काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशका विभिन्न भागमा मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर रहेको छ । जसले गर्दा देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानमा र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ । देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागको आकलन छ । बाढी र पहिरो आउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया