काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध लड्न सहयोग गर्ने घोषणा गरेका छन् । आइतबार बिहान उनी मनोहरा सुकुम्वासी बस्ती पुगेका थिए, जहाँ उपस्थित स्थानीयहरूसँग उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नै अभियानमा समर्थन जनाउन आग्रह गरे ।
त्यहाँ उपस्थित भीडलाई सम्बोधन गर्दै प्रसाईंले बालेन शाह र उनका सहकर्मीहरूलाई भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाए । उनले भिक्टर पौडेलले बालेनसँग मिलेर बब्लु गुप्तालाई मन्त्री बनाउन दुई करोड रुपैयाँ लिएको दाबी गरे ।
दलहरूले सुकुम्वासीहरूलाई केवल ‘भोट बैंक’का रूपमा प्रयोग गरेको आरोप लगाउँदै प्रसाईंले भने, “म भोट माग्न आएको होइन, सबै सुकुम्वासीलाई पक्की घर बनाउन सहयोग गर्न आएको हुँ ।” उनले सबै राजनीतिक दल र मेयर बालेन शाहलाई “ठेगान लगाउने” चेतावनीसमेत दिए ।
यसैबीच, काठमाडौं महानगरपालिकाले सुकुम्वासी बस्ती खाली गर्न दिएको एक साताको ‘अल्टिमेटम’ आइतबार सकिँदैछ । अल्टिमेटम समाप्त भएपछि महानगरले बस्ती खाली गराउने तयारी गरेको छ ।


















प्रतिक्रिया