१४ जेष्ठ २०८१, सोमबार | May 28, 2024

एक टुक्रा जमीन



अभिमान्याको एउटा आफनो बेग्लै किसिमको संसार थियो । नाम उसको आफनै जातको परिपक्व पाका बुढाले न्वारन भोजको दिनमा राखिदिएका थिए “अभिमान्या”भनेर ।

उसको वंशलाई अछुत जातको कित्तामा राख्ने कर्मकाण्डी बाउन बाजेहरु त उनीहरुको सांस्कारिक शुभ अशुभ कार्यमा नजिकै पर्थेनन् । उनीहरुले त उहिल्यै “अछुत जात”भनेर उपेक्षाको पल्लो कित्तामा पु¥याइदिएका थिए ।

कथाकार

जे होस न्वारनमा नाम अभिमानी राखे पनि स्वभाव उसको ठीक उल्टो थियो, सद्भाव,साह्रै मिलनसार र हँसमुख । जसले जे भने पनि “हस मालिक जाइनजो” भनेर आदरभाव राख्ने उसको स्वभाव थियो । त्यसो भनेर ऊ आफनो लागि केही नगर्ने पनि होइन । अवसर पाएसम्म जाइन्जो मालिक हजुरको भन्दै मानिसको मनको भाँडोलाई उचाल्दै फुरुङ्ग पारेर नै आफनो स्वार्थको थैली भथ्र्यो, छलछाम जालझेल नगरिकन ।

परिवार सहितको ज्यान पाल्नको लागि पुर्खाले स्वीकारेको र सामन्ती संस्कार र शासन व्यवस्थाले टाँसो लगाएको फलाम पिटेर राम्रा राम्रा अस्त्र (खुकुरी, खुँडा आदि)हरु, बहुथरी ज्याभलहरु र भाँडाहरु बनाएर गाउँका मालिकहरुलाई टक्य्राउने तथा अन्न फसल निस्केपछि बल्ल ज्याला पाउने बालिघरे पेशा थियो, उसको पुख्र्यौली । कच्चा पदार्थको मूल्यमा आउने कमिशन भने उसको अतिरिक्त हुन्थ्यो ।

खोरमा सुङगुर, घैँटामा जांँड र बोतलहरुमा रक्सी उनीहरुको सभ्यताभित्र पर्दथ्यो । अन्यथा पाउनाहरुको नाक खुम्चन सक्थ्यो । अनि अभिमान्याको स्वाभिमानमा आँच आउन सक्थ्यो । सो बेगरको चाड अँध्यारो हुन्थ्यो । बच्चाहरुको रडाकोले भूकम्प ल्याउँथ्यो । त्यसैले ऋणको बोझ अलिअलि थापेर भए पनि यी वस्तुहरुको जोहो उसका लागि अपरिहार्य थियो ।

बालीघरे पेशााबाट थपिएको र पुर्खाले छोडेको समेत गरी अन्न कुवाउन नपरेदेखिन् र मिहनेत गरेदेखिन् झण्डै एक वर्षलाई खान पुग्ने जमिन उसले जोडेको थियो । भित्रि आँखा भनिने शैक्षिक जात भने उसको लागि अछुत थियो । त्यसैले छोराछोरीलाई पनि “जस्तो आफू उस्तै च्यापु”बनाएको थियो, अर्थात “कालो अक्षर भैंसी बराबर” ।

येनकेन अभिमान्याका चार छोरीहरुले विवाह गरी आ–आफनो घरमा गएर गृहस्थीको पदभार सम्हालिसकेका थिए, स–सन्तान । उनीहरुकै अघि पछि जन्मिएका दुई छोराहरु, मानौं ढडिया कुरेर बसेको मछुवा थिए, पुख्र्यौली सम्पत्तिको अधिकारीको रुपमा । वृद्धिगर्ने र उडाउने हकदार पनि उनै थिए, प्रेमबहादुर र मित्रबहादुर । अभिमान्याले आफनो नाम जस्तो भए तापनि छोराहरुको नाम भने अभिजातहरुकै जस्तो राखेको थियो, बहादुर ।

मानिसहरुको नाम अनुसारको स्वभाव र कृत्यमा तादात्म्यता मिल्ने भए धनी नामका कैयन मानिसहरुले गरीब हुनु पर्ने थिएन होला ।

बुद्धिबहादुर नामका कैयन मानिसहरुले मूर्ख भएर जीवनमा पटक पटक दुःख, धोका भोग गर्नु पर्ने थिएन होला । श्रम, बुद्धि र विवेक भएका कैयन गरीबेहरु समृद्धिको शिखर चुम्न सफल भएका छन् ।

