खुकुरी उद्योगमा नाति पुस्ताको आकर्षण

मुकेश कुमार
२७ आश्विन २०७८, बुधबार
                 

सिरहा । नाति पुस्ताका ३६ वर्षीय खगेन्द्र लकान्द्री फलामको हतियार बनाउने पुर्ख्यौली पेसालाई व्यवसायीक रुप दिन सफल भएका छन् । पुर्खौली शिपलाई आधुनिकीकरण र औद्योगिकीकरण गर्दै उनले सिरहाको कर्जन्हा नपा २, बन्दिपुमा मन्दिरा भोजपुरे खुकुरी उद्योग चलाउँदै आइरहेका छन्

बालिघरे प्रथाअनुसार चल्दै आएको पुर्ख्योली पेसालाई उनले उद्योगको रुपमा सञ्चालन गरेका छन् । एक डोको धान, मकैको भरमा कुनै समय बुवा हजुरबुवाले वर्षभरी विष्टको काम गर्ने चलनको अन्त्य गर्दै उनी व्यसायिकतामा लागेका हुन् । व्यवसायिकताले उनको कमाई र मानसम्मान दुबै बढेको बताउँछन् ।

उनको उद्योगमा अहिले दैनिक १० जना कारिगर कार्यरत छन् । उनीहरुले मासिक ४० देखि ६० हजारसम्म कमाउने गरेको छ । उनीहरुलाई खुकुरीको साइज र सजावटअनुसार एउटाको ६ सय देखि ३ हजारसम्म ज्याला दिने गरेको उनले बताए ।

भोजपुर, धरान हुँदै व्यवसायकै सिलसिलामा २०५३ मा खगेन्द्रको हजुबुवा प्रभुराम विश्वकर्मा यहाँ आइपुगेका हुन् । हजुरबुवा र बुवा टंकबहादुर विश्वकर्माले सुरु गरेको खुकुरी उद्योग अहिले खगेन्द्रले सम्हालेका छन् ।

पहिला–पहिला यही पेसाका कारण सबैले हेप्छ भन्ने लागेर पुर्ख्योली पेसा नगर्ने सोंचमा थिए । स्थानीय फुलकुमारी महतो राष्ट्रिय माध्यमिक विद्यालयमा वाणिज्य शास्त्रमा स्नातक गरेका खगेन्द्रले एकाउन्टेन्टको काम गरे । त्यहाँ उनले न्यून पारिश्रमिकमा ५–६ वर्ष काम पनि गरे ।

अहिले यो पेसामा सम्मान र कमाई दुवै भएको खगेन्द्र बताउँछन् । उनले भने, ुहामीले पुर्ख्यौली पेशालाई व्यसायीकरण गर्दै गयौं, अहिले आम्दानी पनि सन्तोषजनक छ ।’ व्यसायिकीकरण गरेपछि यो व्यवसायलाई सम्मानको रुपमा हेरिन थालेको उनको बुझाई छ ।

लकान्द्री विश्वकर्माले गर्दै आएको पेसालाई व्यवसायिकीकरण गर्न राज्यले पनि पहल गर्नुपर्ने औंल्याउँछन् । व्यसायिकीकरण नभएसम्म आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन नसकिने उनको बुझाई छ ।

खगेन्द्र स्थानीय समाजिक सेवा, राजनीतिमा सक्रिय रहे पनि मुख्य पेसा खुकुरी उद्योग नै बनेको छ । उनी हाल कर्जन्हा नगरपालिका २ नम्बर वडाका निर्वाचित वडा सदस्यसमेत हुन् ।

विद्यालयमा कामअनुसारको कमाई नभएर खिन्न खगेन्द्र २०७१ मा हजुरबुवा वित्नुभएपछि बुवालाई सघाउँदै खुकरी उद्योगमा सक्रिय भए । बुवाआमा अमेरिका निवासी कम्प्युटर इन्जिनियर दाई विष्णु लकान्द्रीकोमा २०७३ मा गएपछि भने उद्योग उनकै जिम्मा आएको छ ।

‘खुकुरी बनाउन मात्रै समस्या हो । अहिलेसम्म बजारको खासै अभाव भएको छैन,’ लकान्दीले भने, ‘पहिला यहाँ बनाएको खुकुरी सेना, सशस्त्र प्रहरी क्याम्पमा एकैपटक चार-पाँच सय जान्थे । अहिले खुद्रा बजारमै सकिने गरेको छ ।’

अत्याधुनिक हतियारको विकास भए पनि खुकुरी, गोर्खाली खुकुरी अझै विश्वभरी प्रख्यात छ । लकान्दीले भने, ‘ठूलठूला युद्ध, विश्व युद्धमा नेपाली खुकुरीले ठूलो चमत्कार गरेको छ । विश्वमा अझै गोर्खाली सेना र खुकुरीलाई वीरताको प्रतिकको रुपमा लिने गरेको छ ।’

खगेन्द्रका बुवा टंकबहादुरले खुकुरी व्यवसायको आम्दानीबाटै जेठो छोरो विष्णुलाई कम्प्युटर इन्जिनियर, कान्छो छोरो खगेन्द्रलाई व्यवस्थापनमा स्नात्तक र छोरीलाई स्टाफ नर्स पढाए ।

यहाँ बनाएको खुकुरी न्यूनतम १ हजार ५ सयदेखि अधिकतम १५ हजार सम्ममा विक्री हुने गरेको खगेन्द्रले बताए । उनले भने, ‘खुकुरीको साइज, त्यसको बनावट र मेहनतको आधारमा मूल्य निर्धारण हुने गर्छ ।ु उनले आफ्नो उद्योगमा १६ सयदेखि १५ हजार मूल्यसम्मको खुकुरीहरु राख्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*