काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई मानसिक र सांगठनिक रूपमा तयार रहन निर्देशन दिएका छन्।
अखिल नेपाल किसान महासंघको केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर पार्टीले आन्दोलनको तयारी गर्नुपर्ने बताएका हुन्।
उनले आन्दोलन सधैँ लामो तयारी र पूर्वनिर्धारित योजनाअनुसार मात्रै नहुने भन्दै परिस्थिति असह्य भएपछि तत्कालै आन्दोलन सुरु हुन सक्ने बताए।
‘आन्दोलनको मानसिकताका साथ साथीहरू सबै हरदम तयार रहनू। आन्दोलन सधैँ लामो तयारी गरेर हुन्छ भन्न सकिँदैन। असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ,’ ओलीले भने।
उनले विश्व राजनीतिक इतिहासका विभिन्न घटनाको उदाहरण दिँदै कतै विद्रोह, कतै निर्वाचन र कतै उपद्रवका माध्यमबाट राजनीतिक परिवर्तन हुने गरेको उल्लेख गरे।
‘कहीँ विद्रोहबाट, कहीँ निर्वाचनबाट, कहीँ जनविद्रोहबाट त कहीँ उपद्रवबाट उलटफेर हुँदो रहेछ भन्ने हामीले हेरेका छौँ। कुनै पनि समयमा आन्दोलनमा जानुपर्ने हुन सक्छ। त्यसकारण साथीहरू त्यसको तयारीमा जुट्नुहोला,’ उनले भने।
अध्यक्ष ओलीले एमालेले स्थापनाकालदेखि नै विभिन्न राजनीतिक चुनौती र प्रतिकूल परिस्थितिको सामना गर्दै आएको दाबी गरे। पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको उल्लेख गर्दै उनले झापाबाट पार्टी पुनर्गठन गरेर अहिलेको अवस्थामा आइपुगेको बताए।
‘हामीलाई उहिलेदेखि नै सिध्याउन खोजिएको हो। पञ्चायतकालमा, राजा महेन्द्रको शासनकालमा पनि हामीलाई सिध्याउन खोजियो। त्यही कारण हामीले झापामा पार्टीलाई पुनर्गठन गरेर आज यहाँसम्म ल्याइपुर्याएका छौँ,’ उनले भने।
उनले आफूहरू कठिन परिस्थितिसँग जुध्दै आएको उल्लेख गर्दै कसैले बहिष्कार गर्ने वा राजनीतिक रूपमा एक्ल्याउने प्रयास गरे पनि त्यसको कुनै अर्थ नरहने बताए।
‘हामीलाई कसैले बहिष्कार गर्छ कि गर्दैन, मतलब पनि छैन। नेपालको सबैभन्दा मजबुत, देशभक्त र व्यापक सुदृढ शक्ति एमाले हो,’ ओलीले दाबी गरे।
उनले एमालेले विगतदेखि नै प्रतिकूल परिस्थितिमा संघर्ष गर्दै आएको बताउँदै हिमालको जाडो र तराईको गर्मीमा समेत तपस्या गर्ने तपस्वीसँग पार्टीको संघर्षलाई तुलना गरे।
यसैबीच, अध्यक्ष ओलीले नागरिकमा बढ्दै गएको बेचैनी र निराशालाई सम्बोधन गर्न एमाले वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा अघि बढ्नुपर्ने बताए।
उनले पार्टीको केन्द्रीय कमिटीले आगामी कार्यभारका रूपमा आवश्यकताअनुसार आन्दोलन गर्ने र निर्वाचनको तयारी गर्ने विषयलाई अघि सारेको उल्लेख गरे। तर, निर्वाचनलाई मात्रै केन्द्रमा राखेर पार्टी निर्माण गर्नेभन्दा पार्टीलाई थप सुदृढ बनाएर निर्वाचनमा सहभागी हुनुपर्नेमा उनको जोड थियो।
‘हामीले पार्टी बनाएर मात्रै निर्वाचनमा जाने होइन, पार्टी लिएर निर्वाचनमा जानुपर्छ,’ ओलीको भनाइ थियो।
उनको अभिव्यक्तिले एमालेले आगामी राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आन्दोलन र निर्वाचन दुवैलाई आफ्नो राजनीतिक कार्यभारका रूपमा अघि बढाउन खोजेको संकेत गरेको छ।
















प्रतिक्रिया