यस्तै विपरीत चिन्तन भएका, विपरित अर्थभागी, काँडा जस्तो मन गरेका उनीहरु जहिले पनि रिसाइरहने प्रेमबहादुर र अरुमाथि कुदृष्टि वा दुष्ट भाव राख्ने मित्रबहादुरबीच एउटै घरमा संगोलमा बस्दा, उठ्दा, खेल्दा र सबथोक गर्दा कहिलेकाँहीँ आपसमा आगो, पानी, हावा हुरी सामान्यै थियो । जे होस बाबु आमाको जीवनकालभरि ती दुई दाजुभाई –दाजुभाइकै रुपमा जिन्दगीको खुट्किलो उक्लिरहेका थिए । कुनै अनिष्टताको गन्ध प्रबेश गर्न पाएको थिएन त्यो घरमा । किनकी त्यसकाल उनीहरुको वैमनष्यको गुत्थ गर्भगृहमै थियो । प्रकट रुप लिन सकेको थिएन । अन्यथा बाबुआमाको स्वरले डामीहाल्थ्यो, उनीहरुलाई ।

बग्दो र बदलिंदो समयको रङ्ग र गति सदा एकैनासको कहाँ हुन्छ र ? मान्छेरुपी फूल आज कोपिला हुन्छ, भोलि फक्रन्छ भाव छर्छ, बास्ना छर्छ, भोलि ओइलाउछ, पर्सि, निकोर्सि झर्छ । यो प्रकृतिको नियमित प्रकृया हो समाजको । त्यही जीवन परिवेशमा स्मृति र विस्मृतिको छाप छोड्दै, ओइलाउँदै समाप्त हुन्छ, मान्छे । कैयन फूलहरु फुल्छन् मानव भावनामा रौनकता छर्छन, झरेपछि नियास्रो पार्छन् । एवम प्रकारले दिन र रात हुँदै परिवर्तन हुँदै जाने,रङग फेर्दैजाने,पालुवा फुक्दै फक्रिएको जवानी पश्चात ओइलाएर झर्दैजाने चराचर प्रकृतिका चेतन अचेतन जीवको प्रत्येक पलहरु परिवर्तनशील छ । त्यस्तै त्यस घरमा पनि छोरा, बुहारी, नाति नातिनी रुपी नयाँ पालुवाहरु झपक्क पलाईसकेपछि पहेँलिएका पुराना पातरुपी अभिमान्याका बुढाबुढी पनि पहेंलिएर, सुकेर झरे,पालैपालो ।

त्यसपछिको त्यस घरमा, कृष्णपक्षीय कालरात्री, तुषको बीजारोपण सुरु भयो । विद्वेषको कालो बादल मडारिन थाल्यो प्रलयको संकेत गर्दै । अभिमान्याका उत्तराधिकारी कहलिएका पे्रमबहादुर र मित्रबहादुरको परिवार छुट्टिएर अलग बस्ने सुरसार भयो, स्वभाविक प्राकृतिक प्रकृया पनि । थारु जातिको जस्तो चार, पाँच पुस्तासम्म अविभक्त परिवार भएर मिलेर बस्नसक्ने कुरा त उनीहरुको लागि आकाशको फल नै थियो । अरु कसैको पनि तीन पुस्ता भन्दा बढी संगोलतामा काँडा पलाउन थाल्छ , प्रायः ।

सामन्ती संस्कारले अछुत भनेर उपेक्षित श्रेणीमा पारिएका, मतवाला उनीहरु दुई पुस्ता भन्दा बढीको संगोलता साँगुरो गोठका साँडे थिए, प्रेमबहादुर र मित्रबहादुर । उकुस मुकुस । कीरा लागेको वनस्पतिको पात जस्तो विद्वेषले संक्रमित पात थिए उनीहरु । त्यसैभित्र सांस्कारिक पारम्परिक मनोदशाले गाँजेका उनीहरु स्वदरीद्र्र मानसिकतासँगै मद (मादक पदार्थको अधिक सेवनकर्ता) मद (अभिमानी ) र मात्सर्यको खानी थिए, उनीहरु ।

यही मद्यपानको रमाइलोसँगै परिवारमा अन्तरकलहको आगो समय समयमा दन्किने, निभ्ने गथ्र्यो । भावनामा मीठो कम तीतो बढी हुने गथ्र्यो । यो पनि उनीहरुको जातिय संस्कृतिको पहिचान थियो, यानेकी तथाकथित “डुम”संस्कृति ।

वर्षाकालको जस्तै कहिले झरिपर्ने कहिले घाम लाग्ने थियो,उनीहरुको पारिवारिक मौसम । नीमको तीतोले बहुविकार नष्ट गर्छ भने मान्छे भित्रको तीतोले आक्रोस, उन्माद र ध्वङ्स जन्माउँछ । आफन्तीको नाता र आत्मीयता भन्दा टाढा पु-याउँछ । यस्तै उनीहरुको मनभित्र गहिरोसंग तुषारापात जन्मिइसकेको रहेछ उनीहरुमा, एकटुक्रा जमिनको लागि ।

जमिनको सीमा भन्ने कुरा यस्तो रहेछ, मानिसको चित्त टुक्राउनमा एक नम्बर । एक टुक्रा जमिनको लागि मानिसले आगोको भुङग्रोमा ज्यान खन्याउने संस्कार व्यक्तिमा मात्र नभई राज्यमा झन धेरै हुँदोरहेछ ।

