बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति बुटवलमा क्रियाशील राजनीतिक दलहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै यहाँका १२ वटा राजनीतिक दलहरूले सामाजिक, जातीय तथा धार्मिक सद्भाव र शान्ति कायम राख्न सम्पूर्ण नागरिकहरूसँग अपिल गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “कुनै पनि प्रकारका हिंसा, द्वेष, जातीय वा साम्प्रदायिक तनाव सिर्जना गर्ने गतिविधि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैनन् ।” दलहरूले सम्पूर्ण पक्षलाई संयमता अपनाउन, कानुनको सम्मान गर्न र आपसी सद्भाव कायम राख्न हार्दिक अनुरोध गरेका छन् । साथै, घटनाको सत्यतथ्य, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीमाथि कानुन बमोजिम कडा कारबाही गर्न दलहरूले सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।
बुटवल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सहर भएको स्मरण गराउँदै विज्ञप्तिमा यहाँको सामाजिक एकता र सद्भावलाई अझ सुदृढ बनाउन सबै राजनीतिक दलले जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। “सद्भाव, सहिष्णुता र एकता नै हाम्रो साझा शक्ति हो,” विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तीमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका बुटवल सभापति राजेश्वर पाण्डे (राजन), काँग्रेस उपसभापति ज्योति भण्डारी, नेकपा एमालेका अध्यक्ष शोभाकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक महेन्द्र भुसाल, राप्रपा अध्यक्ष लक्ष्मण प्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका सचिव गंगालाल सापकोटा, नेपाल कम्युनिष्ट पार्टीका संयोजक दिपक पौडेल, नेकपा माओवादीका ईन्चार्ज विष्णु प्रसाद बेलवासे, क्रान्तिकारी कम्युनिष्ट पार्टीका संयोजक मान बहादुर कुँवर, प्रगतिशिल लोकतान्त्रिक पार्टीका कर्ण भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष दीपक गुरुङ र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का प्रतिनिधि तिलक गिरीले हस्ताक्षर गरेका छन् ।

















प्रतिक्रिया