३ पुस २०८२, बिहिबार | December 19, 2025

गण्डकी प्रदेशमा तीन सिटका लागि राष्ट्रियसभा निर्वाचन



पोखरा । आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा चुनाव हुने भएको छ ।

राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा गरी आगामी फागुनमा बिदाई हुने सदस्यको खाली हुने स्थानमा निर्वाचन आयोगले निर्वाचन गर्न लागेको हो ।

गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का दुई र नेकपा (एकीकृत समाजवादी)का एक गरी तीन सिट खाली हुने भएपछि सो सिटमा निर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

माओवादीबाट दीनानाथ शर्मा ‘अन्य समूह’ र खिमकुमार विक ‘दलित’ समूहबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए । यसैगरी एकीकृत समाजवादीका शान्तिकुमारी अधिकारी ‘महिला कोटा’मा निर्वाचित भएका उनीहरुको चार वर्षे पदावधि आगामी फागुनमा पूरा हुन लागेकाले निर्वाचन प्रक्रिया सुरु गरिएको प्रदेश निर्वाचन अधिकृत एवं कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।

उनका अनुसार निर्वाचन तयारीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना, मतदाता नामावली प्रकाशन, नामावली उपर दाबी विरोधलगायतका कार्यक्रम सम्पन्न भएका छन् । यही पुस २० गते उम्मेद्वारको मनोनयन दर्ता हुने प्रमुख पराजुलीले बताए । उनले भने, “राष्ट्रियसभा सदस्यको निर्वाचन तयारी भइरहेको छ, शनिबार मतदाता नामावली प्रकाशन ग¥र्यो, कसैको पनि दाबी विरोध परेको छैन । पुस २० गते उम्मेदवारको मनोनयन दर्ता गरिनेछ ।”

प्रदेश निर्वाचन कार्यालय पोखरामा हुने निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ । प्रदेशसभा र स्थानीय तहका मतदाताका लागि छुट्टाछट्टै मतदान केन्द्र रहने कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले बताए । उनका अनुसार पदावधि समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचन सो पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन हुने गरी मिति तोक्नुपर्ने व्यवस्था संविधानमा छ । फागुनमा रिक्त हुने पदका लागि माघ १२ गते निर्वाचनको कार्यतालिका छ ।

गण्डकीमा ५९ जना प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख १७० गरी कूल २२९ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ भने स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ रहनेछ । संविधान बमोजिम राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य, महानगर, उपमहानगर तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहनेछन् ।

नेपालको संविधान जारी भएपछि विसं २०७४ माघ २४ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो । जसमा प्रत्येक प्रदेशबाट एक दलित, एक अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट गरी १४ जना बहुमतीय निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए । यसैगरी प्रत्येक प्रदेशबाट तीन महिला र तीन अन्य समूहबाट गरी ४२ जना एकल सङ्क्रमणीय निर्वाचन प्रणालीको आधारमा निर्वाचित भए भने मन्त्रिपरिषद्को सिफारिसमा एक महिलासहित तीन जना राष्ट्रपतिबाट मनोनित भएका थिए । राष्ट्रियसभामा कूल ५९ सदस्य रहने व्यवस्था छ ।

निर्वाचित सदस्यको पदावधि छ वर्षको हुन्छ र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ । पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिएको छ ।

पहिलो दुई वर्षमा पदावधि समाप्त भएका १९ जना सदस्यको विसं २०७६ माघ ९ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो । चार वर्षमा पदावधि समाप्त हुने २० सदस्यका लागि माघ १२ गते सातै प्रदेशमा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १ : ०७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको