काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गठन गरेको छानबिन आयोग आफूहरूलाई स्वीकार्य नहुने स्पष्ट चेतावनी दिएका छन्।
भक्तपुरको गुण्डुमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग र त्यसको प्रतिवेदन एमाले र नेपाली जनताका लागि मान्य नहुने बताए।
‘तपाईंहरूले प्रतिवेदन लेख्नुस्, बुझाउनुस्, फैसला गर्नुस् — एमालेलाई मान्य छैन, नेपाली जनतालाई मान्य छैन,’ ओलीले भने, ‘हामी मान्दैनौँ, जे गर्नुछ गर्नुस्।’
ओलीले आफूलाई लक्षित गरी ‘ओलीलाई थुन्नुपर्छ’ भन्ने सोचका आधारमा आयोग बनाइएको आरोप लगाए। उनका अनुसार सरकार एउटा विशेष उद्देश्यका साथ काम गरिरहेको छ, जसले लोकतान्त्रिक मर्यादालाई कमजोर बनाएको छ।
‘यो सरकार नेपालीको होइन, अरू कसको हो थाहा छैन,’ उनले प्रश्न गरे, ‘पासपोर्ट रोक्ने रे, मैले काठमाडौं छोड्न नपाउने रे – यो सडक तमासा नभए के हो ?’
गृहमन्त्री ओमप्रकाश अर्यालप्रति कटाक्ष गर्दै उनले भने, ‘गृहमन्त्रीबारे त मैले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ। गृहमन्त्री बाबुलाई म सल्लाह दिन्छु- धेरै नउत्ताउलिन, नचम्किन। राजनीति र देश चलाउने कुरा ठट्टा होइन।’
ओलीले वर्तमान सरकार संविधान अनुसार नभई ‘बलमिच्याँइले’ बनेको आरोप लगाए। उनका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले शर्त राखेर मात्रै शपथ लिएकी हुन्।
‘देशमा अहिले असामान्य अवस्था छ,’ उनले भने, ‘किनभने यो सरकार संविधान अनुसार होइन, बलमिच्याँइले बनेको हो। प्रधानमन्त्री बन्नका लागि शर्त राखेर शपथ लिनु लोकतन्त्रको अपमान हो।’
उनले संसद् भंगको विषयमा पनि टिप्पणी गर्दै भने, ‘प्रधानमन्त्री बन्नका लागि संसद् भंगको सिफारिस गर्ने शर्त राखियो। संसद् भंग नगरे देशमा जेनजीले आगो बाल्छ भनेर चेतावनी दिइयो।’
ओलीले पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशले कुनै पनि सरकारी पद धारण गर्न नपाउने संवैधानिक प्रावधान स्मरण गराउँदै सुशीला कार्कीको प्रधानमन्त्री नियुक्तिलाई असंवैधानिक करार दिए।
‘संविधानले स्पष्ट भन्छ- पूर्वप्रधानन्यायाधीशले सरकारी पद लिन सक्दैन,’ उनले भने, ‘तर उहाँ प्रधानमन्त्री बन्नका लागि २३ र २४ गते सडकमा उत्रनुभयो।’
ओलीले कार्कीको सडक प्रदर्शन र प्रधानमन्त्री पद ग्रहणबीचको सम्बन्ध ‘राजनीतिक नाटक’ भएको आरोप लगाउँदै भने, ‘उहाँ सर्वोच्चको व्याख्या गरेर आउनुभएको व्यक्ति हुन्, त्यसैले संविधानको उल्लंघन झनै गम्भीर छ।’


















प्रतिक्रिया