नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा ताकिएको लक्ष्यको ७४ दशमलव ६३ प्रतिशत मात्र सङ्कलन गर्न सकेको छ । भन्सार विभागले गत आव २०८१/८२ मा २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार रुपियाँ राजश्व सङ्कलनको लक्ष्य तोकेकोमा ७४.६३ प्रतिशत मात्र राजश्व सङ्कलन गर्न सकेको हो ।
नेपालगन्जमा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि लागत बढेको भन्दै केही मालबाहक ट्रक लगायतका सवारी साधनहरूले नाका परिवर्तन गरेपछि राजश्व सङ्कलन लक्ष्य अनुसार सङ्कलन हुन नसकेको भन्सार कार्यालय नेपालगन्जले जनाएको छ । नेपालगन्ज भन्सार कार्यालयमा सङ्कलन हुने राजश्वको करिब ५० प्रतिशत रकम पेट्रोलियम पदार्थको आयातबाट मात्रै हुने गरेको छ ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकृत पवित्र कुमार खड्काका अनुसार नेपालगन्ज भन्सारबाट गत आवमा २० अर्ब २८ करोड ५१ लाख ८१ हजार रुपियाँ राजश्व सङ्कलन भएको छ । आव २०८०/८१ मा १८ अर्व १५ करोड ७२ लाख ३३ हजार रुपियाँ राजश्व सङ्कलन भएकोमा आव २०८०र८१ भन्दा २०८१/८२ मा दुई अर्व १२ करोड रुपियाँ बढी राजश्व सङ्कलन भएको सूचना अधिकृत खड्काले बताए ।
नेपालगन्ज भन्सार कार्यालयबाट इन्धन, चामल, खाद्यान्न, फलाम लगायतका वस्तुको आयातबाट बढी राजश्व सङ्कलन हुने गरेको भन्सार कार्यालयको तथ्याङ्क रहेको छ । नेपालगन्ज नाकाबाट जडिबुटी लगायतका सामाग्रीको निकासी समेत हुने गरेको छ ।


















प्रतिक्रिया