काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशका विभिन्न क्षेत्रमा अविरल वर्षासँगै बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङको जोखिम बढेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमार्फत विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले विपद्मा परी घाइते भएका पाँच जनाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।
असोज ८ गतेदेखि आइतबारसम्मको विवरणअनुसार चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा २१ जनाको मृत्यु भएको शाहले बताएका छन् ।
उनले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गर्दै संकटमा परे शुल्क नलाग्ने १२३४ नम्बरमा सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।
प्रधानमन्त्री शाहका अनुसार बाढी, पहिरो, डुबान र चट्याङका कारण देशभर ४३९ वटा मनसुनजन्य घटना भएका छन् । विपद्मा परी पाँच जना अझै बेपत्ता रहेको र मनाङमा हिमपहिरोमा मानिस बेपत्ता भएको सूचना प्राप्त भएकाले खोजी तथा विवरण सङ्कलन भइरहेको उनले बताएका छन् ।
विपद्का कारण गाउँदेखि सहरसम्म डुबानमा परेका छन् भने सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीलगायतका पूर्वाधारमा क्षति पुगेको छ । बाढीमा फसेका नागरिक तथा पशुचौपायाको उद्धार, बेपत्ताको खोजी र प्रभावित परिवारको व्यवस्थापनमा सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्री शाहले बताएका छन् ।
उनका अनुसार बाढीपहिरो प्रभावित परिवारका लागि स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको व्यवस्था गरिएको छ । नागरिकलाई पूर्वसूचना दिन तथा सुरक्षित रहन आग्रह गर्न सुरक्षाकर्मीले विभिन्न क्षेत्रमा माइकिङसमेत गरिरहेका छन् ।
बाढीका कारण नारायणी नदीमा क्रुजसिप बगेर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ । त्यस्तै पृथ्वी राजमार्ग, बिपी राजमार्ग, कान्ति लोकमार्गसहित काठमाडौँ उपत्यका जोड्ने तथा अन्य विभिन्न सडक बाढी र पहिरोबाट प्रभावित भएका छन् ।
भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका सडकमा पुनः क्षति पुगेको तथा कालीगण्डकीको पक्की पुलसमेत बगेको शाहले बताएका छन् । क्षतिग्रस्त सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सरकार तीव्र रूपमा काम गरिरहेको उनको भनाइ छ ।
बाढीका कारण कालीगण्डकी करिडोर, मर्स्याङ्दी र सेती–मादी करिडोरलगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको छ । प्रसारण लाइनका टावर ढलेका कारण ३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजना पूर्ण रूपमा बन्द भएका छन् ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै थप ६९५.२ मेगावाट उत्पादन क्षमता भएका आयोजनाको उत्पादन सुरक्षात्मक उपायस्वरूप बन्द गरिएको प्रधानमन्त्री शाहले बताएका छन् । विद्युत् आपूर्ति पुनःस्थापना गर्न प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
ठूला नदीमा पानीको बहाव बढेपछि केही क्षेत्रमा आवागमनसमेत रोकिएको छ । महाकाली नदीको जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ । सेती, नारायणी र कमला नदीमा समेत पानीको सतह बढेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ ।
प्रधानमन्त्री शाहले विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्ने कार्यमाथि सरकारले निगरानी बढाएको बताएका छन् । संकटका बेला पीडितलाई थप पीडा दिने गतिविधि नगर्नसमेत उनले आग्रह गरेका छन् ।
उनका अनुसार मौसम पूर्वानुमानका आधारमा सरकारले असोज ९ देखि १२ गतेसम्म भारी वर्षा तथा हावाहुरीको सम्भावनाबारे पूर्वसूचना जारी गर्दै नागरिकलाई सतर्क गराएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत कमान्ड पोस्ट सक्रिय पारिनुका साथै ७७ वटै जिल्ला कमान्ड पोस्टलाई परिचालन गरिएको उनले बताएका छन् ।
प्रधानमन्त्री शाहले विपद्को समयमा नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै उद्धार तथा राहतका लागि सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको बताएका छन् । साथै लगातारको वर्षा र हुरीका कारण धान, तरकारीलगायत कृषि बालीमा समेत ठूलो क्षति पुगेको उनले जानकारी दिएका छन् ।
















प्रतिक्रिया