१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सिर्जनाकाे जापान जाने सपना आत्महत्यामा पुगेर अन्त्य, अन्तरजातीय विवाह बन्याे कारण



बुटवल । नेपालमा छुवाछुतको अन्त्य भएको घोषणा गरिएको धेरै वर्ष बितिसकेको छ । छुवाछुत मात्र होईन धार्मिक विभेद समेत अन्त्य गर्ने उद्देश्यले मुलुक धर्मनिरपेक्ष राज्य समेत बनिसकेको छ । कागजमा, कानुनमा र भाषणमा छुवाछुतको अन्त्य भनिएपछि व्यवहारमा छुवाछुतका अन्धविश्वास र छुवाछुतका कारण हुने अत्याचार देशमा बाँकी नै छ । व्यवहारमा अन्त्य हुन नसकेको छुवाछुतको पछिल्लो सिकार बनेकी छिन् अर्घाखाँचीकी सृजना सुनार । सिर्जनामाथि छुवाछुतले शोषण, दमन र अत्याचार मात्र गरेन, अन्त्यमा आत्महत्या गर्न समेत बाध्य बनायो । उनी समाजमा रहेको छुवाछुतको शिकार बन्न बाध्य बनिन् ।

अर्घाखाँची शितगंगा नगरपालिका-२ झिर्राकी २१ वर्षीया सिर्जना सुनार घरकी काईली छोरीको रुपमा जन्मिएकी थिईन् । सामान्य परिवारमा जन्मलिएकी भएपनि टोलछिमेकमा सबै युवायुवती जापान, कतार, मलेशिया र दुबई गएको देखेकी उनले पनि पढाई सकेर जापान जाने सपना बुनेकी थिईन् । कम्तीमा १२ कक्षा मात्र पढेर भएपनि जापानिज भाषा सिकेर जापान जाने सपना बुन्दै उनी गाँउको विद्यालयमा एसईई सकेर बुटवल झरेकी थिईन् । कक्षा १२ पनि पढ्ने जापानिज भाषा पनि सिक्ने उद्देश्यका साथ बुटवलमा झरेकी उनले भाषा सिक्ने ठाँउ पनि खोजिसकेकी थिईन् । उनलाई के थाहा जापानको बाटोमा मृत्यु छ भनेर । उनको सपना भन्दा अगाडि मृत्युले पर्खेको थाहा पाएकी भए सिर्जनाले सायद बुटवल झर्ने चेस्ता गर्दैन थिईन् ।

स्कुल पढ्दाकै अवस्थामा अर्घाखाँचीमा उनको जिल्लाकै एक युवासँग आँखा जुध्न थालिसकेको थियो । गाँउको लुकिछिपी माया समाज, आमाबाबुको डर र उपयुक्त वातावरणमा झाङ्नि पाएको थिएन । आर्थिक अवस्था कमजोर भएकाले जापानी भाषा सिकेर विदेश जाने अठोट सहित बुुटवल झरेकी सिर्जनालाई बुटवल झरेसँगै भाषा सिक्ने, पढाई सक्ने र सपना पुरा गर्ने कुराले भन्दा गाँउमा लगाएको लुकिछिपीको माया पिरतीले छोप्न थाल्यो । शितगंगा २ जिमाने टोलका २३ वर्षीय सुमन क्षेत्रीसँग गाँउबाटै जुधेका उनका आँखा बुटवल झरेपछि प्रेम सम्बन्धकारुपमा झाँगियो । आँखासँगै उनीहरुको धेरै चिजहरु जुध्न थाल्यो । गाँउ छँदा रोकतोक गर्ने अभिभावक बुटवलमा नभएपछि उनीहरुको प्रेम स्वतन्त्र ढंगले प्रगाढ बन्दै गयो । छेक्ने कोही नभएको फाईदा उठाउँदै उनीहरुबीच भएको शारीरिक सम्बन्धले उनी गर्भवती भईन् । २ वर्ष चलेको उनीहरुको रोमान्सको परिणाम गत वर्ष सृजना दुई जिउकी भईन् । सृजनाले बुटवलको पूरानो बसपार्क सौभाग्यनगरमा कोठा भाडामा लिएकी थिईन् ।

