कञ्चनपुर । महाकाली नदीमाथि रहेको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल भाँचिएपछि त्यसबाट हुने आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।
दोधारा–चाँदनी नगरपालिका–४ स्थित पुलको एक भाग बुधबार बिहान भत्किएको हो । नदीको बीच भागमा रहेको पिल्लर भत्किएपछि पुलको संरचना नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा–चाँदनीतर्फबाट तेस्रो नम्बरको भागमा क्षति पुगेको छ । पुलको पिल्लरसमेत भत्किएपछि संरचनामा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुलको दोधारा–चाँदनीतर्फको करिब ५–६ मिटर भाग बिहानै अस्वाभाविक रूपमा माथि उठेको थियो । स्थानीयले बिहान करिब ४–५ बजेतिर पुलको उक्त भाग माथि उठेको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । त्यसको केही घण्टापछि बिहान करिब ८ बजेतिर पुलको उक्त भाग भत्किएर नदीमा खसेको हो ।
पुल भत्किएसँगै दोधारा–चाँदनी र भीमदत्तनगरबीचको कनेक्टिभिटी पूर्णरूपमा बन्द भएको छ । स्थानीयलाई अब आवतजावतका लागि करिब दुई किलोमिटर माथि रहेको पक्की पुल प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।
दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने उक्त झोलुङ्गे पुल विक्रम संवत् २०६१ सालमा निर्माण सम्पन्न भएको थियो ।
पुलमा भएको क्षतिको अध्ययनका लागि प्राविधिक टोली पठाउने तयारी भइरहेको सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।
















प्रतिक्रिया