काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ ।
पार्टीको १४ औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय पदाधिकारी बैठक बोलाएको हो ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा आज दिउँसो ३ः०० बजे बैठक बस्ने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनका अनुसार बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुनेछ ।
यसअघि मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति गरेको थियो । त्यहिअनुसार, आज बस्ने कांग्रेसको पदाधिकारी बैठकले परराष्ट्रमन्त्री छनोट गर्ने जनाइएको छ ।
कांग्रेस स्रोतका अनुसार डा। नारायण खड्काको सम्भावना रहेको छ । यस विषयमा सत्तारुढ गठबन्धनको बैठकमा पनि छलफल भएको थियो । परराष्ट्रमन्त्रीलाई आजै शपथ खुवाउने तयारी रहेको छ ।
यसअघि प्रधानमन्त्री देउवाले असार २९ गते चार मन्त्री नियक्त गरेका थिए । जसमा कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री छन् भने नेकपा (माओवादी केन्द्र) बाट पम्फा भुसाल उर्जा र जनार्दन शर्मा अर्थमन्त्री छन् ।
त्यसपछि प्रधानमन्त्री देउवाले साउन १० गते कांग्रेसबाट स्वास्थ्यराज्यमन्त्री नियुक्त गरेका थिए । कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्यराज्यमन्त्रीका रुपमा कार्यरत छन् ।
आजको कांग्रेस पदाधिकारी बैठकमा १४ औं महाधिवेशनका विषयमा पनि छलफलल हुने जनाइएको छ । कांग्रेसका केही जिल्लामा क्रियाशील सदस्यता विवादले वडा अधिवेशन हुन सकेको छैन । त्यस विषयमा छलफल हुने जनाइएको छ ।



















प्रतिक्रिया