विवाह नहुँदै गर्भ बसेपछि सिर्जनाले सुमनलाई विवाहका लागि दवाव दिन थालिन् । विवाह गर्ने उनको आग्रहलाई सुमनले आज आज भोली भोली भन्दै तार्दै गए । नेपाली सेनामा कार्यरत सुमनले अफिसबाट छुट्टी पाएपछि विवाह गर्ने भन्दै कोठामा आउने र उनीसँग मनलागेको गरेर जाने क्रम जारी राखिरहे । एकदिन दुईदिन हुँदै उनको गर्भमा ८ महिनाको भ्रुण हुर्किंदै गयो । सिर्जनाले बढीनै दवाव दिँदै प्रहरीमा उजुरी दिने बताएपछि सुमनले गर्भवती सृजनालाई निर्घाट कुटपिट गरेको सिर्जनासँग कोठामा बस्ने नाताले सोल्टीना पर्ने मञ्जु सुनारले बताईन् ।

कुटपिटबाट घाईते सृजनाको कोठा वरिपरिका स्थानीय भेला हुन थालेपछि सुमनले उपचारका लागि भन्दै सजनालाई अस्पताल पु-याए । अस्पतालमा कुटपिटको घाउचोटको उपचारसँगै उनको ८ महिनाको गर्भपनि सुमनले जबर्जस्ती पतन गराए । घाउचोटको उपचार गर्न लगेको सिर्जनाको गर्भपतन गराएर फेरि कोठामा ल्याएर छाडेको मन्जुले बताईन् । ८ महिनाको गर्भ नै तुहाइदिएपछि सिर्जना मानसिक र शारीरिक रुपमा कमजोर बन्दै गएको मन्जुको भनाई छ ।

सँगै बाच्ने, सँगै जिउने कसम खाएको प्रेमीले उपचार गर्ने निहुँमा गर्भ तुुहाइदिएपछि गत वर्ष फागुनमा अर्घाखाँची ठाडा स्थित प्रहरीमा सुमनका विरुद्ध उजुरी पनि दिएकी थिईन् । मन्जुका अनुसार प्रहरीले कानुनीरुपमा विवाह गराईदिनुको साटो विवाह गर्छु भन्ने आश्वासन सहितको कागजका भरमा मिलापत्र बनाएर छाडिदियो । सुमन नेपाली सेनाको कर्मचारी भएकै कारण भित्रभित्रै प्रहरी र उनीबीच कुरा मिले अनुसार सामान्य मिलापत्र बनाएर छाडिदिएको मन्जुको भनाई छ ।

प्रहरीले गरिदिएको मिलापत्रका आधारमा सुमनले सिर्जनासँग विवाह त गरे, तर न जन्ती न भोज भतेर । गत चैत २ गते बुटवल मनकामना मन्दिरमा विवाह गरेका बेला केटी पक्षबाट सृजनाकी सोल्टीना पर्ने मञ्जु मात्रै थिईन भने केटाका तर्फबाट एक जना सुुमनका साथी थिए । घरपरिवारका कोही पनि सदस्यहरुको अनुपस्थितीमा गरिएको बिबाहमा सत्यता भन्दा कपत देख्न सकिन्थ्यो । विवाह त हिन्दुु परम्परा अनुसार नै भयो तर विवाह भएपछि दलित भएकै कारण सुमनले सृजनालाई अर्घाखाँची घरमा भने लगेनन् । पहिल्यैदेखि सृजना बस्दै आएको बुटवल वडा न. ६ पूरानो बसपार्क सौभाग्यनगरमै दुलाहा र दुलही भित्रिए । विवाह गरेकै भोलीपल्ट सुमन सृजनालाई छाडेर काठमाडौं हिँडेका थिए ।

