४ पुस २०८२, शुक्रबार | December 20, 2025

आलु उत्पादन घटेपछि किसान चिन्तित



बागलुङ । गत वर्ष ४० मुरी आलु भित्र्याउनुभएका किसान योगेन्द्रमान छन्त्यालले यसपालि बल्लतल्ल २० मुरी आलु फलाउन सके । बीउको जोगाड र आफन्तलाई कोसेली दिएपछि बेच्ने आलु अझै कम ठहरियो । तमानखोला गाउँपालिका–४ लाम्मेलाका छन्त्यालले भने, “अहिले आलु राम्रो फलेन, कसैलाई त बिउ जोगाउनै ठिक्क भयो ।”

चार वर्षअघिसम्म आफूले ७० मुरीसम्म आलु उत्पादन गरेको छन्त्यालले सुनाए । आलु कम फलेपछि यो वर्ष भाउ पनि महँगियो । शुरुमा एक पाथी आलु रु १०० मा बिके पनि पछि बढेर गाउँमै रु १५० सम्म पुग्यो । अधिक पानी परेका कारण आलुको उत्पादन घटेको वडाध्यक्ष उदिम छन्त्यालले बताए ।

“अहिले ७० प्रतिशतसम्म आलु उत्पादन घट्यो, आलुमा निर्भर यहाँका किसान मर्कामा छन”, उनले भने । लाम्मेलाको मुख्य बाली नै आलु हो । आलु बेचेर किसानले बजारदेखि चामल र दैनिक उपभोग्य सामानको जोहो गर्छन् । किसानले आलुबाहेक मकै, कोदो, जौ, फापरको खेतीको गर्छन् । लाम्मेलामा धान फल्दैन ।

वडाध्यक्ष छन्त्यालका अनुसार लाम्मेलाका २५० घरमै आलु खेती हुन्छ । औसतमा हरेक घरमा वार्षिक १० क्विन्टलका दरले आलु फल्छ । सिङ्गै गाउँभरि गर्दा दुई हजार ५०० क्विन्टलभन्दा बढी आलु उत्पादन हुन्छ । दुई हजार ३०० मिटरको उचाइमा अवस्थित लाम्मेलामा फलेको आलु स्वादिष्ट र स्वस्थकर मानिन्छ । गाउँ भित्रिने अतिथि÷पाहुनालाई टक्र्याउने पहिलो परिकार पनि आलु नै हुन्छ ।

लाम्मेलाको आलु बिक्रीका लागि सदरमुकाम बागलुङ बजारलगायत टाढाका शहरी क्षेत्रसम्म पुग्छ । ठूला व्यापारीहरु गाउँमै पुगेर किसानबाट आलु खरिद गर्छन् । धेरै जग्गामा आलु लगाउने किसानले आलुबाटै भएको कमाइले घरधन्दा चलाउँछन् । उत्पादन बढेका बेला कुनै परिवारले त डेढ÷दुई लाखसम्म कमाउँछन् ।

बसाइँसराइ, श्रमशक्तिको विदेश पलायन इत्यादि कारणले पछिल्लो समय आलु खेती विस्तारै कम हुँदै गएको वडाध्यक्ष छन्त्यालको भनाइ छ । “यो ठाउँ आलु बाली प्रशस्त हुने ठाउँ हो, अहिले सडक आएपछि बजारीकरणमा पनि कुनै समस्या छैन”, उनले भने । बेमौसममा समेत आलु बेच्नका लागि वडाले भण्डारण गृह बनाउने योजना बनाएको छ ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले छ वटै वडामा आलु खेती हुने गरेको बताए । अध्यक्ष बुढाका अनुसार गाउँपालिका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु ‘जोन’ कार्यक्रममा समावेश छ । उक्त परियोजनामार्फत गत वर्ष आलु किसानलाई कृषि सामग्री र औजार वितरण गरिएको थियो । यो वर्ष कृषि समूह निर्माण, बिउ वितरणलगायतका कार्यक्रम भइरहेको जनाइएको छ ।

“आधुनिक सीप र प्रविधि दिलाएर किसानलाई व्यावसायिक उत्पादनतिर लगाउने गाउँपालिकाको पनि योजना छ”, अध्यक्ष बुढाले भने । कृषि शाखाका प्राविधिक मोतीप्रसाद न्यौपानले चालु आवमा कृषिमा रु ३८ लाख बजेट छुट्टिएको बताए। सेमी हाइटेक टनेल, प्लाष्टिक टनेल, मिनिटिलर हलो, मौरीपालन, ओखर, किवी, च्याउखेती लगायतमा बजेट खर्च गरिने छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ९ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको