काठमाडौं । डाविड मालानले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको हो । चितवनका लागि मालानले सर्वाधिक ७१ रन बनाउँदै अविजित रहे ।
ओपनर कमिल मिशारा दोस्रो ओभरमै व्यक्तिगत ४ रनमा आउट भएपछि तेस्रो क्रममा ब्याटिङ गर्न आएका मालानले एक छेउ सम्हाल्दै अन्तिमसम्म ब्याटिङ गरे । उनले ५१ बलको सामना गर्दै ९ चौका र २ छक्काको मद्दतमा ७१ रन बनाए ।
मालानले सातौँ विकेटका लागि सलाउद्दिन खानसँग ३१ बलमा ४० रनको महत्त्वपूर्ण साझेदारी गरे । आठौँ नम्बरमा ब्याटिङ गर्न आएका खानले १६ बलमा एक छक्कासहित १८ रन बनाए । यस्तै, कमल सिंह ऐरीले ८ बलमा एक छक्काको मद्दतमा १० रन जोडे ।
चितवनका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । कमिल मिशारा ४, देव खनाल ६, कप्तान रवि बोपारा १, कुशल मल्ल १, विवेक यादव ३ र उसामा मिर २ रनमा आउट भए । रिजन ढकालले ४ रन बनाए भने उनी अन्तिम बलमा रनआउट भए ।
सुदूरपश्चिमका लागि स्कट कुगुलेइनले सर्वाधिक ३ विकेट लिए । थरिन्दु रत्नायकेले २ विकेट लिँदा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान एक-एक विकेट हात पारे ।
अब १३४ रनको लक्ष्य पछ्याउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेशका लागि मैदानमा उत्रनेछ ।
















प्रतिक्रिया