प्रहरीमा उजुरी परेकै कारण विवाहको नाटक मात्रै गरेको सिर्जनाका आफन्तहरुको भनाई छ । ‘बहिनीले पटक पटक घरमा लैजान भन्थीन, तर ज्वाई सुमनले कहिल्यै लैजानुभएन’ दिदि दीपा सुनार भन्छिन् । बिबाह पछि पनि सुमनले पटक पटक आएर कुटपिट गर्ने, यातना दिने गरेको सृजना बस्ने कोठा नजिकका छिमेकीहरु बताउँछन् ।

सुमनले दलित भएकै कारण स्वीकार गर्न नसक्दा विवाह पछि पनि ३ महिनाको गर्भ फेरी तुहाइदिएको सिर्जनाका दिदि दीपा सुनारले बताईन । ‘विवाह भएपछि कहिल्यै बहिनीले सुख पाइन, सुमनले मरणासन्न हुने गरि कुुटपिट गरेपछि एक महिनाअघि सृजना साइली बहिनीको घर बासगढी आएकी थिई’ दिदि दीपाले भनिन् ।

हरेकदिनको तनाव कुटाई खानु भन्दा अनन्त यात्रा रोज्दै अन्ततः सृजनाले गत बिहिबार देहत्याग गरिन् । सिर्जनाबाट अलग हुनकै लागि शारीरिक र मानसिक यातना दिएको ‘सुसाईट नोट’ लेख्दै २१ बर्षिय सृजनाले विहिबार यो संसार त्यागिन । बुटवल ६ पूूरानो बसपार्क सौभाग्यनगर स्थित कोठा बन्द भएर चुन्नीको पासो लगाएर झुन्डिएको अवस्थामा प्रहरीले सृजनाको शव बरामद ग-यो ।

‘पटक पटक कुुटपिट गर्ने, मानसिक र शारीरीकक रुपमा यातना दिने गरेको सुुसाईट नोटमा लेखिएको छ’ इलाका प्रहरी कार्यालय बुुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले भने । अन्तरजातीय विवाह भएको र केटाले घर समेत नलगेकाले जातीय रुपमा केटा अलग हुन खोजेको देखिन्छ । ईलाका प्रहरी प्रमुख डीएसपी कुँवरले भने, ‘केहि शंकास्पद र सुसाईट नोट समेत देखिएकाले जातीय विभेद र आत्महत्या दुरुत्साहनको मुद्धा चलाइएको छ ।’ कपिलबस्तु स्थित नेपाली सेनामा कार्यरत आरोपित सुमन क्षेत्रीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अघि बढाएको छ ।

‘जातकै कारण सुमनले आफूबाट टाढा बनाउन वहिनिलाई मानसिक र शारीरिक यातना दिइयो, कानुन अनुसार कारवाही हुनुपर्छ ।’ सिर्जनाकी दिदी दिपाले भनिन् । बहिनीले अकालमा ज्यान गुमाउनुपरेको भन्दै मृत्यूूको मुखमा पुु-याउनेलाई हदैसम्मको कारवाही गर्न उनको माग छ ।

सृजनाका दिदि रुपन्देही कञ्चन गाउँपालिका वडा न. १ कुचिरामा बस्ने दीपा सुनारले २३ बर्षिय सुमन क्षेत्री विरुद्ध जातीय भेदभाव तथा आत्महत्या दुरुत्साहनको उजुरी दिएकी छन । शुक्रबार उजुरी दर्ता गरेपछि शव पोष्टमार्टम पछि राती मात्रै अत्येष्टि गरिएको छ । मृतक सिर्जनाका ६ जना दिदि वहिनी छन । बुवा भारत र आमा खाडीमा रोजगारीमा छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ५ : ३६ बजे

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय