारी शासनतर्फ अघि बढेको आरोप लगाए।

‘देश भय र त्रासको वातावरणमुनि, असंवैधानिक, गैरकानुनी क्रियाकलापहरूको पेलाइमा, स्वेच्छाचारी शासनको अन्तर्गत चलिरहेको छ। फाँसीवादतर्फ दमनकारी, प्रतिशोधी व्यवहार अगाडि बढिरहेको छ। आर्थिक हिसाबले देश लगातार अधोगतितर्फ गइरहेको छ,’ ओलीले भने।

राष्ट्रिय भेलामा ओलीले प्रहरी नेतृत्वको अभिव्यक्तिदेखि सरकारको राजनीतिक कार्यशैली र मुलुकको समग्र अवस्थासम्मका विषय उठाउँदै सरकारप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  १ : ०५ बजे

Your email address will not be published.

प्रधानमन्त्री बालेन्द्र र भारतीय राजदूत दलेलाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रहकाठमाडौ ।

ओलीको आक्रोश : म, देउवा र प्रचण्डलाई आईजीपीले थुनिदिने रे ? के हामी मजाकका पात्र हौं ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरुकाठमाडौ । स्थानीय निर्वाचनको तयारी र

तीन आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडियो

तीन आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडियो ।बाँके । अलपत्र आयोजनाको