नेपाल मात्र त्यस्तो देश हो, जो छिमेकी देशले सीमानाको हजारौँ विगाहा जमिन अतिक्रमण गरे पनि निरीहता पसारेर त्वम् शरणं गर्दै चुप लाग्ने । अरु शक्तिशाली राष्ट्रहरु भने त्यही एक टुक्रा जमिनको लागि स्थल, जल र आकाश तीनै तलमा भीषण युद्ध गरेर लाखौँ मानवको जीवन संहार गर्छन् । त्यही अभिमान र भू लोलुपता संस्कृतिको गन्ध पाएर होकि शायद, स्वर्गवासी अभिमान्याका सुपुत्र प्रेमबहादुर र मित्रबहादुरले बाबुआमाले छोडेको एक टुक्रा जमिनको लागि ज्यान गुमाउन उद्यत भएका ।

बाबु अभिमान्याले पुर्खाको शेष र आफूले जोडेको समेत खेत पाखा जमीन आफुले संसार छोड्नु पहिले नै छोराहरुमा “पछि झगडा नहोस” भनेर बराबर बाँडिदिएर जिउनी भनेर राखेको घरले चर्चेको एकटुक्रा जमीन मात्र बाँकी छँदैमा भौतिक देह विसर्जन गर्नु परेको थियो ।
त्यही एक टुक्रा जमीनको लागि प्रेमबहादुर र मित्रबहादुर बीचको तुषको दावानल बिकराल भएर फैलियो ।

अन्ततः आफनो हातको साढे चार हात जमीन वा सलाईको एक काँठी आगो भए पुग्ने मानव शरीरको लागि भावनाको संंकीर्णताले आपूmले आफैलाई बिर्सेर परस्पर इष्र्या,द्वेष, महत्वाकांक्षा र लुव्धता, क्षुब्धताले गर्दा मनमुटावको ताप बढेर कहिलेकाहीँ प्रलयको अवस्थासम्म पु¥याइदिँदो रहेछ अबुझ निकृष्ट, मूर्ख मानवलाई ।

अंशवण्डामा बचेको त्यही एक टुक्रा जमीनको लागि दुई दाजुभाइ बीचको विवादले भयावह रुप लियो । दुई परिवारका बहुसंख्यक सदस्यहरुलाई भष्मिभुत पा¥यो । शक्ति राष्ट्रहरुको होड जस्तै । ती दुबैको हठको पराकाष्ठाले उनीहरुको पारिवारिक जीवन नै क्षतविक्षत भयो, राजनीतिक दलहरुको पदीय लोलुप हठ र खिचातानीको पराकाष्ठाले राज्य नै ध्वस्त भए झैँ ।

त्यही एक टुक्रा जमीनको लागि उनीहरुको हठको पर्खाल टसकोमस भएन । कहिलेकाहीँ गुलियो सम्बोधन भए पनि जमीनमा अडिएको उनीहरुको तुषको तीतो बारुद जस्तो बिष्फोटक र काँडा जस्तो पीडालु भैसकेको रहेछ, भित्रभित्र । त्यसपछि उनीहरुको दुबैपक्षका परिवार विभाजित भयो कौरव–पाण्डवको जस्तै । धौलापुरे दुर्गम गाउ कुरुक्षेत्रमा परिणत भयो । कुरुक्षेत्रको लडाईमा कौरबहरु मात्र सिद्दिएका थिए भने धौलापुरको लडाइमा दुबै पक्षका परिवार समाप्त भए । विवेक सुकेर आवेगको आगो दन्किएको त्यो भीषण लडाईमा उनीहरु (प्रेमबहादुर र मित्रबहादुर) का तीन तीन जना गरी छ जना आबालविनिताको इहलीला समाप्त भयो ।

युधिष्ठिरादि पाण्डव र दुर्योधनादि कौरब फरक भाइका सन्तान थिए । उनीहरु एक पक्षले राज्य पाए भने एकै बाबु, एकै आमाका सन्तान प्रेमबहादुर र मित्रबहादुरले नेल–हतकडी र जेल पाए ।

अन्ततः त्यो नरसंहारको मूख्य सर्जकहरुको हातमा कानूनको हतकडी परेपछि अहङकार र आबेगको अँध्यारोमा विवेक गुमाएका तिनीहरु होस खुलेपछि पश्चातापको आगोले पगालेर, घिउ निख्रिएको टिन जस्ता भए, प्रेमबहादुर र मित्रबहादुर ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  १ : ०१ बजे

भोलि कांग्रेस संसदीय दलको बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको

शिक्षा मन्त्रालयद्वारा शिक्षक सरुवा निर्देशिका स्वीकृत, सरुवा रोक्का फुकुवा

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका,

मङ्गलबार गणतन्त्र दिवस मनाइँदै

काठमाडौं । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र

अत्यधिक गर्मीले बर्दियामा तीनदिन विद्यालय बन्द

बर्दिया । बर्दियामा अत्यधिक गर्मीका यहाँका तीन पालिकाले तीन दिन

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कान्तिपुर मिडियाका अधय्क्ष कैलाश सिरोहियालाई अदालतले तेस्रो पटक