२३ बैशाख २०८१, आइतबार | May 5, 2024

प्रतिनिधि सभाको कार्यकाल नै सकिएपछि महाअभियोग प्रस्ताव के हुन्छ ?



काठमाडौं । सरकारले प्रतिनिधिसभाको कार्यकाल नै सकिएपछि महाअभियोग प्रस्ताव के हुन्छ भन्ने विषयमा कानुनविद्सँग छलफल सुरु गरेको छ । प्रमुख विपक्षी नेकपा एमालेलगायतका दलहरुले पनि कानुनविदसँग राय लिएका छन् ।

संविधानको धारा ११ (१०) मा कार्यकाल सकिएपछि प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेका विधेयक निष्क्रिय हुने व्यवस्था छ ।

संविधानको धारा ११ (१०) मा उल्लेख छ, ‘कुनै विधेयक बिचाराधीन रहेको अवस्थामा सदनको अधिवेशनको अन्त्य भए पनि त्यस्तो विधेयकमाथि आगामी अधिवेशनमा कारबाही हुन सक्नेछ । तर, कुनै विधेयक प्रतिनिधिसभामा प्रस्तुत भई बिचाराधीन रहेको वा प्रतिनिधिसभामा पारित भई राष्ट्रिय सभामा बिचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ ।’

विधेयक निष्क्रिय हुन्छ भने महाअभियोग प्रस्ताव पनि निष्क्रिय हुन्छ भन्ने एकथरीको मत छ । संविधान र प्रतिनिधिसभा नियमावलीले पनि महाअभियोग दर्ता हुँदाको प्रतिनिधिसभाको कार्यकाल नै सकियो भने के हुन्छ ? भन्ने विषयमा प्रष्ट केही बोलेको छैन ।

संविधानविद् पुर्णमान शाक्य कार्यकाल सकिएर प्रतिनिधिसभामा नयाँ सदस्यहरु आएपछि पनि महाअभियोग प्रस्तावमाथि छलफल र निर्णय हुन सक्ने बताउँछन् । उनका अनुसार प्रतिनिधिसभाको कार्यकाल सकिँदैमा महाअभियोग प्रस्ताव निष्क्रिय हुँदैन ।

‘महाअभियोग अर्धन्यायिक विषय हो । यसकारण प्रतिनिधिसभाको कार्यकाल सकिएपछि पनि महाअभियोग निष्क्रिय हुँदैन । महाअभियोग सिफारिस समितिले काम गर्छ । काम नसकिए चुनावपछि आउने संसदले फेरि बनाउने महाअभियोग सिफारिस समितिले काम गर्छ र टुंगो लगाउँछ’ उनले भने ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) पनि प्रतिनिधिसभाको कार्यकाल सकिँदैमा महाअभियोग निष्क्रिय नहुने बताउँछन् । बरु प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुने उनको भनाई छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सो महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाव दिइरहेका बेला कानुनमन्त्री बन्दीले बजेट छलफलका कारण महाअभियोग प्रस्ताव छलफलमा ढिलाइ भएको दावी गरेका छन् । ‘संसदको बजेट पारित गराउनुपर्ने पहिलो दायित्व थियो । अब त्यो पास भइसकेको छ । बजेट पास भइसकेपछि बाँकी रहेको विधेयकहरु आउँदैछ । साथसाथै महाअभियोगलाई पनि छिट्टै हामी संसदमा छलफल गराउँदैछौं’ उनले भने ।

कानुनमन्त्री बन्दीका अनुसार संसदमा छलफल गराउने विषयमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा छलफल पनि चलिराखेको छ । उनका अनुसार प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदको यसै अधिवेशनमा छलफल भएर टुंगो लगाउने सरकारको तयारी छ ।

उनी भन्छन्, ‘यही अधिवेशनमा त्यो छलफल भएर उहाँविरुद्ध लगाएको आरोपहरु के-के हुन्, त्यो आरोपसँग सम्बद्ध प्रमाणहरु के–के हुन् ? त्यसबारे संसदमा व्यापक छलफल हुन्छ ।’

जबराविरुद्ध १ फागुन २०७८ मा पाँच दलीय सत्तागठबन्धनमा आवद्ध ९८ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । दर्तालगत्तै महाअभियोग सिफारिस समिति पनि गठन भएन । प्रश्न उठेपछि प्रतिनिधिसभाले २२ फागुन २०७८ मा ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो । तर, हालसम्म सिफारिस समितिलाई जबराविरुद्धको महाअभियोगमाथि अध्ययन गर्ने अधिकार दिइएकाे छैन ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ९ : ४१ बजे

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन